काठमाडौं,फागुन ३- भक्तपुरका कुमार नगरकोटीले ट्रायल उत्तीर्ण गरेको दुई वर्षपछि बल्ल सवारी चालकको स्मार्ट अनुमतिपत्र (लाइसेन्स) पाउनुभयो । २०७४ फागुनमा उहाँले ट्रायल उत्तीर्ण गर्नुभएको थियो ।
यस बीचमा आठ पटक यातायात कार्यालय धाउनुभयो तर प्रिन्ट भएको छैन भन्दै फर्किनुप¥यो । बुधबार यातायात व्यवस्था विभाग नयाँ बानेश्वरमा लाइन बसेर लाइसेन्स लिनुभएका नगरकोटीले खुसी व्यक्त गर्न भने सक्नुभएन ।
उहाँको भनाइ थियो– दुई वर्षमा पुरानो लाइसेन्स पाइयो, आठ÷दस पटक आए हुँला तर प्रिन्ट भएको छैन भन्दै फर्काइदिन्थे, आज पनि पाइन्छ भन्ने खासै आश थिएन तर प्रिन्ट भएको रैछ, बल्लबल्ल ट्रायल उत्तीर्ण गरियो लाइसेन्स पाइन्छ दुई वर्षपछि, सम्झिँदा मलाई त हाँसो पो लाग्छ ।
नगरकोटीसँगै बुधबार विभागमा लाइनमा बस्नुभएका पूर्ण श्रेष्ठको समस्या पनि उस्तै छ । पहिला मोटरसाइकलको लाइसेन्स लिएका श्रेष्ठले डेढ वर्षअघि लाइसेन्स परीक्षा उत्तीर्ण गर्नुभयो तर डेढ वर्ष कुरेपछि बल्ल लाइसेन्स आयो । उहाँको गुनासो छ– विभागले काम गर्न सक्दैन तर समस्या हामीले भोग्नुुपर्ने, रसिद देखाएर सवारी चलाउँदा ट्राफिकले कारबाही गर्छ, यसमा हाम्रो गल्ती होइन, एउटा लाइसेन्स लिँदा पनि हामी जनताले यति सास्ती भोग्नुपर्ने रु
नगरकोटी र श्रेष्ठका जस्तै समस्या झेल्नेको सङ्ख्या सात लाख छ । यातायात व्यवस्था विभागले माग अनुसार लाइसेन्स वितरण गर्न नसकेपछि प्रिन्ट गर्न बाँकी लाइसेन्सको सङ्ख्या अहिले सात लाख पुगेको छ । यो सङ्ख्या दुई वर्षदेखि लाइसेन्स कुर्न बाध्य छ । वैदेशिक रोजगारीमा जान लागेका र लाइसेन्स अति आवश्यक हुनेका लागि छिटो प्रिन्ट गर्ने सुविधा गरिएको छ । त्यो सुविधा पनि वास्तविक समस्यामा पर्नेको पहुँचमा पुग्न सकेको छैन ।
प्रिन्ट गर्न बाँकी स्मार्ट लाइसेन्स आगामी छ महिनामा सम्पन्न हुने यातायात व्यवस्था विभागले जनाएको छ । तीन वटा पुराना र एउटा मास प्रिन्टर तीन सिफ्टमा सञ्चालन गरिएकाले छ महिनामा सबै सकिने विभागको दाबी छ । दैनिक करिब पाँच हजार लाइसेन्स प्रिन्ट भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो ।
विभागले दुई हप्तादेखि बिहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा प्रिन्ट मेसिन सञ्चालन गरेको छ । महानिर्देशक हमाल मासप्रिन्टरबाट एक लाखभन्दा बढी प्रिन्ट भइसकेका छन्, तीन वटा पुराना प्रिन्टरले दैनिक करिब एक हजार प्रिन्ट गर्छन्, यही गतिमा कामअघि बढे पाँच÷छमहिनामा सामान्य गतिमा आउछौँं, प्रिन्ट गर्न बाँकी सबै सक्छौँ भन्नुहुन्छ ।
विगतमा समस्या भए पनि अहिले मेसिन वा कागजमा कुनै समस्या नभएको विभागले जनाएको छ । विभागका अनुसार हाल दैनिक तीन हजार लाइसेन्सको माग छ । महिनामा करिब ९० हजार लाइसेन्सको माग छ तर मागको ५० प्रतिशत मात्र प्रिन्ट गर्ने क्षमता भएकाले लामो समयसम्म कुर्नुपर्ने बाध्यता रहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS