काठमाडौं, फागुन १२- भारतको जयनगरदेखि जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन गर्न तत्काल आदेश पाए एक महिनाभित्र रेल सञ्चालन गर्न सकिने रेल विभागले जनाएको छ। यसका लागि सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा रहेको विभागका महानिर्देशक बलराम मिश्रले बताउनुभयो।
‘रेलमार्ग र रेलगाडीलगायत पूर्वाधार तयारी अवस्थामा छ। आदेश पाए एक महिनाभित्र सञ्चालन गर्न सक्छौं।’ –उहाँले भन्नुभयो। विभागले ३५ किमि रेलमार्गसहित २ थान रेलगाडी तयारी अवस्थामा राखेको जनाएको छ। रेलगाडी खरिदका लागि सरकारले यसअघि करिब ८५ करोड रुपियाँ रकम विनियोजन गरिसकेको छ।
नेपालले आफ्नै लगानीमा रेल किनेर सञ्चालनमा ल्याउन लागेको हो। उक्त रेलको दुई महिनाअघि नै निर्माण सम्पन्न भइसकेको छ। विभागले डेढ महिनाभित्र नेपाल भित्याउने तयारी थालेको छ। उक्त रेल नेपालको राष्ट्रिय झण्डासहित रंग्याइएको छ। जसमा साधारण र व्यावसायिक गरी छुट्टाछुट्टै कक्ष राखिएको विभागले जनाएको छ।
डिजेलमार्फत चल्ने यस खालको रेलगाडी छोटो र मध्यम दूरीका लागि उत्तम मानिने डेमु ९डिजेल इलेक्ट्रिफाई मल्टिपल युनिट० प्रविधिको हो। डिजल इन्धनबाट बिजुली उत्पादन गरी उत्पादित विद्युत्बाट चक्काहरूमा लागिएको ट्र्याक्सन मोटरहरूलाई इनराइज्ड गरी सञ्चालन हुने गर्दछ।
रेल सञ्चालनका लागि ऐन र कर्मचारी तत्काल आवश्यक रहेको महानिर्देशक मिश्रले बताउनुभयो। ऐनको रूप दिन रेल्वे विधेयक संसद्मा दर्ता भई छलफलको क्रममा रहेको छ।
त्यस्तै अब कर्मचारी नियुक्त गरी रेल ल्याएर सञ्चालन गर्न मात्रै बाँकी रहेको उहाँको भनाइ छ। यसका लागि विभागले केही दिनअघि अत्यावश्यक २६ जना कर्मचारी करारमा लिने गरी प्रक्रिया थालिसकेको छ।
तर रेल सञ्चालनका लागि २ सय बढी कर्मचारी आवश्यक रहेको विभागले जनाएको छ। चरणगत रूपमा कर्मचारी करारमा नियुक्त गरी रेल सेवा सञ्चालन गर्ने तयारी गरेको विभागका महानिर्देशक मिश्रले बताउनुभयो। आजको नेपाल समाचारपत्रमा समाचार छ ।
FACEBOOK COMMENTS