काठमाडौं । सरकारले भन्सारबाट हुने अवैध कारोबार रोक्न नसक्दा राजश्वमा कमी भएको व्यवसायीहरूले बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा व्यवसायीहरूले भन्सारबाट नै अवैध कारोबार हुने गरेको तर सरकारले रोक्न नसकेको बताए ।
उनीहरूले भारतबाट दिनभर साइकलमा सामान ल्याउने र बेलुका ट्रकमा गाउँगाउँमा पुर्याउने गरिएको बताए । भन्सारमा आयातकर्ताको विवरण, उपभोग्य म्याद गुज्रिने अवधिलगायत मापदण्ड पूरा नगरेका वस्तुहरू भन्सार बिन्दुमा नै रोक लगाउने भनिए पनि कार्यान्वयन फितलो भइरहेको व्यवसायीहरूको बताए ।
भन्सार बिन्दुमा सहज बनाउन भन्सार प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्न जरुरी रहेको चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताए । भन्सार प्रणालीलाई व्यवस्थित गर्न कारोबार मूल्यलाई मान्यता दिएर भन्सार लिने प्रक्रिया खारेज गर्नुपर्ने धारणा राखे ।
उनले नेपालमा व्यवसायिक गतिविधि आधुनिक र प्राविधिमैत्री बन्दै भएकाले भन्सार प्रशासनलाई पूर्ण रूपमा डिजिटलाइज बनाएर राजश्वमा वृद्धि गर्न आवश्यक रहेको बताए । उनले पछिल्लो समय अर्थतन्त्र सकारात्मक बन्दै गएको भन्दै अर्थतन्त्रलाई अझ सुदृढ र सवल बनाउन कर्जाको दोब्बर ब्याजदरलाई सिङ्गल डिजिटमा ल्याउन सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।
बैंकहरूमा रहेको ६ खर्बभन्दा बढीको तरलतालाई चलायमान बनाउन घरजग्गा र सेयर कारोबारमा कायम रहेको जोखिम भार १२५ लाई घटाएर सयमा ल्याउन आवश्यक रहेको बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले भन्सारबाट हुने अवैध कारोबारका कारण सरकारले राजश्व गुमाइरहेको दाबी गरे । उनले सरकारले भन्सारबाट हुने अवैध कारोबार रोक्ने विषयमा ध्यान दिन माग गरे । उनले भारतबाट मालवाहक सवारीसाधन खाली फर्कन ७२ घण्टा र नेपालबाट सामान लिएर फर्कंदा थप ४८ घण्टामा भन्सारमा कुनै शुल्क नलाग्ने व्यवस्था गर्न माग गरे ।
भारतबाट खाली सवारी साधन मगाउँदा प्रतिदिन २ हजार ५ सयका दरले भन्सार शुल्क लिने प्रावधानले नेपालबाट निर्यात हुने सिमेन्टलगायत निर्यातजन्य वस्तुहरू महँगो हुँदा प्रतिष्पर्धी क्षमता गुमाइरहेको उनको भनाइ छ ।
FACEBOOK COMMENTS