काठमाडौं । सरकारविरुद्ध चर्को आलोचना हुन थालेको भन्दै बन्द गरिएको टिकटक नेपालमा पुन: चल्नसक्ने सम्भावना बढेको छ ।
नेपालको विद्यमान कानुन र सबै शर्तहरू मान्न टिकटक तयार भएसँगै यसले नेपालमा पुन: निरन्तरता पाउने सम्भावना बढेको हो ।
सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले टिकटक प्रतिबन्ध लगाएयता मात्रै टिकटकले सरकारलाई दुईवटा पत्र लेखेर प्रतिबन्ध फुकुवा गर्न अनुरोध गर्दै आएको छ । पछिल्लो समय नेपाल सरकारलाई प्राप्त पत्रमार्फत टिकटकले नेपालको कानुन र सबैखाले शर्त मान्न तयार रहेको प्रतिबद्धता जनाएको हो ।
हिजो आइतबार सरकारलाई प्राप्त पत्रमा टिकटकले पाँच बुँदे प्रतिबद्धता जनाएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जनाएको छ । यसअघि टिकटकले गत कात्तिक ३० गते नेपाल दूरसञ्चार प्राधिकरण र मंसिर २० गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेख्दै प्रतिबन्धको निर्णय फिर्ता लिन आग्रह गरेको थियो ।
आफ्नो निर्णयमा सरकार टसमस नभएपछि टिकटकले आइतबार पुन: अर्को पत्र लेखेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सम्बोधन गरी लेखिएको पत्रमार्फत टिकटकल नेपालले उठाउँदै आएका सरोकारलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।
सरकारले जारी गरेको सामाजिक सञ्जालसम्बन्धी निर्देशिकामा टिकटकलगायत सामाजिक सञ्जालका प्लेटफर्महरूले नेपालमा दर्ता गर्नुपर्ने, सम्पर्क कार्यालय खोल्नुपर्ने र सम्पर्क व्यक्ति तोक्नुपर्नेलगायत व्यवस्था छ । उक्त व्यवस्था मान्न टिकटक तयार देखिएको छ ।
उसले नेपालमा सरकारले टिकटक प्रतिबन्ध लगाउनुको कारणबारे पनि आफूहरू जानकार रहेको उल्लेख गर्दै नेपाल सरकारले देखाएको कारणलाई पनि सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यस्तै, आफ्नो प्लेटफर्ममा भएका कुनै पनि कन्टेन्टबारे नेपालको चासो वा सरोकार प्रत्यक्ष राख्न दिने र त्यसलाई सम्बोधन गर्न फोकल प्वाइन्ट (सम्पर्क बिन्दु) तोक्ने समेत टिकटकले बताएको छ ।
टिकटकमा नेपाली भाषा प्रयोग भएका कतिपय अश्लिल सामग्रीहरु प्रणालीले नचिन्दा फिल्टर नहुने समस्या रहेको पनि पत्रमा उल्लेख गरेको छ । यद्यपि ती समस्याहरूलाई सम्बोधन गर्दै अघि बढ्ने प्रतिबद्धता पत्रमार्फत जनाएको छ ।
FACEBOOK COMMENTS