काठमाडौं । स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अभ्यास अनुगमनका क्रममा आज ३ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाइएको छ । महाराजगञ्ज-बसुन्धरा-सामाखुशी क्षेत्रमा सञ्चालित चिरायु, विपी स्मृति अस्पताल र कान्तिपुर डेन्टल अस्पतालको फोहोर संकलनमा रोक लगाइएको हो ।
अवस्थाका बारेमा जानकारी दिँदै वातावरण व्यवस्थापन विभागकी वरिष्ठ इञ्जिनियर निशा कोइरालाले भने, ‘स्रोतमा फोहोर वर्गीकरण, वर्गीकरण भएको फोहोर ढुवानी, भण्डार कक्ष र निर्मलीकरण प्रविधि हेरेका थियौँ । यसमध्ये पनि संक्रमित फोहोरलाई निर्मलीकरण गर्ने विधिलाई महत्वका साथ हेरेका थियौँ । आज हेरिएका ३ वटै अस्पतालमा फोहोर निर्मलीकरण गर्न अटोक्लेभ वा अन्य कुनै विधिको प्रयोग नदेखिएकोले फोहोर संकलनमा रोक लगाएका हौँ ।’
आजसम्ममा २७ वटा अस्पतालमा फोहोर व्यवस्थापन आचरणको अनुगमन भइसकेको छ । यसक्रममा यसअघि नै एउटा सरकारी र ४ वटा निजी गरी ५ वटा अस्पतालहरुको फोहोर संकलनमा रोक लगाइ सकिएको छ । यसमा आज ३ वटा थप भएका हुन् । तीन वटामध्ये पनि विपी स्मृति अस्पतालको अभ्यास धेरै कमजोर छ ।
फोहोर वर्गीकरणका लागि राखिएका बाल्टिनमा मिश्रित फोहोर भेटियो । अस्पतालले फोहोर व्यवस्थापनका लागि छुट्टै जनशक्तिको व्यवस्था गरेको वा कसैलाई थप जिम्मेवारी दिएको भेटिएन । अभिलेख त परको कुरा । रंग संकेतका बारेमा अस्पतालका कसैमा सचेतना वा जानकारी भएको देखिएन । महाराजगञ्ज कान्ति बाल अस्पतालबाट ओरालो झर्दै चक्रपथतर्फ लाग्दा राजमार्ग नपुग्दै यो अस्पतालमा पुगिन्छ ।
यो अस्पतालबाट सामाखुशीतर्फ करिब आधा किलोमिटरमा कान्तिपुर डेन्टल अस्पताल छ । यो अस्पतालमा १५० वटा डेन्टल चेयर र १ सय वटा वेड छन् । यो काठमाडौँ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त शिक्षण अस्पताल पनि हो ।
बसुन्धरामा रहेको चिरायु अस्पतालमा फोहोर वर्गीकरणका लागि छुट्टाछुट्टै बकेट राखिएका छन् । स्रोतमा फोहोर वर्गीकरण गर्ने प्रयास थालिएको छ । नर्सिङ् ट्रलीमा ८ वटा बकेट हुनु पर्नेमा २ वटा मात्र देखिए । यसरी अनुगमन गरिएका अस्पतालहरुमा अटोक्लेभ सञ्चालन नभएको पाइएपछि फोहोर संकलनमा रोक लगाइएको हो ।
फोहोरलाई स्रोतमा वर्गीकरण नगर्नु, वर्गीकरण गरिएको फोहोरको सुरक्षित ढुवानी नहुनु, ढुवानी गरेर भण्डारण कक्षमा लगेपछि जोखिमयुक्त फोहोर वर्गीकरण गर्न थाल्नु, जोखिमयुक्त फोहोर निर्मलीकरण गरेपछि वर्गीकरण नगर्नु, प्रकृति अनुसार भण्डारण उपयुक्त नहुनु, निर्मलीकरणका साधन तथा उपकरण नहुनु, भएकाहरुको पनि उपयुक्त प्रयोग नहुनु अस्पतालहरुमा देखिएका फोहोर व्यवस्थापनका साझा समस्या हुन् । समीक्षामा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी गराए ।
FACEBOOK COMMENTS