काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश प्रमुखको निवासमा आज आयोजित एक कार्यक्रमबीच मन्त्री गुरुङलाई पद तथा गोपनीयताको शपथग्रहण गराए ।
मनाङबाट प्रदेशसभा सदस्यमा स्वतन्त्र चुनाव निर्वाचित भएपछि नेकपा एकीकृत समाजवादी प्रवेश गरेका गुरुङले आइतबार उक्त पार्टी परित्याग गरेको प्रदेशसभा सचिवालयमा जानकारी गराए ।
शपथपछि मन्त्री गुरुङले चुनावपछिको एक वर्षसम्म आफू आराम गरेर बसेको जनाउँदै अबको चार वर्ष राजनीति गर्ने बताए । केन्द्रमा जे समस्या आएर गठबन्धन फेरिए पनि त्यसको असर प्रदेशमा पर्न नहुने उल्लेख गर्दै उनले आफू अहिले सरकारमा नजाँदा गण्डकी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना रहेको र चुनावमा जाँदा खर्च धेरै हुने बताए । आफूले मध्यावधिमा जान नदिने र गएछ भने चुनाव पनि नलड्ने उनको भनाइ छ ।
सरकारको ७० प्रतिशतभन्दा बढी बजेट भौतिक पूर्वाधार मन्त्रालयमा हुने र भ्रष्टाचार पनि धेरै हुने भएकाले त्यसको नियन्त्रणका लागि आफूले उक्त मन्त्रालय रोजेको उनको भनाइ छ । विकास त्यतिकै भइहाल्ने जनाउँदै उनले भ्रष्टाचार रोक्नुपर्ने आवश्यकता औँल्याए ।
FACEBOOK COMMENTS