काठमाडौं, फागुन ८ – सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा संचार मन्त्री गोकुल बाँस्कोटाले नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।
सामाजिक संजार ट्वीटरमा एक ट्वीट गर्दै मन्त्री बाँस्कोटाले राजीनामाको घोषणा गरेका हुन् । ट्वीट गर्दै उनले भनेका छन्, ‘मेरोबारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु ।’
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका बाँस्कोटाले पदबाट राजीनामा दिएको सभामुख अग्नि प्रसाद सापकोटाले यस अघिनै जानकारी गराएका थिए ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड रुपैयाँ कमिसनको ‘डिल’ सम्बन्धी अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले राजीनामा दिएका हुन् ।
मन्त्री बाँस्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिए पछि प्रतिपक्षी नेपाली कांग्रेस, साझा पार्टी, राष्ट्रिय प्रजात्नत्र पार्टी, सङ्घीय समाजवादी पार्टी लगायतले मन्त्री बास्कोटाले तुरुन्त राजीनामा दिनु पर्ने माग गरेका थिए ।
FACEBOOK COMMENTS