पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको घर बन्यो ‘उप कारागार’, श्रीमती सजाय काट्दै
कर्पोरट खबर
12:57 pm, बिहीबार, माघ १८, २०८०
इस्लामाबाद । भ्रष्टाचारको आरोपमा बुधबार आफ्ना श्रीमान्सँगै १४ वर्षको कारागार पर्नुभएकी पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी श्रीमती अधिकारीहरूले आफ्नो निवासलाई आधिकारिकरूपमा ‘उप कारागार’ घोषणा गरेपछि घरमै सजाय काटिरहेकी छन् ।
मुस्लिम आस्था चिकित्सक बुशरा बिबीले आफ्ना श्रीमान् प्रधानमन्त्री हुँदा प्राप्त विदेशी उपहारहरूको बिक्रीसँग सम्बन्धित मुद्दामा सजाय सुनाइएपछि तुरुन्तै बुधबार स्वयंलाई अधिकारीहरूसामु सुम्पिएकी थिइन्।
मुलुकका गोपनीय कुराहरू चुहाएको दोषी पाइएको मुद्दामा मङ्गलबार १० वर्षको कारागार सजाय पाएका पूर्वप्रधानमन्त्री खान अहिले पनि मुद्दा चलाइएको रावलपिन्डको अडियाला कारागारमा छन्। पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा उनको कानूनी टिमले सेनाको नेतृत्वमा स्थापित संस्थाले उनलाई आगामी साताको निर्वाचनमा सत्तामा फर्किनबाट रोक्नका लागि सजाय र असङ्ख्य अन्य आरोप लगाएको बताएका छन् ।
उनकी श्रीमती बिबीलाई अडियाला कारागारबाट इस्लामाबादको बाहिरी क्षेत्रमा रहेको उनको घरमा स्थानान्तरण गरिएको बुधबार राति सरकारले बताएको छ । “मुख्य आयुक्त, इस्लामाबाद क्यापिटल टेरिटोरीका दोषी श्रीमती बुशरा बिबीको निवासलाई सन् २०२४ जनवरी ३१ देखि अर्को आदेश नभएसम्मका लागि उप–कारागारका रूपमा घोषणा गर्न पाउँदा खुशी हुनुहुन्छ”, आदेशमा भनिएको छ ।
अग्लो कङ्क्रिटको पर्खालले घेरिएको ठूलो परिसरमा रहेको खानको घर राजधानीको आलिशान बानी गाला क्षेत्रमा छ ।
पहिला नै धाँधलीको आरोप लागिसकेको पाकिस्तानमा फेब्रुअरी ७ मा मतदान हुँदैछ । निर्वाचनमा खानलाई निर्वाचनमा उम्मेदवारी दिन रोक लगाइएको छ र उनको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) माथि ठूलो कारवाही गरिएको छ ।
गत वर्ष खानको पहिलो गिरफ्तारीपछि दङ्गा भड्किएपछि हजारौँ समर्थकलाई हिरासतमा लिइएको थियो र तीमध्ये करिब एक सय जनाले गुप्त सैन्य अदालतमा मुद्दाको प्रतीक्षा गरिरहेका थिए ।
बिबीले खानसँग सन् २०१८ मा विवाह गरेकी हुन्। अक्सफोर्डबाट शिक्षित खानले आफ्नो क्रिकेट खेल्ने दिनहरूमा प्लेब्वाइका रूपमा ख्याति कमाएका थिए । प्राय समाजका सुन्दरी र मोडेलहरूसँग उनको फोटो खिचिन्थ्यो । ब्रिटिश करोडपतिकी छोरी जेमिमा गोल्डस्मिथसँग उनको पहिलो विवाह सम्बन्धविच्छेदमा टुङ्गिएको छ ।
त्यसपछि उनले टेलिभिजन पत्रकार रेहम नैय्यरसँग विवाह गरे । एक वर्षभित्र सम्बन्धविच्छेद भएपछि नैय्यरले ‘किस–एन्ड–टेल’ संस्मरण प्रकाशित गरेकी थिइन् ।
FACEBOOK COMMENTS