जमुना भण्डारी
काठमाडौं, फागुन ६ – नेपालमा बैंक तथा वित्तीय संस्थाको संख्या बढेसँगै यसको पहुँचमा पनि बृद्धि भएको छ । पहिले शहरमा मात्र केन्द्रित बैंक तथाा वित्तीय संस्थाहरु अहिले गाँउ गाँउसम्म पुगेका छन् । यसले बैंकिङ पहुँचमात्र बढाएको छैन आम मानिसलाई थोरै भएपनि बचत गर्न सिकाएको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्थामा व्यक्तिगत निक्षेप खाता खोल्ने नेपालीको संख्या १ करोड ८० लाखभन्दा बढी रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल जनसंख्यामध्ये करिब ६० दशमलव ९ प्रतिशत नागरिक वित्तीय पहुँचमा रहेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक बर्षको पाँचमहिनामा देशभरका कूल ७५३ स्थानीय तहमध्ये ७४५ स्थानीय तहमा वाणिज्य बैंक हरु पुगिसकेका छन् भने अझ ८ स्थानिय तहमा बैंकका शाखा पुग्ने क्रममा रहेको छ ।
राष्ट्र बैंकका अनुसार १३७ स्थानीय तह रहेको प्रदेश नं १ मा अब एक स्थानीय तहमा मात्रै वाणिज्य बैंकले शाखा पुग्न बाँकी रहेको छ । यस्तै प्रदेश नं २ का कूल १३६ स्थानीय तहमध्ये १३५ स्थानीय तहमा बैंक पुगेका छन् भने एक वटामा पुग्न बाँकी छ । बागमती प्रदेशका ११९ स्थानीय तह मध्य ११७ बटा तहमा वाणिज्य बैंकले शाखा पुगेको छ भने अझै २ वटा स्थानीय तहमा बैंकको पहुँच पुगेको छैन् । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्य ८४ वटा स्थानीय तहमा बैंक पुगेको छ भने एक वटा तहमा पुगेको छैन ।
त्यसै गरी प्रदेश पाँचमा १०९ स्थानीय तह रहेकोमा सबै तह सम्म बैंकको पहुँच पुगेको राष्ट्र बैंकल जारी गरेको तथ्यांकमा देखिएको छ । कर्णली प्रदेशमा ७९ वटास्थानीय तह मध्य एक वटा स्थानीय तहमा बैंकको पहुँच पुगेको छैन् भने अरु सबै स्थानीय तहमा बैंकको पहुँच रहेको छ । त्यसै गरी सुदुर पश्चिम प्रदेशमा ८६ स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ भने अझै २ वटा स्थानीय तहमा बैंकको पहुँच पुगेको छैन् ।
सरकारको सबै स्थानीय निकायमा बैंकिङ पहुँच पुर्याउने निती अनुरुप राष्ट्र बैंकले बैंकहरूलाई सबै स्थानीय तहमा शाखा पु¥याउन निर्देशन समेत दिएको छ । सोहि निर्देशन अनुरुप वाणिज्य बैंकहरुले आफुलाई परेका स्थानीय तहमा शाखा नभएको अवस्थामा स्थापना गर्ने क्रम पनि बढेको छ । राष्ट्र बैंकले निर्देशन दिएपछि बैंकहरूको संख्या घटे पनि बैंकिङ पहुँचमा भने वृद्धि भएको छ ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार असार मसान्त सम्म २८ वटा रहेको वाणिज्य बैंकको संख्या जनता बैंक र ग्लोबल आइएमई बैंक मर्जर पछि २७ मा झरेको छ । त्यस्तै गरी पुस मसान्तसम्म विकाश बैंकको संख्या २५ मा झरेको छ । असार मसान्तसम्म यसको संख्या २९ रहेको थियो । असार मसान्तसम्म मुलुकमा २३ वटा वित्त कम्पनि रहेकोमा पुस मसान्तसम्म आइपुग्ला २२ वटा भएको छ । त्यसै गरी लघुवित्तको संख्यामा भने कुनै घटबढ भएको छैन् । असार मसान्तमा ९० वटा लघुवित्त रहेकोमा पुस मसान्तमा पनि त्यतिनै रहेका छन् । नेपालमा पूर्वाधार बैंक भने एक वटा मात्र रहेको छ ।
यो तथ्यांकलाई समग्रमा हेर्नुपर्दा देशभरीमा असार मसान्तसम्ममा १७१ वटा बैंक तथा वित्तीय संस्था रहेकोमा त्यसको संख्या घटेर पुस मसान्तसम्ममा १६५ मा झरेको छ । बैंक तथा वित्तीय संस्थाको संख्यामा कमी आएता पनि बैंकिङ पहुँच भने बढेर गएको छ । बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने राष्ट्र बैंकको निती अनुरुप अझ केहि बैंक तथा वित्तीय संस्थाहरु मर्जरका लागि प्रकृयामा रहेका छन् ।
FACEBOOK COMMENTS