काठमाडौं । विश्वमा हालसम्मकै ठूलो डेटा लिकको घटना सार्वजनिक भएको छ । अहिलेसम्म २६ अर्ब अकाउन्टका डेटाहरु लिक भएका तथ्याङ्कले देखाएको छ । रिपोर्ट अनुसार यसमा लिंक्डइन, स्नापच्याट, भेन्मो, एडोब र ट्वीटर अकाउन्ट समेत सामेल छन् । त्यसैले यसलाई इतिहासकै ठूलो डेटा लिक भनिएको छ ।
साथै, नेपालका २९ लाख ४ हजार ७ सय २१ जनाको अकाउन्टका डेटाहरु लिक भएको तथ्याङकले देखाएको छ । जसमा नेपाली वेबसाइट ८ हजार ८ सय ९९ सयको डेटाहरु लिक भएको छ ।
लिक भएका डेटामा युजरनेम तथा पासवर्ड जस्ता लगइन क्रेडेन्सियलका अलावा अन्य विवरणहरु पनि रहेका छन् । साइबर न्यूजको रिपोर्ट अनुसार यसरी लिक भएका डेटाहरुमा अधिकांस संवेदनशील विवरणहरु छन् ।
यी विवरणको सहयोगमा ह्याकर तथा साइबर अपराधीहरुले विभिन्न खालका साइबर आक्रमण गर्न सक्दछन् । यी डेटाको सहयोगले कसैको पहिचान चोरी गर्न, फिसिंग स्क्याम, लक्षित साइबर आक्रमण तथा कसैको संवेदनशील अकाउन्टमा आक्रमण गर्ने जस्ता काम साइबर अपराधीले गर्ने जोखिम रहन्छ । साइबर न्यूजका सेक्योरिटी अनुसन्धानकर्ता मान्टस सासनस्कसका अनुसार सम्भवत: अधिकांश मानिसमा यसको प्रभाव पर्नेछ ।
लिक भएका डेटामध्ये ठूलो संख्यामा चिनियाँ इन्स्ट्यान्ट मेसेजिङ्ग प्लाटफर्म टेन्सेन्ट प्रयोगकर्ताका डेटा छन् । यसका १.४ अर्ब प्रयोगकर्ताका डेटा लिक भएका छन् ।
त्यस्तै दोस्रो नम्बरमा विगो रहेको छ, जसका ५० करोड ४० लाख अकाउन्टका डेटा लिक भएका छन् भने माइस्पेसका ३६ करोड, ट्वीटरका २८ करोड १० लाख र लिंक्डइनका २५ करोड १० लाख प्रयोगकर्ताका डेटा लिक भएका छन् । त्यस्तै म्युजिक स्ट्रिमिङ प्लाटफर्म डीजरका २५ करोड ८० लाख प्रयोगकर्ताका डेटा पनि लिक भएका छन् ।
त्यसका साथै एडोब, टेलिग्राम, ड्रपबक्स, दूरड्यास, क्यान्भा र स्नापच्याट लगायतका विभिन्न प्लाटफर्ममा डेटा पनि त्यसमा सामेल छन् ।
FACEBOOK COMMENTS