काठमाडौं । चर्चित गायक निर्मलराज पौडेल १५ वर्षपछि पुन: गायनमै फर्किएका छन् ।
उनको गायनमा पुनरागमन ‘छम्म नाचौं, छप्प नाचौं’ बोलको गीतबाट भएको हो । श्रव्य सामग्रीको रुपमा रहेको सो गीतको हालै दृश्य सामग्री अर्थात म्यूजिक भिडियो छायाँकन गरिएको छ ।
विशेष गरेर पर्वहरुमा नाच्ने शैलीमा तयार भएको गीतमा चर्चित कलाकारहरुले अभिनय गरेका छन् ।
गीतमा सरोज खनाल, विजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडैल, निर्मल शर्मा, धिरेन शाक्य, रवीन्द्र खड्का, गजित बिष्ट, गम्भीर बिष्ट, सुनिल शिलवाल, खुस्बु खड्का, गोपाल ढकाल छन्दे, रोहित कार्कीलगायतका नयाँ र पुराना चर्चित कलाकारहरुले अभिनय गरेका छन् ।
विज्ञापन क्षेत्रमा लामो समयदेखि लागेका पौडेल एडगुरु नामले समेत परिचित छन् । उनको यो पछिल्लो गीतमा निर्मलराज पौडेलको शब्द तथा स्वर, मनिष पौडेलको निर्देशन, गम्भीर बिष्टको कोरियोग्राफी, महेश पौडेलको छायाँकन तथा माधव थापाले छायाँकन तथा व्यवस्थापन गरेका छन् ।

पौडेलकै रचना रहेको गीतलाई मोहित मुनालले संगीत दिएका छन् । ३५ वर्षअघि हलिउड र बलिउडका विभिन्न गीतलाई नेपाली शैलीमा परिमार्जन गरी गायन यात्रा शुरु गरेका पौडेलको ‘फेसन यो हो फेसन’ भन्ने गीत निकै चर्चित रहेको थियो । उनका ह्याप्पी लाइफ, सलल बगेको गण्डकीलगायतका गीतहरु चर्चित छन् ।


हालैमात्र पौडेलले नेपालमा विज्ञापनको इतिहास र वर्तमान अवस्था समेटेर विज्ञापनको इतिवृत्तान्त र यस पेशा तथा क्षेत्रप्रति आफ्नो अनुभवसमेत समेटेर ‘वेलकम आरोह अवरोह’ पुस्तक प्रकाशन गरेका थिए ।