काठमाडौं । क्रिश्चियन धर्म प्रचारकका रुपमा प्रस्तुत भएर विवादमा आएका संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीलाई जनस्तरबाट बहिष्कार गर्न थालिएको छ । हिजो चितवनमा सुरु भएको ‘१७औं चितवन पर्यटन तथा हात्ती महोत्सव’ मा उनको प्रमुख आतिथ्य खोसियो ।
तय भइसकेको कार्यक्रममा जानबाट मन्त्री किराँती वञ्चित भएका हुन् । क्षेत्रीय होटल संघले आयोजना गरेको महोत्सवमा मन्त्री किराँतीलाई बोलाउने पहिल्यै निधो भएर उनीसँग कुराकानी भइसकेको थियो । त्यसका आधारमा आयोजकले सबैतिर प्रमुख अतिथिमा उनको नाम राखेर प्रचारप्रसार र सबैतिर पत्राचार गरेको थियो ।
तर, हालैको विवादित अभिव्यक्ति र त्यसबाट उत्पन्न परिस्थितिका कारण उनलाई निम्त्याउनु ठीक नहुने ठानेर प्रमुख अतिथि परिवर्तन गरिएको क्षेत्रीय होटल संघका कार्यालय सचिव मुक्ति शर्माले बताए ।
उनको ठाउँमा अर्थमन्त्री डा. प्रकाशशरण महतलाई निम्त्याएर हिजो महोत्सव उद्घाटन गरिएको छ ।
सचिव शर्माका अनुसार मन्त्री किराँतीको समय लिइसकिएको भए पनि उनका लागि टिकटलगायतका व्यवस्थापकीय प्रवन्धहरु भइसकेका थिएनन् । प्रमुख अतिथि परिवर्तन भएपछि मन्त्री किराँतीलाई जानकारी गराइएको उनले बताए ।
महोत्सव पुस १४ गतेसम्म चल्नेछ ।
FACEBOOK COMMENTS