काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । आइतबार राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।
उक्त प्रतिवेदनमा उल्लेख भएअनुसार लघुवित्त वित्तीय संस्थाहरुको संख्या मर्जर तथा एक्विजिसनका कारण घट्दो क्रममा रहेको देखिन्छ ।
२०७९ पुस मसान्तसम्ममा ६४ वटा लघुवित्त वित्तीय संस्थाहरु रहेकोमा २०८० पुस मसान्तसम्ममा ५७ वटा कायम भएको छ । ५७ वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये ३ वटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ५४ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरु रहेका छन् ।
थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०८० असारको तुलनामा १०.३२ प्रतिशतले ह्रास भई २०८० पुस मसान्तमा रू. ५४ अर्ब ८ करोड पुगेको छ ।
समीक्षा अवधिमा उक्त लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा तथा सापटीमध्ये निष्कृय कर्जा रु. १ अर्ब २२ करोड अर्थात २.२५ प्रतिशत रहेको छ । २०८० असार मसान्तमा निष्कृय कर्जाको अनुपात ०.७१ प्रतिशत रहेको थियो भने २०७९ पुस मसान्तमा यस्तो अनुपात ०.८७ प्रतिशत मात्र रहेको थियो ।
यो ६ महिनामा निष्क्रिय कर्जा १८५.६५ प्रतिशतले बढेको छ भने सक्रिय कर्जा ११.७१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा निष्क्रिय कर्जा १२१.०२ प्रतिशतले बढेको थियो भने सक्रिय कर्जा २.६९ प्रतिशतले बढेको थियो । २०८० पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक संस्थाहरुले पुनरतालिकिकरण गरेको कर्जा रकम रु २६ करोड रहेको छ ।
२०८० पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा रकममा वृद्धि भएको छ । खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०८० असारको तुलनामा ३.६६ प्रतिशतले बढेर २०८० पुस मसान्तमा रू.३ खर्ब ८५ अर्ब ५३ करोड पुगेको देखिन्छ । यसैगरी २०८० पुस मसान्तमा निष्क्रिय कर्जा रु.२८ अर्ब ८९ करोड अर्थात ७.४९ प्रतिशत रहेको छ । २०८० असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात ५.५२ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा निष्क्रिय कर्जाको वृद्धिदर ४०.७८ प्रतिशत छ। जुन गत आर्थिक वर्षको सोही अवधिमा ८२.६२ प्रतिशतले बढेको थियो । २०८० पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक संस्थाहरुले पुनरतालिकिकरण गरेको कर्जा रकम रु ४२ अर्ब १७ करोड रहेको छ ।
२०८० पुस मसान्तसम्ममा क्षेत्रगत कर्जा प्रवाहतर्फ लघुवित्त वित्तीय संस्थाहरुबाट कृषि क्षेत्रतर्फ कर्जा प्रवाहको हिस्सामा सामान्य वृद्वि भएको छ । लघुवित्त वित्तीय संस्थाहरुले २०८० पुस मसान्तमा प्रवाह गरेको कुल कर्जाको ४८.९२ प्रतिशत कृषि क्षेत्रमा प्रवाह भएको देखिन्छ । २०८० असार मसान्तमा कृषि क्षेत्रमा ४८.३२ प्रतिशत कर्जा प्रवाह भएको थियो ।
आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामध्ये घरेलु तथा लघु उद्योग क्षेत्रमा ४.४२ प्रतिशत र सेवा व्यवसाय क्षेत्रमा २५.९१ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ ।
पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जामा नोक्सानी व्यवस्थामा वृद्धि भएको छ । २०८० पुस मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा १९.३८ प्रतिशतले बढेर रु. २० अर्ब २२ करोड पुगेको छ । जसमध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा ३२.८९ प्रतिशतले वृद्वि भई रु. १४ अर्ब १७ करोड पुगेकोछ । अघिल्लो आर्थिक वर्षको दोस्रोत्रयमासमा कुल कर्जा नोक्सानी व्यवस्था रकम ३५.६२ प्रतिशत र निष्क्रिय कर्जा नोक्सानी व्यवस्था रकम ७०.२२ प्रतिशतले बढेको थियो।
२०८० पुस मसान्तमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको धितो कर्जा र लघु व्यवसाय कर्जाको अंशमा ह्रास आएको छ । पुस मसान्तमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको धितो कर्जासँग कुल कर्जा तथा सापटको अनुपात १९.७९ प्रतिशत रहेको छ । यस्तो अनुपात २०८० असार मसान्तमा २०.४८ प्रतिशत रहेको थियो ।
FACEBOOK COMMENTS