काठमाडौं । मैलुङखोला जलविद्युत् कम्पनी लिमिटेडले त्रैमासिक वित्तीय विवरण बुझाउन नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग थप समय माग गरेको छ ।
आज शुक्रबार धितोपत्र बोर्डलाई अनुरोधपत्र लेख्दै कम्पनीले आफ्नो वित्तीय विवरण बुझाइसकेको भए पनि लेखा परीक्षण प्रतिवेदन तयार भइरहेकाले थप समय उपलब्ध गराइदिन आग्रह गरेको हो ।
‘मैलुङ खोला जलविधुत कम्पनी लि. आ.व. ०७८/०७९मा धितोपत्र सूचिकरण गराएको कम्पनी हो । धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६(१) बमोजिम त्रैमासिक विवरण समयमै बुझाइसकेको भए पनि कम्पनीको लेखा परीक्षण भइरहेको र लेखा परीक्षण प्रतिवेदन तयार भइनसकेको कारण धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ (२) बमोजिमको आ.व. ०७९/०८० को वार्षिक प्रतिवेदन बुझाउन नसक्ने भएकाले ऐ. नियमावलीको नियम २७ बमोजिम वार्षिक प्रतिवेदन पेश गर्न २०८०/०९/०१ देखि समयावधि थप गरी पाउन सादर अनुरोध गरिएको छ,’ कम्पनीले धितोपत्र बोर्ड र सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई लेखेको पत्रमा भनिएको छ ।
यसअघि गत मंगलबार नेप्सेले वित्तीय विवरण अद्यावधिक नगर्ने सूचीकृत संगठित संस्थाहरूलाई तीन दिनभित्र विवरण बुझाउन र नबुझाए धितोपत्र सूचीकरण नियमावली, २०७५ को विनियम १६ बमोजिम कारबाही गर्ने चेतावनी दिएको थियो ।
धितोपत्र सूचीकरण नियमावली, २०७५ मा भएको व्यवस्था अनुसार संगठित सूचीकृत संस्थाले वार्षिक तथा त्रैमासिक वित्तीय विवरणहरू (प्रतिवेदन) नेप्सेले उपलब्ध गराएको एनओटीएस (नट्स) लगइनमार्फत विद्युतीय प्रति अपलोड गर्नुपर्ने व्यवस्था छ । तर, त्यस अनुसार केही संस्थाले विवरण समयमा पेश नगरेको भन्दै नेप्सेले तीन दिनभित्र अपलोड गर्न निर्देशन दिएको थियो ।
धितोपत्र सूचीकरण नियमावली, २०७५ को विनियम १६ मा धितोपत्र सूचीकरणको वार्षिक शुल्क नबुझाउँदा, धितोपत्र कारोबार तथा मूल्यसँग सम्बिन्धित संवेदनशील सूचना तथा जानकारी सूचीकरण सम्झौतामा उल्लिखित समयमा नेप्सेमा पेश नगरेमा, नेप्सेलाई गलत सूचना दिएमा वा पटक–पटक सूचना परिवर्तन गरेमा वा नेप्सेमा वार्षिक तथा अर्धवार्षिक प्रतिवेदन समयमा पेश नगरेमा नेप्सेले सूचीकृत संस्थाको धितोपत्रको सूचीकरण स्थगन गर्नसक्ने व्यवस्था छ ।
वित्तीय विवरण अद्यावधिक नगर्ने सूचीकृत संस्थालाई कारबाही गर्ने नेप्सेको तयारी
FACEBOOK COMMENTS