काठमाडौँ । चालु आर्थिक वर्षको ७ महिनामा ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिटयन्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म विप्रेषण आप्रवाह २१ दशमलव ६ प्रतिशतले वृद्धि भई ८ खर्ब ३९ अर्ब पुगेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह २७ दशमलव १ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९ दशमलव १ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६ दशमलव ४ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ४७ हजार १२ र पुन: श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ५८ हजार ५४० रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमश: ३ लाख १४ हजार ७६७ / १ लाख ६७ हजार ७०८ रहेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २० दशमलव ० प्रतिशतले वृद्धि भई रु ९ खर्ब १० अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २५ दशमलव २ प्रतिशतले बढेको थियो ।
FACEBOOK COMMENTS