काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले बैंकहरूको सहायक कम्पनीलाई धितोपत्र व्यवसायीको अनुमति दिनु ऐतिहासिक काम भएको बताएका छन् ।
नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेडको हिजो शुक्रबार औपचारिक औपचारिक उद्घाटन गर्दै उनले बैंकहरूका सहायक कम्पनीहरूलाई धितोपत्र व्यवसायीको अनुमति दिने कार्य ऐतिहासिक भएको र यसले समग्र पुँजी बजारको विकासमा नयाँ आयाम थपेको बताएका हुन् ।
‘धितोपत्र व्यापारीको रूपमा नबिल स्टक डिलरले आफ्नो गतिविधि सञ्चालनले पुँजी बजारको गुणात्मक विकासमा सहयोग पुग्ने अपेक्षा राखेका छौँ । पुँजी बजारको विकासमा यो पहल एक उदाहरणीय डिलरको रूपमा साबित हुने विश्वास हामीलाई छ,’ उनले भने, ‘बैंकहरूको सहायक कम्पनीहरूलाई धितोपत्र व्यवसायीको अनुमति दिने कार्य ऐतिहासिक भएको र यसले समग्र पुँजी बजार विकासमा नयाँ आयाम थपेको छ ।’
यस्तै, नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले नबिल बंैकले नेपालको पुँजी बजारमा नयाँ आयाम थप्ने उद्देश्यका साथ आफ्नो पूर्ण स्वामित्वको सहायक कम्पनीको रूपमा नबिल स्टक डिलर कम्पनी खडा गरेको बताए । अन्य देशमा प्रचलनमा रहेका राम्रा अभ्यासहरूलाई नेपालमा ल्याउने तथा संस्थागत सुशासन कायम गर्नेे धारणा उनको थियो ।
कार्यक्रममा सीडीएससीका प्रमुख कार्यकारी अधिकृत आचार्यले पुँजी बजारको विकासमा नबिल डिलरको उल्लेखनीय भूमिका निभाउन सक्ने विश्वास व्यक्त गरे ।
यसैगरी, नबिल स्टक डिलरका अध्यक्ष निरज गिरिले नबिल स्टक डिलरले नेपालको पुँजी बजारमा पृथक पहिचान कायम गर्ने बताए । नबिल स्टक डिलर एक विश्वासिलो एवम् दरिलो धितोपत्र व्यवसायीको रूपमा स्थापित हुने अध्यक्ष गिरिको भनाई थियो ।
यसअघि नबिल सेक्युरिटिजको नामबाट कारोबार सञ्चालन गरेको कम्पनीले हाल नाम परिवर्तन गरी नबिल स्टक डिलरको रूपमा कार्य गरेको हो । सो डिलरको हिजो नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य, नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल लगायतले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।
कम्पनीले गत भदौ २० गतेदेखि आफ्नो कारोबार सञ्चालन गरे तापनि औपचारिक उद्घाटन शुक्रबार गरिएको हो । नबिल सेक्युरिटिज लिमिटेड नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यापारी (स्टक डिलर)को रूपमा अनुमति प्राप्त वित्तीय संस्था हो । कम्पनीको अध्यक्ष गिरि धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक थिए भने प्रमुख कार्यकारी अधिकृतमा सुरेश देवकोटा रहेका छन् ।
चुक्ता पुँजी एक अर्ब ५२ करोड रहेको संस्थाले हाल स्टक डिलर, पूर्णकालीन धितोपत्र दलाल सेवा, प्रत्याभूति सेवा, लगानी परामर्श सेवा लगायतका सेवाहरू प्रदान गरिरहेको छ । निकट भविष्यमा छिट्टै नै मार्जिन कर्जा सेवा, लगानी व्यवस्थापन सेवा लगायतका सेवाहरू सञ्चालन गर्ने तयारीमा नबिल स्टक डिलर रहेको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्जबाट धितोपत्र दलालसेवा (धितोपत्र ब्रोकर नम्बर ७७) को अनुमति प्राप्त गरी आफ्नो सेवा सुचारु गरिरहेको छ ।
नबिल स्टक डिलरले औपचारिक रूपमा काम थाल्यो, पुँजी बजारसम्बन्धी सम्पूर्ण सेवा दिने
FACEBOOK COMMENTS