काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आम सेवाग्राहीलाई सर्वसुलभ सेवा प्रवाह गर्नुपर्ने सम्बन्धमा नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले प्रकट गरेको चासो र चिन्ता सकारात्मक भएको बताएका छन् ।
आज बिहीबार नवनियुक्त मन्त्री महासेठलाई भेट्न मन्त्रालयमै पुगेको नाडा अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले दिएको सुझाव ग्रहण गर्दै मन्त्री महासेठले नाडाले उठाएको चासो र चिन्ता समसामयिक रहेकाले जतिसक्दो छिटो सम्बोधन समेत गरिने बताएका हुन् ।
यस्तै, उनले सवारी साधनहरूको सीसीको आधारमा इम्बोष्ड नम्बरप्लेट जारी गर्न सकिने, मोटरसाइकलको वर्गीकरण सीसीको आधारमा गर्न सकिने र सवारी साधनहरूका लागि पार्किङ्गको सुविधा सम्बन्धित वडा कार्यालयहरूले गर्ने स्पष्ट गरे । यसैगरी, प्रदेश तहका समस्याहरु छन् भने प्रदेश सरकारलाई पनि यस्ता खाले सुझाव दिन मन्त्री महासेठले सुझाव दिएका छन् ।
सेवाग्राहीलाई सुविधा दिनुपर्ने विषयमा विशेष चासो राख्दै नाडाले राखेका उक्त सुझावहरुका सम्बन्धमा आवश्यक पहल गरिने आश्वासन समेत उनले दिएका छन् ।
मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा विभागका अन्य अधिकारीहरु समेतको उपस्थिति रहेको उक्त छलफलमा नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ समेतको उपस्थिति थियो ।
त्यसअघि नाडाले नेपालको अटो क्षेत्रको सुधारका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलसमक्ष २६ बुँदे सुझाव पेश गरेको थियो । भेटका अवसरमा अध्यक्ष चौधरीले सो मन्त्रालयसँग सम्बन्धित नाडाको २६ बुँदे सुझावहरू पेस गर्दै त्यसको समुचित सम्बोधन र समाधानका लागि आग्रह समेत गरेका थिए ।
यस्ता छन् मन्त्रालयलाई नाडाका सुझावहरू–
१. सडक मर्मत सम्भार दस्तुर
२. सवारी साधन कर
३. सवारी साधनहरु सडकमा गुडेपछि मात्र सवारी कर लाग्ने व्यवस्था
४. अटोमोवाइल कम्पनीहरुको दर्ता प्रक्रिया
५. इम्बोष्ड नम्बर सवारी साधनहरुमा अनिवार्य लागू गर्ने
६. दुईपांग्रे सवारी साधनहरुलाई अत्यावश्यकीय सवारी साधनको रुपमा लिनु पर्ने
७. सवारी साधन कर तिर्ने व्यवस्था सहज हुनुपर्ने
८. नामसारी
९. करहरुको भुक्तानी अनलाइनमार्फत गर्ने प्रणाली हुनु पर्ने
१०. जरीवानाको दायरा
११. सरुवा सहमति
१२. सवारी साधन पैठारीकर्ताहरुका लागि छुट्टै डेस्कको स्थापना
१३. सेवाग्राहीलाई सुविधा
१४. रसिदमा एकरुपता हुनुपर्ने
१५. मोटरसाइकल प्रयोगकर्ता दुवैले हेलमेट लगाउनुपर्ने
१६. लाइसेन्स वितरण सहज हुनुपर्ने
१७. दुईपांगे्र सवारी साधनहरुको वर्गीकरण
१८. सहजीकरणको भूमिका निर्वाह
१९. उच्चस्तरका सवारी साधनहरुको लागि हरियो स्टिकर दिने प्रक्रिया
२०. पार्किङस्थलको अभाव
२१. विशेष आर्थिकक्षेत्र वा औद्योगिक ग्रामको निर्माण
२२. चार्जिङ्ग स्टेशनको निर्माण र विद्युतीय सवारी साधनको व्यवस्था
२३. सवारी चालक तालिमको व्यवस्था
२४. अटोमोवाइल वर्कशपहरुमा रोजगारीको व्यवस्था
२५. अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण
२६. सिमेण्ट मिक्स्चरको काम गर्ने सवारी साधन (Transit Mixture)को आयात
नाडाले भौतिक पूर्वाधारमन्त्री महासेठलाई दियो २६ बुँदे सुझाव, अटो क्षेत्र सुधार्न के–के गर्नुपर्छ ?
FACEBOOK COMMENTS