यही माघ १५ गतेदेखि १९ गते (फेब्रुअरी २९ देखि मार्चको २ तारिक) सम्म काठमाडौंको भृकुटीमण्डपमा सातौँ संस्करणको ‘नेपाल ल्याब एक्सपो, २०२४’ आयोजना हुँदैछ । नेपालमा प्रयोगशाला, वैज्ञानिक, विश्लेषणात्मक, अनुसन्धान र बायोटेक्नोलोजी क्षेत्रसम्बन्धी ज्ञान बाँड्ने उद्देश्यले यो एक्सपो आयोजना गरिँदै आएको एक्सपोका सह–आयोजक रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष भक्त हमालले जानकारी दिए ।
उनका अनुसार औषधि, अनुसन्धान र विकास, गुणस्तर नियन्त्रण, खाद्य प्रशोधन, शिक्षा, निदान, रसायन र सम्बन्धित क्षेत्रका आगन्तुकहरूको सहभागिता यो एक्सपोमा रहनेछ । २०० वटा स्टल रहने एक्सपोमा भारत, चीन, कोरिया र अन्य विभिन्न देशका उत्पादनका साथ प्रदर्शनकर्ताहरू नेपाल आउनेछन् । स्वास्थ्य क्षेत्रमा केही नयाँ गर्ने सोच राखेकाहरूले यो प्रदर्शनी अनिवार्यरूपमा हेर्नुपर्ने उनको भनाइ छ । आखिर यो एक्सपोमा के–के हुन्छन् र के–के गरिँदैछ त ? यसबारे कर्पोरेट खबरले संघका अध्यक्ष हमालसँग कुराकानी गरेको छ । प्रस्तुत छ, हमालसँगको कुराकानीको सम्पादित अंश–
‘नेपाल मेडिकल तथा ल्याव एक्स्पो, २०२४’ कहिले र कहाँ हुँदैछ ?
‘नेपाल मेडिकल तथा ल्याव एक्स्पो, २०२४’ फेब्रुअरी २९ देखि मार्चका २ तारिक अर्थात् यही माघ १५ गतेदेखि १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । यो एक्सपो हाम्रो संघ र इण्डियाको एसडी प्रोमो मिडियाको संयुक्त सहकार्यमा हुन लागेको हो । हामीले यो पटक गर्न लागेको एक्सपो सातौँ संस्करणको हो । यसअघि पनि नियमित रूपमा यो एक्सपो आयोजना गरेका थियौँ ।
एक्सपो आयोजना गर्नुको उद्देश्य के हो ?
यो एक्सपो आयोजना गर्नुको मुख्य उद्देश्य वा कारण देशभरिका स्वास्थ्य क्षेत्रमा कार्यरत सबै चिकित्सक र अस्पताल सञ्चालकहरूलाई नयाँ प्रविधि र प्रयोगबारे जानकारी दिनु हो । हिँजोका दिनमा मेडिकलसम्बन्धी विभिन्न इक्विपमेन्टहरू हेर्न र त्यसबारे जानकारी लिन विदेश जानुपर्दथ्यो भने अब यो प्रदर्शनीले नेपालमै त्यस्तो सेवा उपलब्ध गराएको छ । एक्सपोमार्फत आफूलाई चाहिएको सामानको टेक्नोलोजी र गुणस्तरबारे प्रत्यक्ष रूपमा राम्रोसँग अध्ययन गर्न सक्नुहुने छ । हाम्रो एक्सपोमा करिब २०० वटा स्टल रहनेछन् भने विदेशबाट समेत प्रदर्शकर्ताहरू आउनुहुनेछ ।
यसअघि यस्ता एक्सपो नहुँदा चिकित्सक र अस्पताल तथा मेडिकल सञ्चालकहरूलाई धेरै नै अफ्ठेरो थियो । क्याटलग हेरेर त्यसैको भरमा सामान झिकाउनुपथ्र्यो भने अहिले त्यस्तो बाध्यता छैन । उहाँहरूमा निकै उत्साह मैले देखेको छु । भृकुटीमण्डपमा मेडिकल शो हुँदैछ भनेपछि डेट सेट गरेर देशैभरबाट अवलोकनकर्ताहरू आउन थाल्नुभएको छ, वास्तवमा यो एउटा निकै ठूलो खुसीको कुरा हो ।
यो एक्सपोले बिक्री र कारोबारको कुनै लक्ष्य पनि राखेको छ ?
हामीले गर्ने कुनै पनि एक्सपो बिक्रीसँग लक्षित हुँदैनन् । यो नितान्त इन्फर्मेसन र नलेज शेयरिङ नै हो । डाइरेक्ट यहाँबाट कुनै पनि वस्तुको बिक्री गरिँदैन । प्रदर्शनीस्थलमा रहेका सामानहरूको डेमोस्ट्रेशन हुनेछन् । बरु यसले सम्बन्धित सरोकारवाला र कम्पनीको बीचमा पुलको काम भने अवश्य पनि गरेको हुन्छ । त्यसपछि कसैले किन्न चाहानुभयो भने पनि एक्सपोको अवधि सकिएपछि सम्बन्धित व्यक्ति र कम्पनीबीच कारोबार हुनसक्छ ।
एक्सपोका लक्षित वर्गहरू को–को हुन् ? टिकट र अन्य व्यवस्थाहरू के–के छन् ?
खास लक्षित वर्ग भनेको मेडिकल र स्वास्थ्यसँग सम्बन्धित व्यक्ति र संस्थाहरू हुनेछन् । यसका अलावा सबैले प्रवेश पाउनुहुने छ । हाम्रो एक्सपो भिजिट गर्नका लागि कुनै शुल्क तोकिएको छैन । तर, रजिष्ट्रेशन भने अनिवार्य गराउँछौँ त्यो पनि अनलाइनमार्फत । यो रजिष्ट्रेशनले हामीलाई हाम्रा भिजिटर्सहरूको वर्ग छुट्याउन मद्दत पुर्याउँछ ।
प्रदर्शनीबारे थप केही जानकारीहरू छन् ?
मेडिकल तथा स्वास्थ्यको क्षेत्रमा औषधिपछि सेक्टर कभर गर्ने क्षेत्र रसायन तथा मेडिकल आपूर्ति संघ हो । औषधिसम्बन्धी हरेक दुई वर्षमा नेपाल औषधि उत्पादक संघ (एपोन)ले ‘फर्मा एक्सपो’ गर्दै आएको छ । हामीलेचाहिँ ल्याव, मेडिकल टेक्नोलोजी, रेडियोलोजी, डर्माटोलोजीका कुराहरूलगायत सबै कभर गर्ने गरेका छौँ । त्यसैले यहाँ २०० भन्दा बढी स्टलको व्यवस्था गरिएको छ । त्यसमध्ये १०० वटा भन्दा बढी भारतका रहने छन् भने बाँकी नेपालसहित चीन र कोरियालगायत देशहरूका रहने छन् । त्यसकारण सम्बन्धित र सरोकारवालाहरूलाई भिजिटका लागि हार्दिक अनुरोध गर्दछु । साथै, स्वास्थ्य क्षेत्रमा केही नयाँ गर्ने सोच राख्नुभएकाहरूले त नआइ हुँदैन भन्न चाहान्छु ।
भिडिओ हेर्नुहोस्–
प्रस्तुति : ङिमु शेर्पा
FACEBOOK COMMENTS