काठमाडौं – बैंक तथा वित्तीय संस्थामा व्यक्तिगत निक्षेप २०.२ प्रतिशत वृद्धि भएको छ । गत असारसम्म व्यक्तिगत निक्षेप बढेर १५ खर्ब २५ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १२ खर्ब ६९ अर्ब १४ करोड रुपैयाँ थियो ।
एक वर्षको अवधिमा व्यक्तिगत निक्षेप २ खर्ब ५६ अर्ब १२ करोड रुपैयाँ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष व्यक्तिगत निक्षेप १५ प्रतिशत बढेको थियो ।
असारसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप १९.४ प्रतिशत बढेर २८ खर्ब ३६ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष २३ खर्ब ७५ अर्ब १० करोड रुपैयाँ थियो । एक वर्षको अवधिमा कुल निक्षेप ४ खर्ब ६१ अर्ब ५४ करोड रुपैयाँ बढेको हो ।
बैंक तथा वित्तीय संस्थामा कुल निक्षेपमा झण्डै ६० प्रतिशत व्यक्तिगत निक्षेप रहेको छ । बैंक तथा वित्तीय संस्थामा कर्मचारी संचय कोष, नागरिक लगानी कोष, राष्ट्रिय बीमा संस्थानलगायत सबै बीमा कम्पनी, स्थानीय सरकार, सार्वजनिक संस्थान, गैरसरकारी संस्था र वैदेशिक निक्षेप रहेको छ ।
FACEBOOK COMMENTS