नेपालमा अझै पनि ५७ प्रतिशत नागरिक बीमाको दायरा भन्दा बाहिर छन् । जति मानिस बीमाको पहुँचमा छन् त्यसमा सबैभन्दा ठूलो योगदानको हिस्सा निजी क्षेत्रको छ । तर, बीमितले भुक्तानी लिँदा व्यहोर्नुपर्ने अनेकन झन्झटका कारण उनीहरू पनि निष्कलङ्क छैनन् । नेपालमा सवारी, वैदेशि रोजगारी र अन्य केहीबाहेक अरु क्षेत्रमा बीमा अनिवार्य छैन । स्वेच्छिकरूपमा आफ्नो जीवन र घरसम्पत्तिको बीमा गर्ने व्यक्तिको सङ्ख्या निकै सानो छ । त्यसैले पनि प्राकृतिक विपत्ति र भवितव्य घटना तथा दुर्घटनाहरूमा नेपाल र नेपालीले ठूलो आर्थिक क्षति व्यहोर्न परिरहेको छ ।
बीमा बुझ्न गाह्रो विषय पनि छैन । तै पनि हाम्रो सरकार र आम नागरिकलाई भने किन गाह्रो परिरहेको छ ? के हामीसँग बीमा बुझ्ने र आर्थिक सुरक्षा गर्ने सोच अझै विकास भएको छैन ? यदि छैन भने को–कसको कमजोरी कति रह्यो ? यदि बीमा आवश्यक वस्तु हो भने नेपालले आवश्यक ठाउँमा किन अनिवार्य लागू गर्न सकिरहेको छैन ? बीमासम्बन्धी चेतना जगाउने सन्दर्भमा नियामक निकाय नेपाल बीमा प्राधिकरणको भूमिका के कस्तो रहँदै आएको छ ? यी र यस्ता कैयन प्रश्नहरूको जवाफ खोज्ने प्रयासस्वरूप कर्पोरेट खबरले बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसँग कुराकानी गरेको छ । प्रस्तुत छ, कर्पोरेट खबरका कार्यकारी सम्पादक ज्योति जीसीले अध्यक्ष सिलवालसँग गरेको कुराकानीको सम्पादित अंश:–
साविकको बीमा समितिमा १९ माघ २०७७ मा अध्यक्षको नियुक्ति पाएर कार्यभार सम्हाल्नुभएपछि तपाइँले गर्नुभएका मुख्य–मुख्य कामहरू के–के हुन् ?
मैले मूलभूत रूपमा चार वटा विषयलाई गन्तव्यसम्म पुर्याउनुपर्छ भनेर काम अगाडि बढाएको थिएँ । बीमा प्राधिकरणको पहिलो उद्देश्य सबै मानिसहरूले बीमामा आवद्ध हुन पाउनुपर्छ भन्ने हो । तर, त्यसका लागि हामीसँग जनचेतानको अभाव थियो । सर्वसाधारणको तहमा त जनचेतनाको अभाव भयो भयो सरकारी तहमा समेत जनचेतना कम भइरहेको अवस्था थियो । त्यसकारण हामीले सर्वप्रथम त बीमा सबैले बुझ्नुपर्यो भनेर लविङ थाल्यौँ । नेपालमा भएका अन्य बैंक तथा वित्तीय संस्थाहरू जस्तै बीमा कम्पनी पनि एउटा पार्ट हो । बीमा बैंकलाई पनि चाहिन्छ र अन्य संस्थालाई पनि । बीमालाई हाम्रो वित्तीय क्षेत्रको आधारस्तम्भका रूपमा स्थापित नगरेसम्म हामी अगाडि बढ्न सक्दैनौँ । त्यही मिसनको बेसमा रहेर हामीले राष्ट्रिय बीमा नीति ल्याउनुपर्यो भनेर पहल गर्यौँ र मन्त्रिपरिषद् बैठकले त्यसलाई पारित गरिसकेको छ । यो खुसीको कुरा पनि हो ।
त्यतिमात्र होइन हाम्रा नागरिकरू देशका विभिन्न भूगोलमा बस्नुभएको छ । उहाँहरूलाई बीमा बुझाउन उहाँहरूकै जनप्रतिनिधिहरूको मुख्य भूमिका र सहज पनि हुन्छ भनेर स्थानीय तहहरूसँगको समन्वयमा हामीले अन्तरक्रियात्मक कार्यक्रमहरूलाई तीव्रताका साथ अघि बढाएका छौँ । अहिलेसम्म करिब ३०० वटा पालिकासँग यस्ता कार्यक्रम सम्पन्न भइसकेका छन् । ती कार्यक्रमहरूका लागि बीमा प्राधिकरणबाटै हामी खटिने गरेका छौँ । प्राधिकरणले त्यहाँको प्रदेश सरकार, महानगरपालिका, गाउँपालिका र वडाअध्यक्षहरूसँग समेत कुराकानी गरेर काम गर्ने गरेको छ ।
मेरो बुझाईमा यो सबै गतिविधिबाट दुई वर्षअघिको तुलनामा अहिले बीमाको बुझाई धेरै नै बढेको छ । साथै, बीमा कम्पनीहरूले गर्ने विभिन्न खालका बदमासीमाथि उजुरी गर्नुपर्छ भन्ने चेतनाको पनि विकास भएको छ । त्यसले गर्दा पछिल्लो समय उजुरीको सङ्ख्या बढिरहेको छ । सँगै प्रत्येक कम्पनीले आफ्नो कार्यालय र शाखा कार्यालय रहेका ठाउँहरूमा प्रत्येक महिना एउटा जनचेतना कार्यक्रम गर्नुपर्छ भनेर निर्देशन दिएका छौँ, त्यस अनुसार कार्यक्रमहरू भइरहेको रिपोर्टिङ हामीलाई छ । त्यस्तै, केन्द्रीय कार्यालयबाट मात्रै सेवा दिँदा अपुग र असहज भएको महसुस गरी ६ वटा प्रदेशमा बीमा प्राधिकरणका प्रदेश कार्यालय सञ्चालनमा ल्याएका छौँ ।
यसैगरी, बीमा कम्पनीको सङ्ख्या धेरै र अस्वस्थ प्रतिस्पर्धाको अवस्था सृजना हुँदै गएकाले मर्जरको नीतिलाई अघि सारियो । फलस्वरूप अहिले बीमा कम्पनीहरूको सङ्ख्या ४० बाट २४ मा झरेको छ । साना–साना र गरिबको बीमा भएन भन्ने गुनासो सम्बोधन गर्दै अहिले सातवटै प्रदेशमा एउटा एउटा लघु बीमा कम्पनीहरू पनि स्थापना गरेर काम अघि बढाइएको छ । समग्रमा भन्ने हो भने हामीले नीतिमा सफलतापूर्कक काम गरेका छौँ, जनचेतनामा काम गरेका छौँ । आजको अवस्थासम्म आइपुग्दा करिब ४४ प्रतिशत नागरिकको पहुँच बीमामा रहेको देखिन्छ । यसलाई अझ बढाएर कम्तीमा ५० प्रतिशतसम्म पर्याउनेगरी अझै गृहकार्य गरिरहेका छौँ । तर, मुलुकमा देखिएको आर्थिक मन्दीको असर हामीलाई पनि परेको छ । यदि यस्तो अवस्था नहुँदो हो भने यो आर्थिक वर्षमा ५० प्रतिशत पुर्याउने नै थियौँ । यद्यपि, बीमा घट्ने विषय होइन, बढ्दै जान्छ । यसमा म ढुक्क छु
बीमा नीति पारित भएकामा खुसी व्यक्त गर्नुभयो । खासमा यसका फाइदाहरू के–कस्ता हुन्छन् ?
कुनै पनि कुरा अगाडि बढाउनका लागि स्पष्ट नीति चाहिन्छ, त्यसैका लागि बीमा नीति हो । नेपालकै कुरा गर्ने हो भने पनि यहाँ सूचना, सञ्चार, आईटी, भूमी, बैंकिङ, वित्त र अरु धेरै नीतिहरू छन् । तर, अहिलेसम्म बीमा नीति छैन । मन्त्रिपरिषद्ले बल्ल त्यसलाई पारित गरेको छ । यसले अब बीमाको बजार बढाउन ठूलो मद्दत गर्ने अपेक्षा गरिएको छ । पछिल्लो समय सरकार र सर्वसाधारण दुबैमा बीमाबारे चेतना राम्रै बढेको छ, तर बीमा नीतिले बीमामा किन आबद्ध हुनुपर्छ भन्ने कुराको बढी नै महसुस गराउँछ । यो नीतिमा टेकेर सरकारले आफ्नो योजनाहरू बनाउन सक्छ । सरकार भनेको राज्यको सबैखाले जोखिमको दायित्व बहन गर्ने निकाय हो, तर पनि उसले सबै जोखिम बहन गर्न कुनै पनि हालतमा सक्दैन । संसारभरकै कुरा त्यही हो । तर, अरुले बीमालाई फलो गरे, हामीले बुझ्नै चाहेनौँ यत्ति फरक हो । हाम्रोमा कतिपय दायित्व सरकारले आफ्नो विभागहरूको माध्यमबाट गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा बीमाको माध्यमबाट त्यो जोखिमलाई ट्रान्सफर गर्ने हो । त्यसकारण यो राष्ट्रिय बीमा नीतिले हामीलाई हरेक कुरामा मार्गदर्शन गर्छ । अब भने थोरै भन्दा थोरै पैसाले जोखिमलाई पूर्णरूपमा कसरी बहन गर्ने भन्ने कुराको बाटो पनि खुलेको छ । रिसोर्सको जहिले पनि अभाव र डिमाण्ड ठूलो हुन्छ । सबै कुरालाई सरकारले बहन गर्न सक्दैन । त्यसकारण जति अनिवार्यरूपमा गर्नुपर्ने चिज बैंकमा राखेर गर्ने र अरु जोखिम बीमाबाट बहन गरे भैगयो त कनि टाउको दुखाउनु ? सरकारलाई हामी यही कुरा बारम्बार भनिरहेका छौँ ।
बीमा कम्पनीहरूलाई बीमा प्राधिकरणले एकैपटक साविकको चुक्ता पुँजी निर्जीवनतर्फ एक र जीवनतर्फ दुई अर्बबाट बढाएर साढे दुई र पाँच अर्ब पुर्याउनुपर्ने बाध्यकारी व्यवस्था गर्यो । जसले गर्दा धेरै कम्पनीले मर्जरको बाटो रोज्न बाध्य भएका छन् । तर, पुँजी बढे पनि पर्फमेन्स अपेक्षाकृत बढ्न सकेको देखिँदैन नि ?
यो विषयमा यति चाँडो मूल्याङ्कन गर्ने बेलै भएको छैन । कम्पनीहरू भर्खरै मर्जर भएका छन् । बेग्लाबेग्लै मेन्टालिटीबाट आएका कर्मचारी, सिस्टम र रणनीति मिलेर एउटै बन्न केही समय लाग्न सक्छ । उसले आफ्नो ब्राण्डिङ गर्नुपर्यो, नयाँ प्रडक्टहरू ल्याउनुपर्यो, प्रडक्ट ल्याउँदा बढी भन्दा बढी मानिसलाई बीमाको पहुँच दिन थोरै भन्दा थोरै पैसामा अधिकतम सुविधाहरू भएको ल्याउनुपर्यो । यो सबै कुरा भइसकेपछि मात्रै गति लिने कुरा हो । यो कुरामा हामीले दबाब पनि बढाइरहेका छौँ । त्यसमाथि हामीले हेर्दा कसैको पनि पर्फमेन्स घटेको छैन । बरु मर्जर भएका कम्पनीको सूचकहरू माथि आउन थालेका छन् । यो आर्थिक वर्षको अन्त्य सम्ममा निकै राम्रो भएर जाने छ ।
जतिबेला प्राधिकरणले चुक्ता पुँजी बढाउने निर्णय लियो त्यतिबेला देश कोरोना सङ्कटबाट गुज्रिरहेको थियो । तरलताको अभावका साथै मुलुक आर्थिक सङ्कटतर्फ उन्मुख भएका बेला चुक्तापुँजी दोब्बरले वृद्धि गर्नुपर्ने निर्णय उपयुक्त थियो र ?
हेर्नुस्, मान्छेहरूका आ–आफ्नै विश्लेषण हुन्छन् । कसैलाई त्यस्तो लागेको हुनसक्छ, त्यसमा मेरो भन्नु केही छैन । हामीले पुँजी बढाउनका लागि मर्जरमै जाउ भनेर कतै पनि भनेका थिएनौँ । जति कम्पनीहरू मर्जरमा गए ती सबै खुसीसाथ गएको मेरो बुझाइ छ । नेपालको परिप्रेक्ष्यमा हामीसँग भएका बीमा कम्पनीको सङ्ख्या र उनीहरूसँग भएको चुक्ता पुँजीले यहाँको रिस्कलाई धान्न सक्दैन भनेर पुँजी वृद्धिको रणनीति अघि सारिएको हो । बीमितको सबै रिस्क पुनर्वीमा कम्पनीले मात्र कभर नगर्ने र कम्पनीले समेत योगदान गर्नुपर्ने हुँदा उनीहरूसँग बढी चुक्ता पुँजी हुनु आवश्यक थियो । जति पुँजी उनीहरूसँग थियो त्यसले धान्ने अवस्था पक्कै थिएन । जब बढी रिस्क कभरको कुरा गर्नुहुन्छ भने कम्पनीलाई पनि बढी पुँजी चाहिन्छ । अहिले रिसर्च, डेभलपमेन्ट र इन्नोभेसनमा लगानी गर्ने बेला हो । यस्तो समयमा खुद्राखाद्री पैसा लिएर बसेर म सबै बेहोर्न सक्छु भन्दा पत्याउनेचाहिँ कसले हो ?
अहिलेका लागि वृद्धि भएको यो पुँजी पर्याप्त छ । तर, एक पटक होइन समय अनुसार पटक–पटक वृद्धि गर्दै जानुपर्छ । कम्पनीको क्षमता वृद्धिसँगै जोखिम बहनको क्षमता पनि बढ्छ । अब पुँजी उपयोगिताको कुरा गर्नुहुन्छ भने कम्पनीहरूले योजना बनाउने कुरा हो । हिँजोसम्म दुई अर्ब रूपैयाँ पुँजी भएको कम्पनीसँग आज पाँच अर्ब रूपैयाँ चुक्ता पुँजी छ । यसको रिटर्नका लागि योजना बनाउने काम उहाँहरूको हो । अब तपाइँ इन्नोभेसनमा जानुभएन भने पोलिसी बिक्री हुँदैन, थोरै पैसामा धेरै सर्भिस दिनुभएन भने पनि पोलिसी बिक्री हुँदैन । तपाइँ अब नयाँ आइडियामा जानुपर्यो । कुन भूगोलमा कस्तो पोलिसी बिक्री हुन्छ रिसर्च गरेर त्यस्तै पोलिसी जारी गर्नुपर्यो ।
यसअघि १९ वटाको सङ्ख्यामा रहेका जीवन बीमा कम्पनी मर्जरपश्चात १४ वटामा झरेका छन् । तै पनि नेपाल लाईफ, हिमालयन लाइफ र नेशनल लाइफबाहेक अन्य ११ वटा कम्पनीले अझै तोकिएको पुँजी कायम गर्न सकेका छैनन् । कतिले त मर्ज गरेर पनि पुँजी पुर्याउन सकेनन् । यता तपाइँहरूले दिनुभएको समयसीमा पनि गएको चैतमै सकिइसकेको छ । अब तिनका हकमा के हुन्छ ?
मर्जरका साथै आफ्ना सम्पत्तिहरू बेचबिखनबाट पनि तोकिएको चुक्ता पुँजी पुर्याउन नसकेका कम्पनीहरूले अब हकप्रद (राइट शेयर) बाट पुर्याउन सक्छन् । त्यसका लागि अनुमति माग्न आए हामी दिन्छौँ । २० देखि २५ प्रतिशत हकप्रदको अनुमति दिन बीमा प्राधिकरण तयार छ । जीवन र निर्जीवन बीमा कम्पनी दुवैका लागि यही योजना लागू हुन्छ ।
नेपालमा केही विदेशी इन्स्योरेन्स कम्पनीहरू पनि सञ्चालनमा छन् । ती कम्पनीहरूमध्ये केहीको त अहिलेसम्म चुक्ता पुँजी समेत स्पष्ट नभएको पाइन्छ । उनीहरूले प्राधिकरणको निर्देशन मान्न पर्दैन ?
नेपालमा भएका विदेशी इन्स्योरेन्सहरू कम्पनी नभइ कम्पनीका शाखा हुन् । उनीहरूको हेडक्वार्टर अन्तै छ । ती कम्पनीका माउ कम्पनीले हामीलाई एउटा चिठी दिए पुग्छ, त्यसको क्रेडिबिलिटी र गुणस्तर हेरेर । हेडक्वार्टरले हामीलाई तिमीले भनेको पुँजीको ग्यारेन्टी हामी छौँ भनेपछि अरु के चाहियो ? उनीहरूले त्यो ग्यारेन्टीको पत्र हामीलाई दिइसकेका छन् । पैसा नै यहाँ आउनुपर्छ भन्ने छैन । त्यसमाथि उनीहरूको जति पनि कोषहरू छन् ती सबै हाम्रै नियन्त्रणमा छन् । त्यसले गर्दा पनि असुरक्षित बन्ने अवस्था रहँदैन ।
नेपालमा बीमाको बजार पर्याप्त विस्तार भइसकेको छैन । यस्तो अवस्थामा कम्पनीहरूको चुक्ता पुँजी फोर्सफुल्ली वृद्धि गर्दा बीमितले पाउने प्रतिफलमा के–कस्तो प्रभाव पर्छ ?
सबै कुरा सकारात्मकताका लागि गर्ने हो । हाम्रो उद्देश्य नै बीमितलाई बढी फाइदा पुर्याउनु हो, उहाँहरूको हित र रक्षा गर्नु हो । त्यसकारण बीमितलाई बेफाइदा हुने कुरा कतै छैन र हुँदैन पनि । अब झन् बोनसमा प्रतिस्पर्धा बढ्छ । तर, कम्पनीहरूले प्रडक्ट कसरी डिजाइन गर्छन् र कस्ता–कस्ता प्रडक्ट ल्याउँछन् भन्ने कुरामा अवश्य निर्भर रहन्छ । जस्तो पायो त्यस्तै अर्थात् क्षमता भन्दा बढी बोनस दिन्छौँ भनेर ल्याइएका पोलिसीहरूलाई हामी स्वीकृति दिन सक्दैनौँ । उसले दिने बोनसको क्यापासिटी र रिस्क कति छ भन्ने कुरालाई हेरेर पोलिसी स्वीकृत गर्ने हो । अहिले प्रतिस्पर्धाको बजारमा सबैभन्दा पहिला कम्पनीहरूले रिझाउनुपर्ने नै पब्लिकलाई हो ।
अहिले पनि सरकारले बीमा क्षेत्रलाई प्राथमिकतामा राखेको पाइँदैन । जहाँ अनिवार्य छ त्यहाँ मात्रै बीमा गर्ने सोच आम मानिसमा छ । यस्तो अवस्थामा नेपाली बीमा बजार कसरी वृद्धि गर्न सकिएला ? प्राधिकरणले केही योजना बनाएको छ कि ?
सबै भन्दा पहिला बीमा के हो र किन गर्नुपर्छ भन्ने कुराको चेतना आम नागरिकलाई दिनुपर्छ । यही कुरालाई मुल मिसशन बनाएर बीमा प्राधिकरण अघि बढिरहेको छ । बीमा बुझिसकेपछि पनि गर्न सक्ने र नसक्नेगरी दुई खालका मान्छे हामीसँग हुने छन् । जो गरिब छ, उसैलाई धेरै बीमाको आवश्यकता परेको हुन्छ तर, गर्न सकिरहेको हुँदैन । आपत् पनि उसैलाई आउँछ । किनभने त्यही गरिब मान्छे खोला किनारतिर, पहाडतिर वा भनौँ अधिकतम जोखिमयुक्त ठाउँमा बसोबास गरिरहेको हुन्छ, त्यो उसको बाध्यता हो । त्यस्तै, बल्लतल्ल जोडेको हल गोरु, दुहुनो भैँसी वा अरु चौपायाहरू मर्न सक्छन् वा आगलागीले सम्पत्ति ध्वस्त हुन सक्छ । यसरी कुनै पनि बेला आउने प्राकृतिक प्रकोपले गरिब मान्छेलाई नै धेरै पीडा दिएर जान्छ वा उसैको ठूलो क्षति गरिरहेको हुन्छ अर्थात् आर्थिक सुरक्षाको ग्यारेन्टी पनि उसैको हुँदैन ।
त्यसैले यी र यस्ता साना–साना बीमा गर्न भनेर हामीले माइक्रो इन्स्योरेन्स कम्पनी स्थापना गरेका छौँ । यस्तो बीमा सरकारले गर्नुपर्छ । अब स्थानीय सरकारको पालो आएको छ । तर, स्थानीय तहका जनप्रतिनिधिहरूमा अहिले पनि पुरानै सोच छ । बैंक खातामा भएको पैसाले भवितव्य पन्छाउँला भनेर बसेको छन् जुन कुरा सम्भवै छैन । किनभने स्थानीय सरकारले दिने १०–२० हजारले कोही पनि जनताको घर र सम्पत्तिको पूर्ण सुरक्षा हुनेवाला छैन । २० हजार रूपैयाँमा मलाई लाग्छ १० देखि २० वटासम्म घरको बीमा हुनसक्छ । त्यो पैसाले बीमा गरिदिने हो भने त्यस्तो भवितव्यमा बीमा कम्पनीले सम्पूर्ण जोखिम बहन गर्छ सरकारले किन टाउको दुखाइरहनपर्यो ? त्यसकारण सरकारले आफ्नो सोच र पोलिसीमा परिवर्तन गर्नुपर्यो कि अब म कोही पनि नागरिकलाई आर्थिक सहायता दिन्नँ, आर्थिक सहायताका लागि छुट्टयाएको पैसाले सबै नागरिकको सम्पत्ति र दुर्घटना बीमा गरिदिन्छु भन्नुपर्यो र कार्यान्वयन पनि गर्नुपर्यो ।
एदाहरण हेर्नुहुन्छ भने, कुनै एउटा पुल निर्माण गर्नुअघि बीमा गरिन्छ, जब पुल निर्माण सम्पन्न हुन्छ बीमा नवीकरण गरिएको हुँदैन । त्यो पुलमा निर्माणका बखत मात्रै जोखिम छ र त्यसपछि छैन भन्ने सोच हामीलाई कहाँबाट आयो ? त्यसकारण सरकारले पनि प्रत्येक वर्ष आफ्ना सम्पत्तिहरूको बीमा अनिवार्यरूपमा गर्नुपर्दछ । यसो गरियो भने जुनसुकै बेला हुनसक्ने घटना वा दुर्घटनाबाट सृजित समस्याको सम्पूर्ण समाधान बीमा कम्पनीहरूले गर्नेछन् । राज्यलाई पनि सजिलो पर्न जान्छ । राज्यले सरकारी सेवा लिन आउनेहरूलाई अनिवार्य रूपमा बीमा गर्नुपर्छ भनेर बीमाको कागज अनिवार्य गरिदिने हो भने सबै नागरिक बीमाको पहुँचभित्र आउँछन् । धनीको बीमा आफै गर्छन् गरिबलाई राज्यले सहयोग गर्नुपर्छ, त्यो राज्यको धर्म पनि हो ।
नियामक निकाय स्वयम् र बीमा कम्पनीहरूले समेत बीमाको बजार र पहुँच विस्तारका लागि विभिन्न कार्यक्रम बारम्बार गरिरहेको देखिन्छ । तर, तीनको प्रभावकारिका खासै देखिँदैन । किन होला ?
टुँडीखेलमा बसेर मान्छे जम्मा गरेर भाषण गर्ने हामी कुनै पोलिटिकल फिगर होइनौँ । हाम्रो टार्जेट भनेको स्थानीय तहका जनताले निर्वाचित गरेको जनप्रतिनिधिलाई बीमा बुझाउनु र सक्रिय गराउनु हो । स्थानीय तहले आफ्नो कानुन आफैं बनाउँछन्, आफ्नो बजेट आफैं बनाउँछन् । आफ्ना मतदाता तथा नागरिकको समृद्धि र सहजताका लागि उहाँहरूले जति अरुले गर्न सक्दैन । त्यसकारण हाम्रो फोकस त्यहाँ छ । स्थानीय तहले राम्रोसँग बुझिदिने हो भने बीमाले डिपार्चर गर्छ । जसले कानुन र बजेट बनाउँछन् उसले बुझ्नैपर्छ । त्यसकारण अहिले जनचेतनाका लागि जे–जति कार्यक्रम भएका छन् त्यसको प्रभाव अत्यन्तै राम्रो छ ।
बीमा कम्पनीहरूले दाबी भुक्तानीमा अन्यन्तै धेरै झन्झट दिने भएका कारण पनि मानिसहरू बीमामा आकर्षित हुन सकिरहेका छैनन् । यसलाई नियामकीय निकायले केही सहजीकरण गर्न सक्दैन ?
यो विषय हामी जिल्ला–जिल्ला जाँदाखेरि पनि सुनिने गरेको छ । तर, हामीले हेर्ने भनेको तथ्याङ्क हो । तथ्याङ्कले दाबी भुक्तानीमा तपाईंले चित्रण गर्नुभएजस्तो अवस्था देखाउँदैन । दुवै प्रकृतिका बीमाबापत वार्षिक एक खर्ब रूपैयाँ दाबी भुक्तानी गरिएको छ । भुक्तानी पाइएन भनेर उजुरी गर्नेको सङ्ख्या वार्षिक साढे दुई सयको हाराहारी मात्रै छन् ।
दाबी भुक्तानी नपाउनुको दुईवटा कारण हुन सक्दछ । पहिलो, बीमा सर्भेयरले राम्रो भूमिका नखेल्नु र दोस्रो, आवश्यक कागजात उपलब्ध नहुनु नै हो । त्यसकारण कम्पनीले मागेको सबै कागजात दिएको छु, तर पनि भुक्तानी पाइएन भनेर हामीकहाँ आउने मान्छेलाई दुई घण्टाभित्र भुक्तानी दिलाउँछौँ । अहिलेको अवस्थामा ७० प्रतिशत भन्दा बढी भुक्तानी भइरहेको देखिन्छ । अर्को कुरा कम्पनीहरूले समयमै भुक्तानी दिनु भनेको उसले आफ्नो विज्ञापन गर्नु पनि हो, त्यस्तै एउटा भुक्तानी रोकिनु भनेको १०० जना ग्राहक भड्काउनु पनि हो । त्यसकारण भुक्तानीमा ग्राहकलाई नझुलाउन आग्रह पनि गर्न चाहान्छु । तपाइँहरूले जति छिटो भुक्तानी दिनुहुन्छ त्यतिनै धेरै तपाइँकहाँ बीमा गर्ने मान्छेहरू आउँछन् ।
अर्को कुरा, कम्पनीहरू दाबी भुक्तानीमा उदासिन छन् भन्ने कुरा मलाई राम्रोसँग थाहा छ । त्यसकारण हामीले प्रत्येक तीन महिनामा बीमा कम्पनीका सञ्चालक, दाबी भुक्तानी समिति, सीईओ र दाबी भुक्तानी गर्ने डिपार्टमेन्टलाई प्राधिकरणमा बोलाउँछौँ । हामीसँग भएका तथ्याङ्कहरू देखाएर किन फर्स्योट भएन भनेर दबाब सृजना गराउँदै प्रतिबद्धता पनि गराउने गरेका छौँ । अर्कोपटक उसले राम्रै गरेर यहाँ आइरहेको हुन्छ । त्यस्तै, कम्पनीलाई हामीले के भनेका हुन्छौँ भने ग्राहकसँग जे–जे कागज माग्नुपर्ने हो एकैपटक माग, पटक–पटक कागज मागेर झुलाउन खोज्यौ भने कारबाही हुन्छ ।
अहिले पनि ५७ प्रतिशत भन्दा धेरै नेपाली बीमाको पहुँचबाहिरै छन् । बीमा कम्पनीहरू जत्रो र जति भए पनि तिनलाई बीमाको दायराभित्र ल्याउन बीमा अभिकर्ताहरूको मुख्य भूमिका रहने गरेको छ । तर, बीमा प्राधिकरणले अभिकर्ता बन्नका लागि परीक्षा प्रणाली लागू गरेर झन्झट थोपर्यो भनिन्छ नि ?
पहिलाका धेरै अभिकर्तालाई बीमा भनेकै थाहा थिएन । उसलाई पोलिसी बेच्नुपर्छ भन्ने त थाहा छ, तर किन र कसरी बेच्ने भन्ने नै थाहा थिएन । जब आफैले बीमा बुझेको छैन भने त्यस्ता व्यक्तिले क्लाइन्टलाई के बुझाउँछ ? त्यसकारण अहिले परीक्षा प्रणाली सुरू गरिएको हो । हाम्रो परीक्षामा १०० जनाको परीक्षा लिँदा ६८ जना उत्तीर्ण हुन्छन् । यसले के देखाउँछ भने बाँकी ३२ जनाले बीमा नबुझेको देखाउँछ । उसले हाम्रो जाँच पास गर्दैन भने क्लाइन्टले लिने जाँच कसरी पास गर्न सक्छ ? अब जानेका र बुझेका व्यक्तिहरूलाई मात्रै अभिकर्ता बनाउँदा उसले राम्रोसँग पोलिसीबारे क्लाइन्टलाई जानकारी दिन सक्छ । अहिले हामीले प्रत्येक दिन जुममार्फत परीक्षा लिइरहेका छौँ । यसबाट पनि बीमाको पहुँच वृद्धिमा मद्दत् मिल्ने विश्वास गरेका छौँ । अब कसैले यसलाई झन्झटका रूपमा लिन्छ भने सुधारचाहिँ कसरी गर्ने हो ?
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS