सुनसरी । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले विदेशमा रहेका गैरआवासीय नेपालीलाई कोशी प्रदेशमा धेरै क्षेत्रमा सम्भावना रहेकाले लगानी गर्न आग्रह गरेका छन् ।
गैरआवासीय नेपाली सङ्घ एनआरएनएको सहयोगमा नेपाल रेडक्रस सोसाइटी सुनसरीलाई रक्त सङ्कलन घुम्ती बस हस्तान्तरणका अवसरमा प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा लगानी गर्न आउनेलाई प्रदेश सरकारले संरक्षण र प्रवद्र्धन गर्ने बताए ।
“कोशी प्रदेशमा लगानी धेरै सम्भावना छन्, तपाईंहरु लगानी गर्नका लागि आउनुहोस् । सरकारले पुँजी, श्रम र प्रविधिको संरक्षण र प्रवद्र्धन गर्नेछ”, उनले भने ।
प्रदेशको विकासका लागि गैरआवासीय नेपालीको पनि महत्वपूर्ण भूमिका हुने भएकाले प्रदेश सरकारले लगानीको वातावरण बनाउन कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री कार्कीको भनाइ थियो । मुलुकको विकासका लागि देशभित्र र बाहिर रहने सबै नेपालीको एकता आवश्यक रहेको बताए । उनले गैरआवासीय नेपाली सङ्घले रक्त सङ्कलन बस उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरे ।
सङ्घका अध्यक्ष डा बद्री केसीले आफूहरु विदेशमा रहे पनि मनमा सधैं नेपाल रहिरहने र नेपालका लागि सक्दो सहयोग तथा लगानी गर्ने बताए । नेपाल रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापाले बस उपलब्ध भएपछि रगत सङ्कलन गर्न सहज हुने बताए ।
FACEBOOK COMMENTS