काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी ओलीले प्रधानमन्त्री हुँदा नेपालको विकासको रेखा कोर्ने काम गरेको बताएका छन्।
मंगलबार काठमाडौंमा ‘संसद्मा केपी शर्मा ओली’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले केपी ओली राष्ट्र निर्माण र विकासको नायक भएको बताए । ‘उहाँ राष्ट्रलाई नेतृत्व गर्ने नायकका रूपमा स्थापित हुनुभयो’, पोखरेलले भने ।
एउटा नेता नायकका रूपमा कसरी बदलिन्छ भन्ने कुरा केपी ओलीको जीवनीबाट सिकिने पोखरेलले बताए । केपी ओली नेताबाट नेताको नेता बनेको बताए । नेपालको लोकतन्त्र कस्ता कस्ता घटनाबाट गुज्रियो भन्ने कुरा केपी ओलीको अभिव्यक्ति र जीवनीबाट बुझिने पोखरेलले बताए । सर्वसत्तावाद विरुद्धको संघर्षमा खरो रूपमा उत्रिएको कारण केपी ओली नेताको नेता बन्नुभएको पोखरेलले टिप्पणी गरे।
ओलीले कानुनी राज्य, मानवअधिकार, सुशासन र शान्ति सुरक्षाको पक्षमा दिएको अभिव्यक्तिले नेपालको लोकतन्त्रलाई कसरी अघि बढाउने भन्ने बाटो देखाएको पोखरेलले बताए ।
सरकारको नीति, कार्यक्रम र बजेट कस्तो हुनुपर्दछ भन्ने कुरा उनले संसद्मा स्पष्ट रूपमा राख्ने गरिएको पोखरेलले बताए। ‘आफूले लिएको जिम्मेवारी पालनमा अति इमान्दार देखिनुभएको छ’, उनले भने ।
सङ्क्रमणकालीन न्यायको सन्दर्भमा पनि ओली आफ्नो अडानमा स्पष्ट रहनुभएको पोखरेले बताए । ओली हरेक दृष्टिकोणमा स्पष्ट नेता रहेको उनको टिप्पणी छ । लिपुलेक, लिम्पियाधुरा नेपालको हो भनेर संसद्मा सो विषय भित्र्याउने पहिलो नेता केपी ओली नै भएको र आफ्नै प्रधानमन्त्री कालमा सो भूमि समेटिएको नक्सा प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन गराएको पोखरेलले स्मरण गराए । देशको मिचिएको भूमिको रक्षा तथा परराष्ट्र नीतिमा ओली स्पष्ट हुनुभएको पोखरेलको भनाइ छ ।
नेपालको राजनीतिमा माओवादीलाई कसरी हेर्ने र सो विषयमा कस्तो धारणा बनाउने भन्ने विषयमा ओलीले राष्ट्रकै नेतृत्व गर्नुभएको पोखरेलले स्पष्ट पारे । माओवादीलाई हिंसाको राजनीतिबाट रूपान्तरण प्रक्रियामा ल्याउने काममा ओलीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले स्पष्ट पारे । तर अहिले पनि माओवादी रूपान्तरण नभएको बताउँदै पोखरेलले त्यो उनीहरूको कमजोरी रहेको टिप्पणी गरे ।
नेपाली समाजलाई विभाजित गर्ने प्रवृत्ति विरुद्धको लडाइँमा पनि केपी ओली खरो रूपमा उएको पोखरेलले बताए । हिमाल, पहाड, तराई, कोही छैन पराई भन्ने मूल मन्त्रका साथ केपी ओली देशलाई जोड्ने काम गरेको पोखरेलले बताए ।
एमालले सञ्चालन गरेको समृद्धिका लागि सङ्कल्प यात्राले देशमा अस्थिरता मच्चाउने, धार्मिक, सामाजिक र सांस्कृतिक विभाजन गर्न खोज्नेलाई पाखा लगाएको उनले बताए । केपी ओलीको बोली र व्यवहारले सो कुरालाई पुष्टि गरेको पोखरेलको भनाइ छ ।
FACEBOOK COMMENTS