चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा नि:शुल्क हुने बताएका छन् ।
चितवनको भरतपुर अस्पतालको बर्थिङ युनिटको आज उद्घाटन गर्नुहुँदै उहाँले शिक्षा र स्वास्थ्य सहज तथा नि:शुल्क हुनुपर्ने बताएका हुन् । शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा मन्त्री हुनुभन्दा पहिलादेखि नै आफू निरन्तर लाग्दै आएको मन्त्री बस्नेतले बताए ।
‘शिक्षा १० कक्षासम्म नि:शुल्क गर्नुपर्छ भनेर जोड दिदैआएको हुँ,’ उनले भने, ‘यही सरकारले कक्षा १२ सम्म विद्यार्थीलाई नि:शुल्क पढाउने व्यवस्था गर्छ ।’ आफ्नो गृह जिल्ला सिन्धुपाल्चोकका सबै स्थानीय तहले कक्षा १२ सम्म नि:शुल्क शिक्षाको व्यवस्था गरेको उल्लेख गर्दै उनले शिक्षा र स्वास्थ्यमा राज्यले लगानी गर्नुपर्नेमा जोड दिए ।
चिकित्सा शिक्षा ऐन संशोधन गरेर अहिलेको समस्या समाधान गर्नुपर्ने उनको भनाइ थियो । ‘चिकित्सा शिक्षा नीतिका कारण नेपालबाट खर्बौं रुपैयाँ बाहिर गयो । बेरोजगारी बढायो । युवा बाहिर पठायौँ,’ मन्त्री बस्नेतले भने । चिकित्सा शिक्षा ऐनलाई आवश्यकताअनुसार, समय अनुकूल संशोधन गर्दै जाने उनको भनाइ थियो । यसबाट निजी क्षेत्रका मेडिकल कलेज, नर्सिङ कलेजलाई गुणस्तरता कायम गर्दै शुल्क निर्धारणा गर्ने कार्यविधि बनाएर अनुगमन गर्ने उनले बताए ।
FACEBOOK COMMENTS