नेपाल औषधि उत्पादक संघ (एपोन)ले भोलि (फागुन २५ गते) देखि चितवनको भरतपुरमा नवौँ संस्करणको प्रदर्शनी ‘नेपाल फर्मा एक्स्पोे, २०२४’ आयोजना गर्दैछ । ‘नेपालमा फर्मा उद्योगको दीगोपन र वृद्धिमा अगुवाई’ नाराका साथ फागुन २७ गतेसम्म आयोजना हुने एक्स्पोेमा नेपालसहित भारत, चीन, सिंगापुर र बंगलादेशलगायतबाट १५० भन्दा बढी स्टल बुक गरी विभिन्न कम्पनीहरू सहभागी हुँदैछन् । यस्तै, औषधि उद्योगीहरू, अनुसन्धानकर्ताहरू, चिकित्सकहरू र कम्पनीहरूको समेत सहभागिता रहने एक्स्पोेमा सहभागीहरूलाई नवीनतम आविष्कार, प्रविधिहरू र उत्पादनहरूबारे जानकारी दिने मुख्य उद्देश्य छ । हेल्थकेयर प्रोफेसन (चिकित्सक) हरूका लागि महत्वपूर्ण सावित हुने एक्स्पोका सन्दर्भमा आयोजक संस्था नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रसाद प्रधानसँग कर्पोरेट खबरले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, औषधि उत्पादक कम्पनी ओम्निका ल्याबोराटोरिजका प्रबन्ध निर्देशक समेत रहेका प्रधानसँग गरिएको कुराकानीको सम्पादित अंश–
नेपाल औषधि उत्पादक संघले कुन् उद्देश्यका साथ ‘नेपाल फर्मा एक्स्पोे, २०२४’ आयोजना गर्दैछ ?
कुनै पनि देशमा कुनै पनि उद्योगको विकास गर्नका निम्ति सबै भन्दा पहिला ज्ञान भित्र्याउनुपर्छ । त्यो ज्ञानलाई हामीले सीपमा रूपान्तरण गर्न सक्नुपर्दछ । रूपान्तरित ज्ञान र सीपलाई हामीले अभ्यास गर्यौँ भने मात्र त्यो देशमा उद्यमको विकास हुन्छ । यही भनाइको सिकाइबाट औषधि विज्ञहरूबाट औषधि कसरी बन्छ, औषधि कुन अवस्थामा बन्छ भनेर जान्नका निम्ति यो एक्स्पो आयोजना गरिन लागिएको हो । औषधि बनाउने विज्ञहरू विदेशबाट समेत बोलाएर तपाइँहरूले अहिलेसम्म पाउनुभएको अनुभवहरू के–के हुन् हाम्रो नेपाली औषधि विज्ञहरू र उत्पादकहरूलाई पनि सिकाइदिनुहोस् भन्नका लागि यो एक्स्पोे आयोजना गर्न लागेका हौँ ।
एक्स्पोेमा विभिन्न प्रोग्राम र ट्रेनिङहरू पनि हुनेछन् । सँगसँगै यी–यी औषधि बनाउने मेसिनहरू यस्ता–यस्ता छन् र यसलाई यसरी प्रयोग गरिन्छ । यो–यो नयाँ मेसिन र यो–यो नयाँ प्रविधि आएका छन् जसले तपाइँको समय बचाउँछ र एक्युरेसी दिन्छ । यी चिजलाई चलाउनका निम्ति यी–यी उपकरणहरू छन् र यी–यी केमेस्ट्रीका रसायनहरू नयाँ आएका छन्, यसलाई यसरी परीक्षण गर्न सकिन्छ भन्ने जुन विधि हो त्यो सबै छर्लङ्ग देख्न पाउनाका निम्ति अथवा नेपालका ती विज्ञहरूले बाहिर गएर धेरै पैसा तिरेर सिक्नु भन्दा यहीँ सिक्न पाउन् र नेपाली जनताले पनि नेपालमा औषधि कसरी बन्दोरहेछ भनेर देख्न पाउन् भनेर पनि एक्स्पो आयोजना गरिएको हो । यसैगरी, डाक्टर र स्वास्थ्यकर्मी वर्गले पनि नेपालमा औषधि यसरी बन्दोरहेछ भनेर हेर्न पाउन् भन्ने उद्देश्यले यो एक्स्पोे आयोजना गर्न लागिरहेका छौँ । यसलाई हामीले विगतदेखि निरन्तरता दिँदै आएका छौँ र यो नवौँ संस्करण हो ।
एक्स्पोमा आउने लक्षित वर्गहरू को–को हुन् ?
एक्स्पोे भिजिटका लागि हामीले सबैलाई ओपन गरेका छौँ । लक्षित वर्गहरूको कुरा गर्दा नेपालमा फर्माक्लोजीकल कलेजहरू धेरै छन् । ती कलेजहरूमा थ्योरिटीकल क्लास हुन्छ र सानो–सानो मेसिन राखेर एक्सपेरिमेन्टहरू भइरहेका छन् । उनीहरूले त्यो विशाल मेसिनहरू देखेका हुँदैनन् । त्यो विशाल मेसिन अहिले हामी यो एक्स्पोेमा राख्छौँ । म्यानुफ्याक्चरहरूले ती मेसिनहरूलाई चलाएर देखाउँछन् । त्यसका लागि कस्तो वातावरण, कस्तो सम्मीश्रण र कस्तो केमिकल चाहिन्छ भन्नेबारे जानकारी दिन्छन् । जसले ती विद्यार्थीहरूलाई पनि मैले राम्रो कुरा पढिरहेको रहेछु भन्ने अनुभूति गराउँछ । त्यसकारण उहाँहरूले यो एक्स्पोे भिजिट गर्नुपर्छ । त्यस्तै, नेपालका फर्मासिष्टहरू जसले काम गरिरहनुभएको छ, तर हरेक वर्ष केमेष्ट्रीमा हुने लाखौँ नयाँ रिसर्चहरूबारे थाहा भइरहेका हुँदैनन् । त्यो सबै सिक्न र जान्न चाहानेहरू पनि हाम्रा लक्षित वर्ग हुन् । जसका लागि हामी केही विज्ञहरूलाई बोलाएर स्पेसल कक्षा समेत सञ्चालन गर्दैछौँ ।
यस्तै, केमिष्टहरू पनि हाम्रा लक्षित वर्ग हुन् । एनालाइसिसमा धेरैजसो केमिष्टहरू हुन्छन् । ती एमएससी पढिसक्नुभएकाहरूले कहाँ गएर सिक्ने त ? उहाँहरू पनि एक्स्पोेमा आउन सक्नुहुनेछ । अर्थात् स्वास्थ्य र औषधिको क्षेत्रकासहित सबै सरोकारवाला र आम सर्वसाधारण यो एक्स्पोका लक्षित वर्ग हुनुहुन्छ ।
एक्स्पोेमा कतिवटा स्टल रहन्छन् र कस्ता–कस्ता प्रडक्टहरू प्रदर्शनी गरिँदैछ ?
हाम्रो एक्स्पोेमा ३/३ मिटरको स्पेस भएका ३०० भन्दा बढी स्टल निर्माण गरिएका छन् । तर, ठूला–ठूला मेसिनहरू डिस्प्लेका लागि ती स्पेसहरू अपुग हुने भएकाले कतिपय ३–४ वटै स्टलहरू एउटै बनाइएका छन् भने कसैले एउटा कम्प्युटर मात्रै राखेर आफ्नो व्यवसाय प्रवर्द्धन गर्नुहुने भएकाले स्टलको संख्या यकिन हुने अवस्था रहेन ।
प्रडक्ट प्रदर्शनीको कुरा गर्दा, एक्स्पोेमा नेपाली कम्पनीहरूले उत्पादन गरेका औषधिहरूको डेमोस्ट्रेशन गरिन्छ जहाँ डाक्टरवर्ग आएर अवलोकन गर्न सक्नुहुनेछ । यस्तै, भारत, बंगलादेश र चीनमा उत्पादन हुने औषधि बनाउने मेसिनहरूको डेमोस्ट्रेशन गरिन्छ । ती मेसिन सञ्चालन गर्ने म्यानपावरका निम्ति विभिन्न क्लासहरू सञ्चालन गरिन्छ । ती मेसिन चलाउने धेरै प्रकारका उपकरणहरू हुन्छन् । ती उपकरणहरू पनि त्यहाँ डेमोस्ट्रेशन गरिन्छ । दिनप्रतिदिति थप रिफाइन भएर आउने कयौँ प्रकारका केमिकलहरूबारे ज्ञान यो एक्स्पोेले दिन्छ । यसैगरी, कच्चा पदार्थ उत्पादक कम्पनीका प्रतिनिधिहरू पनि एक्स्पोेमा आउनुहुनेछ । उहाँहरूसँग पनि आवश्यक विभिन्न जानकारी लिन सकिनेछ ।
एक्स्पोेमा प्रदर्शन गरिने अधिकांश मेसिन र अन्य उपकरणहरू विदेशबाट आउँछ भन्नुभयो । प्रदर्शनी सकिएपछि ती सामग्रीहरू फिर्ता जान्छन् कि नेपालमै रहन्छन् ?
सबै सामानहरू अर्डर गर्न हामीलाई मन छ तर सकिदैन । किनभने हामीकहाँ हरेक दुई वर्षमा एउटा एक्स्पोे हुन्छ । हरेक दुई वर्षमा हरेक सामान हामी किन्न पनि सक्दैनौँ । कयौँ मेसिन किनिसकेका छौँ, तर हामीलाई चाहिएको वा हामीले पहिला नकिनेको अथवा किनेको तर त्यसमा कुनै थप गर्नुपर्ने छ भने मात्रै त्यो मेसिनलाई हामी अर्डर गर्छौँ । अर्डर गर्दा यसरी गर्दछौँ कि हाम्रो एक्स्पोेको समयमा ठ्याक्क नारायणघाट आइपुगोस् । प्रदर्शनीपछि यदि उक्त मेसिन कसैले अर्डर गर्नुभएको थियो भने सम्बन्धित व्यक्ति वा उद्योगले लैजानुहुन्छ भने कसैले अर्डर नगरेको अवस्थामा फिर्ता जान्छ ।
प्रदर्शनी अवलोकनका लागि कति शुल्क तय गर्नुभएको छ ?
यो ज्ञान र सीप बाँड्ने महामेला भएका कारण हामी कुनै पनि शुल्क लिँदैनौँ । विशेषगरी स्वास्थ्यकर्मी र स्वास्थ्य व्यवसायीहरूका लागि मेला फलदायी र उपयोगी हुने विश्वास हामीले गरेका छौँ । धेरै मेहनतबाट यो मेला सम्भव भएको हो । भरपुर लाभ लिन सरोकारवाला र आम सर्वसाधारण सबैमा हार्दिक अनुरोध गर्दछौँ ।
यो एक्स्पोे चितवनमै गर्नाको कारण के हो ?
काठमाडौंमा हामीले सातवटा गरिसकेका छौँ । यो नवौँ संस्करणको एक्स्पोे हो । पछिल्लो समय हाम्रा लक्षित वर्ग काठमाडौं उपत्यकाबाहिर पनि हुने र सधैं उहाँहरूलाई काठमाडौं आउन असहज हुने भएकाले बाहिर आयोजना गर्न थालेका हौँ । गत एक्स्पोेको समयमा वीरगञ्ज र बुटवलमा प्रयत्न गरेका थियौँ । तर, त्यसबेला उचित हल पाइएन/थिएन । खोज्दै जाँदा भरतपुरमा राम्रो बनाइएको पाइयो । तीनवटा ठूला–ठूला हल इन्टरकनेक्टेड भएको, पर्याप्त पार्किङ र फराकिलो ठाउँ, एड्मिनिष्ट्रेशनका लागि छुट्टै हलहरू भएका कारण चितवनको नारायणघाटमा गरियो र यो वर्ष पनि त्यहीँ आयोजना गर्न लागिएको हो ।
अर्को कुरा, नारायणघाट यस्तो ठाउँ पर्यो प्रदर्शनकर्तालाई वीरगञ्जबाट आउँदा पनि ठूला मेसिनहरू ल्याउन सजिलो हुने काठमाडौं ल्याइरहनन नपर्ने र भैरहवा नाकातिरबाट आउँदा पनि बीचमा पर्यो काठमाडौं आइरहन परेन । यसो गर्दा उहाँहरूको पनि कष्ट बच्ने भयो । किनभने एउटै मेसिन ढुवानीको लाखौँ रूपैयाँ खर्च लाग्छ । २० वटा मेसिन ढुवानीको कष्ट मात्रै बच्दा पनि करोड बच्ने कोणबाट पनि यो एक्स्पोे चितवनमा गर्न लागिएको हो । यद्यपि, हामी अर्को एक्स्पोेदेखि उपत्यकाबाहिरका नयाँ ठाउँमा जानेछौँ । सबै ठाउँ र क्षेत्रमा यो एक्स्पोे आयोजना गर्न पाउँ भन्ने हाम्रो उत्कट चाहाना पनि छ ।
FACEBOOK COMMENTS