काठमाडौं,फागुन ७- बैंक अफ काठमाडूले आफ्नो स्थापनाको २५औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सव समारोहको राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले उद्घाटन गरेका थिए । उक्त कार्यक्रमका बीच बैंकले स्थापनाको २५औं बर्षको लोगो समेत सार्वजनिक गरेको छ ।
२५ औं बार्षिकोत्सवका अवसरमा बैंकले बुधबार विहान प्रभातफेरि गर्नुका साथै रक्तदान कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगितासमेत आयोजना गरेको थियो ।
बार्षिकोत्सवकै अवसरमा बीओकेले ‘बीओके कृषि कर्जा’ नामक कर्जा योजना र ‘सहज बचत खाता’ नामक निक्षेप योजना पनि सुरु गरेको छ । यसैबीच बैंकले सेवामा प्रविधिको प्रयोग बढाउन ‘बीओके स्मार्ट’ नामक मोवाइल बैंकिङमार्फत गरिने पहिलो कारोबारअन्तर्गत नेपाल टेलिकम र एनसेलको प्रिपेड तथा पोष्टपेड टपअप गर्दा २५ प्रतिशत नगद फिर्ता हुने योजनासमेत सार्वजनिक गरेको छ ।
बैंकले यसै अवसरमा काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थलाई आईसीयू कक्ष निर्माण गर्न एक करोड रुपियाँ सहयोग गरेको छ ।आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गर्भनर नेपालले संस्थाका संस्थापक डा। भगवान कोइरालालाई रकम हस्तान्तरण गरेका थिए । बैंकले नेपाल आर्थिक पत्रकार समाजलाई पनि पाँच लाख रुपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
FACEBOOK COMMENTS