काठमाडौँ । बुक बिल्डिङ्ग विधिबाट आईपीओ निष्कासन गरेको सर्वोत्तम सिमेन्टको सेयर मूलयमा मंगलबार सकारात्मक सर्किट लागेको छ । मंगलबार कारोबार खुला भएलगत्तै कम्पनीको सेयर मूलयमा सर्किट लागेको हो ।
सर्वोत्तम सिमेन्टको सेयर नेप्सेले दिएको अधिकतम कारोबार रेञ्ज ५५६ रुपैयाँमा मंगलबार खुला भएको थियो । नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १८५ रुपैयाँ ३६ पैसादेखि अधिकतम ५५६ रुपैयाँ ८ पैसासम्म तोकेको थियो । त्यसको केही बेरमै कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात ५५ रुपैयाँ ६० पैसाले बढेर ६११ रुपैयाँ ६० पैसामा कारोबार भइरहेको छ ।
कम्पनीको मूल्य १० प्रतिशत मूल्य बढेपछि पनि नेप्सेको मार्केट डेप्थमा बिक्रेताको संख्या शुन्य रहेको छ । सेयर खरिद गर्नेको भने लर्को नै देखिन्छ । कारोबार खुलेको एक घण्टा अवधिमा कम्पनीको सेयर सर्किट मूल्यमा मात्रै ४ हजार ८९० ओटा आदेश मार्फत १९ लाख ५३ हजार २७३ कित्ताको खरिद माग रहेको छ । यस अवधिमा कम्पनीको १ हजार ४८० कित्ता सेयर ८ लाख ९२ हजार १८६ रुपैयाँमा खरिद बिक्री भएको छ ।
बुक विल्डिङ विधिमार्फत आइपीओ निष्कासन गरेको सर्वोत्तम सिमेन्टको सेयर कारोबार मंगलबारदेखि सुरु भएको हो । नेप्सेमा ‘एसएआरबीटीएम’ संकेतमा सर्वोत्तमको नियमित कारोबार सुरु भएको छ ।
सर्वोत्तमको चुक्ता पुँजीका आधारमा कायम ४ करोड ६५ लाख कित्ता सेयर सोमबार नेप्सेमा सूचीकरण भएको थियो ।
FACEBOOK COMMENTS