काठमाडौं । नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफी प्रदर्शनी आज देखी सुरु भएको छ ।
नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनियाँ राजदूतावास तथा नेपाल फोटो पत्रकार महासंघको समन्वय तथा चीनको प्रान्तको साङदोङ प्रान्त र सान्दोङ (बिन्जु)फोटोग्राफी एशोसिएसनको आयोजनामा सुरु भएको प्रदर्शनी एक सातासम्म चल्ने छ ।
चिनियाँ नयाँ वर्षको अवसरमा आयोजना गरिएको फोटो प्रदर्शनीको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्ज्य रेग्मीले नेपाल र चीनबिच लामो धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहेको बताएका छन् ।
उनले भने, ‘ नेपालको पर्यटन प्रवर्द्धन गर्न हामीले चिनियाँ दूतावाससँग मिलेर विभिन्न कार्यक्रम आयोजना गरेका छौँ । जसको कारण पनि नेपालमा आउने चिनियाँ पर्यटकको सङ्ख्या निरन्तर बढ्दै गइरहेको छ । चिनियाँ ँ नयाँ वर्षको सनर्दभमा आयोजना गरिएको यो फोटो प्रदर्शनीले पनि एक देशले अर्को देशका पर्यटकीय गन्तव्य तथा त्यहाँको संस्कृति चिन्ने मौका मिल्ने तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ । ’
उनले फोटो प्रदर्शनीले दुई देशबिचको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।
यस्तै नेपाल स्थित चिनियाँ दूतावासका काउन्सिलर से यूले सान्दोङ सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्त्वपूर्ण प्रान्त रहेको चर्चा गर्दै फोटो प्रदर्शनीको माध्यमबाट दुई देशबिचको सम्बन्ध थप सुमधुर बन्ने तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा नेपाल चीन फ्रेन्डसीप फोरमका अध्यक्ष डा. कल्याणराज शर्मा, नाराका अध्यक्ष शिव अधिकारी, बिन्जु फोटोग्राफी एशोसिएसनका अध्यक्ष लि ज्याङ मिङ, फोटो पत्रकार महासंघका अध्यक्ष हरि प्रसाद रेग्मी लगायतको उपस्थिति रहेको थियो । उनीहरुले फोटो प्रदर्शनीको अवलोकन समेत गरेका थिए । फोटो प्रदर्शनीमा साङदोेङ प्रान्तका विभिन्न ६० वटा तस्वीर राखिएका छन् ।
FACEBOOK COMMENTS