काठमाडौं, फागुन ८ – प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण) को खरिद प्रक्रिया अघि नबढाउन निर्देशन दिएको छ ।
सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ७० करोड घुसकालागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अघि नबढाउन निर्देशन दिएको छ । समितिको बैठकमा मन्त्री बाँस्कोटालाई बोलाए पनि उनी भने उपस्थित भएनन् ।
सरकारले संवेदनशील कागजातहरु नेपालमै छाप्नका लागि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने निर्णय गरेको थियो। सरकारले सेक्युरिटी प्रेस खरिद गर्ने भनेपछि फ्रान्स र जर्मनीका कम्पनीहरुको टक्कर परेको थियो। स्विस कम्पनी त टप रेसमै थिएन।
जर्मनीको कम्पनीले २६० मिलियन युरो सफ्ट लोन दिने भनेको थियो भने फ्रान्सको कम्पनीले २०० मिलियन। ब्याजदर उही साढे दुईदेखि तीन प्रतिशतसम्म। अझ जर्मन कम्पनीले त भवन समेत बनाइदिने भनेको थियो।
डिसेम्बर २३, २०१९ मा मन्त्रिपरिषद्को बैठकले गोकुल बाँस्कोटाको मन्त्रालयलाई नै फ्रान्स र जर्मनीको प्रस्तावमध्येबाट उपयुक्त छान्ने अधिकार दिएको थियो। त्यतिबेलाको साप्ताहिक प्रेस ब्रिफिङमा मन्त्री बाँस्कोटाले सरकार र सरकारबीच सम्झौताका आधारमा सम्झौता हुने बताएका थिए।
FACEBOOK COMMENTS