काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सशस्त्र प्रहरी बललाई विभिन्न ५ बुँदे निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी बलको निरीक्षण भ्रमण तथा वरिष्ठ अधिकृत सम्मेलनको उद्घाटन गर्दै यस्तो निर्देशन दिएका हुन् । लामिछानेले कानूनले निर्दिष्ट गरेको काम गर्न आदेश नपर्खिन, कार्य सम्पादनपछि प्रतिवेदन पेश गर्न, कानून कार्यान्वयनमा ढिलासुस्ती, जिम्मेवारी बहनमा आलटाल र नागरिकलाई दुःख(हैरानी दिनेलाई पनि कानून लाग्छ भन्ने ख्याल गर्न निर्देशन दिएका छन् ।
गैर व्यवसायिक आचरण कुनै पनि हालतमा क्षम्य नहुने भन्दै संगठनभित्र त्यस्ता आचरण गर्नेलाई बचाउने प्रयास भयो वा बेलैमा कारबाहीको भागिदार बनाइएन भने कमाण्डरविरुद्ध नै ‘एक्सन’ हुने, गैर व्यवसायिक आचरण गर्ने साना(ठूला सबै प्रहरीलाई समान व्यवहार गर्न निर्देशन दिएका छन् ।
कार्यक्षमता मूल्यांकनका आधारमा पदोन्नती र जिम्मेवारी निर्धारण गर्ने, सरुवा बढुवा वा जिम्मेवारी निर्धारणमा कतैबाट दबाब वा प्रभाव पार्ने, अनुचित चलखेल गर्ने र व्यवसायिक प्रतिस्पर्धाभन्दा अन्य उपायको खोजी गर्नेलाई कडा कारबाही गर्न निर्देशन दिएका छन् ।
अनुचित दबाब र प्रभावमा परेर स्वार्थका लागि पेशागत मर्यादा बर्खिलाप जाने, सन्दीग्ध गतिविधि गर्ने, अवाञ्छित तत्व, आरोपित वा अभियुक्तसँग सम्बन्ध राख्ने र संगठनको अनुशासन उलंघन हुने गतिविधिमा संलग्न उपर निर्मम व्यवहार गर्ने र सशस्त्र प्रहरी बल हिजोसम्म कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी चाहिँ नचल्ने भन्दै कानून पालना गराउने पूर्णअधिकार प्रयोग गर्न आग्रह गर्दै कानूनभन्दा माथि निर्देशन हुन सक्दैन भन्दै गम्भीरतापूर्वक ख्याल गर्न निर्देशन दिएका छन् ।
FACEBOOK COMMENTS