काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कम्युनिष्ट भनिने नेताहरूले भोग गर्दै आएको सम्पत्ति देख्दा आफू र आम जनतालाई अचम्म लागिरहेको बताएका छन् ।
हालै सम्पन्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी एवम् भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभा पाठकको विवाहमा देखिएको भड्किलो खर्चप्रति लक्षित गर्दै उनले सर्वहाराको नेता भनिने कम्युनिष्टहरूलाई पैसा र सम्पत्ति कहाँबाट आउँछ भन्दै प्रश्न समेत गरेका छन् । नेता मात्र होइनन्, नेताका छोराछोरीहरू समेत महङ्गो पहिरन गर्ने तथा महङ्गा सामान उपभोग गरिरहेको देख्दा आफूलाई अचम्म लाग्ने गरेको उनले बताए ।
रास्वपाको एक खुला सभालाई सम्बोधन गर्दै उनले भने, ‘थाहा छैन कम्युनिष्ट भनाउँदा नेता कम्युनिष्टको कुन सिद्धानतमा हिँडिरहेका छन् ? उहाँहरूका विवाह समारोह हेर्दा हाँसो लाग्छ, अच्चम लाग्छ, आश्चर्य लाग्छ । सम्पत्ति कहाँबाट आयो भनेर सोधीखोजी गर्दा साइबर ब्युरो लगाउँछन् । हाम्रो खोजीनीति गर्छन् यिनीहरू पनि यस्तै हो भन्छन् । थाहा छैन काहाँबाट आएको छ सम्पत्ति । शरीरभरी महङ्गा–महङ्गा घडी छन्, लुगा छन्, पार्टी, भोज, घर, हेलिकोप्टरको सवारी, प्लेनको सवारी र मलको बास कहाँबाट आएको थाहा छैन ।’
नेताहरू सुखशयलमा बस्दा जनता भने परिवार पाल्न विदेश जानपर्ने बाध्यता रहेको स्मरण गराउँदै सभापति लामिछानेले भने, ‘दुर्गम भू–भागमा भूकम्प जान्छ, हामी सबै भन्दा पहिला पुग्छौँ । अनि यीनिहरू पुग्लान भन्ने डरले बिहानै जिसमिसेमा आखाँ मिच्दै–मिच्दै हेलिकोप्टरमा चढेर मान्छेहरु पुग्छन् । अब पहिला पुग्यो भनेर पनि उहाँहरूलाई डर छ ।’
जनताले दु:ख पाएको ठाउँमा पुग्ने र उनीहरूको पीडामा मल्हमपट्टी लगाउनु र त्यसमा प्रतिस्पर्धा गर्नु राम्रो भए पनि आफूहरूले गरेको हेलिकोप्टर प्रदर्श र त्यो हेलिकोप्टरले उडाएका जनताको पाल पनि सम्झन उनले नेताहरूलाई आग्रह गरेका छन् । ‘काम गर्न जानुस् हामी घरमै बस्छौँ तर नोटको बिटा बोकेर, रक्सीको कार्टुन बोकेर, कुखुराको साँपरा बोकेर नजानुस् मेरो आग्रह छ,’ उनले भने ।
प्रतिभाको विवाह समारोहको किन आलोचना भइरहेको छ ?
प्रतिभाको विवाह गत मंसिर २९ गते शुक्रबार गोरखाका विज्ञानबाबु रेग्मीसँग भएको हो । विवाह समारोह निकै महङ्गो मानिने गोकर्णय फरेस्ट रिसोर्टमा आयोजना गरिएको थियो । सो समारोहका लागि मुलुकका उच्च पदस्थहरूलगायत एक हजार जनालाई निम्ता दिइएको थियो ।
तर, नेपालको विद्यमान कानुनले विवाहको जन्ती र भोजमा ५१ जनासम्म मात्रै सहभागी गराउन मिल्ने व्यवस्था गरेको छ । ‘सामाजिक व्यवहार सुधार ऐन २०३३’ ले जन्ती र बिहे भोजमा आमन्त्रण गरिने मानिसहरूको अधिकतम सङ्ख्या तोकेको हो । ऐनको दफा ७ मा बाजागाजासहित ५१ जनाभन्दा बढी जन्त लैजान नहुने व्यवस्था छ । उक्त दफाले बाजागाजा प्रयोजनका लागि बोलाइने मानिसहरूको सङ्ख्या पनि ११ जना तोकेको छ ।
यो कानुनी व्यवस्था उल्लङ्घन गर्नेलाई १० हजार रुपैयाँसम्म जरिवाना र १५ दिनसम्म कैद वा दुवै सजाय गर्न सकिने व्यवस्था छ । त्यस्तै, दफा ८ मा दुलाहा वा दुलही पक्षबाट आयोजित भोजमा पनि ५१ जना भन्दा बढीलाई आमन्त्रण गर्न नपाइने व्यवस्था छ ।
भोजमा बोलाइने मानिसहरू नजिकको नातेदारबाहेक ५१ जना भनिएको छ । भोजमा तोकिएको सीमाभन्दा धेरै बोलाउनेलाई २० हजार रुपैयाँसम्म जरिवाना र १५ दिनसम्म कैद वा दुवै सजाय गर्न सकिने व्यवस्था छ । त्यसो त यो कानुन पञ्चायतकालमै बनेको हो । अहिलेको परिवेशमा यो धेरै अव्यावहारिक बनिसकेको पनि बताइन्छ ।
तर, कम्युनिष्ट नेताको परिवारमा ‘भड्किलो विवाह’ भएको भन्दै आलोचना भइरहेको हो । उक्त विवाहको समारोहमा कानुनले तोकेकोभन्दा बढी मानिसलाई निम्ता दिइएकाले प्रधानमन्त्री र स्थानीय सरकारको प्रमुखकै परिवारले देशको कानुन पालना नगरेकोमा प्रश्न उठेको हो । त्यसमाथि कार्यकारी तहमा रहेका प्रधानमन्त्रीसहितकाले नै त्यस्तो विवाह समारोहलाई प्रोत्साहित गर्नु चिन्ताजनक अवस्था भएको बताइन्छ ।
FACEBOOK COMMENTS