सन् १९९२ देखि उद्योग क्षेत्रमा क्रियाशील रहँदै आएका आरएमसी ग्रुपका कार्यकारी निर्देशक राजेश कुमार अग्रवाल पछिल्लो समय विशुद्ध उद्योगीहरूको छाता संस्था नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष छन् । नेपाली उद्योग व्यवसाय क्षेत्रको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका उनी डेढ दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजस्व समिति सभापति एवम् विभिन्न समितिमा रहेर काम गरिसकेका छन् । रोजगारदाता परिषद् संयोजक भई २०७४ सालदेखि परिसंघको उपाध्यक्ष रहेका उनी गत असारमा स्वत: अध्यक्ष बनेका हुन् ।
उद्योग व्यवसाय क्षेत्रको लामो अनुभव तथा विज्ञताले परिसंघलाई थप गतिशील बनाउँदै देशको अर्थतन्त्र सुधारका लागि उनले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । उनी कार्यकारी निर्देशक रहेको आरएमसी ग्रुप, सिमेन्ट, स्टिल र खाद्यलगायत क्षेत्रमा आवद्ध छ । तर, पछिल्लो समय देश अर्थतन्त्रको सङ्कटबाट गुज्रिरहेको छ । विद्यमान परिस्थितिमा उद्योग र उद्योगीहरूको अवस्था कस्तो छ, उनीहरूले कसरी काम गरिरहेका छन् र अब समाधान कसरी खोज्न सकिन्छलगायत विषयवस्तुलाई केन्द्रित गरी कर्पोरेट खबरले अग्रवालसँग विशेष कुराकानी गरेको छ । प्रस्तुत छ, सीएनआईका अध्यक्ष अग्रवालसँग कर्पोरेट खबरका कार्यकारी सम्पादक ज्योति जीसीले गरेको कुराकानीको सम्पादित अंश–
उद्योग व्यवसायसँग सम्बन्धित अन्य थुप्रै संघसंगठनहरू छन् । यो नेपाल उद्योग परिसंघ (सीएनआई) कस्तो संस्था हो र यसले के–के गर्छ ?
नेपाल उद्योग परिसंघ विशुद्ध उद्योगीहरूको छाता संस्था हो । तपाइँले भन्नुभएजस्तो उद्योग व्यवसायसँग सम्बन्धित अन्य संस्थाहरू पनि छन् । त्यहाँ उद्योग गर्ने, टे«डिङ गर्ने र आयात गर्नेलगायत सबै व्यवसायीहरू जोडिएका हुन्छन् । तर, सीएनआईमा विशुद्ध उद्योगीहरू मात्रै समावेश हुनुहुन्छ । उद्योगीहरूको समस्या ओझेलमा पर्दै गएको महसुस गरी हामीले यो संस्था निर्माण गरेका हौँ । परिसंघका सदस्यहरू सेवा र उत्पादनलगायत सबै प्रकारका उद्योगीमात्रै हुनुहुन्छ ।
सीएनआईले कामचाहिँ के–के गर्दै आएको छ ?
परिसंघले खासगरी नेपालमा उत्पादनमुलक क्षेत्रको विकास गर्नुपर्छ र आयात प्रतिस्थापनमा केन्द्रित गर्नुपर्छ भन्ने उद्देश्य अनुसार काम गरिरहेको छ । त्यसकारण हाम्रा उद्योगका इस्युहरू नेपालमा उत्पादन कसरी बढाउन सकिन्छ र म्यानुफेस्टिङ उद्योगहरूको ग्रोथ कसरी हुनसक्छ भन्ने विषयमा सरकारसँग लविङ गरेर काम गरिरहेको छ ।
अहिले मुलुकको अर्थतन्त्र समस्याग्रस्त अवस्थामा छ । यसलाई सुधार गर्न सीएनआईले के–कस्ता पहल गरिरहेको छ ?
अर्थतन्त्र नै समस्यामा परेपछि उद्योगीहरू पनि स्वाभाविक रूपमा समस्यामा छन् । अर्थतन्त्रको समस्याबाट उद्योगीहरू मात्र नभइ अरु कुनै पनि क्षेत्र अछुतो रहन सकेको छैन । अर्थात् उद्योगी–व्यवसायी मात्र नभइ आम सर्वसाधारण नागरिकमा समेत यसको प्रभाव स्पष्ट देखिएको छ र उहाँहरू पनि समस्यामा हुनुहुन्छ । यस्तो अवस्थामा हामी उद्योगीहरूको मूल समस्या भनेको उत्पादित वस्तु तथा सेवाको माग घट्नु हो । माग घटेपछि अहिले उद्योगहरू ३०–४० प्रतिशतको हाराहारीमा मात्रै चलिरहेका छन् । तर, खर्च र ऋणको ब्याज भने बढिरहेका छन् । यसले हामी उद्योगीहरूलाई अत्यन्तै समस्यामा पारेको छ ।
अर्थतन्त्रमा समस्या आउनुको मुख्य कारण रुस–युक्रेन युद्ध र कोभिड–१९ बाट गुज्रनु, विदेशी मुद्रा सञ्चितिका लागि कतिपय आयात प्रतिबन्ध गरिनु, जग्गाको कित्ताकाट रोकिनुलगायतलाई मानिएको छ । उद्योगीहरूको नजरमाचाहिँ कुन कारणले अर्थतन्त्र सङ्कटमा पर्यो ?
विश्वव्यापीकरणको आजको दुनियाँमा अन्तर्राष्ट्रिय रूपमा हुने कुनै पनि गतिविधिको प्रभाव हामीकहाँ पनि पर्नु स्वाभाविक कुरा हो । कोभिड–१९ को समय अनपेक्षित थियो र त्यसलाई ह्याण्डल गर्न संसारको कुनै पनि देश र कोही पनि नागरिकले योजना बनाउन पाएका थिएनन् । फलस्वरूप संसारले नै त्यसको प्रभावको सामना गर्नुपर्यो र नेपाल पनि अछुतो रहन सकेन । कोभिडपछि बजारको माग उच्च हुँदा अन्तर्राष्ट्रिय रूपमै लजिष्टिकको इस्यु आएको थियो । त्यसपछि रुस–युक्रेन युद्धले पनि मुद्रास्फिति बढ्ने र अन्तर्राष्ट्रिय असर परेकै हो । अर्थात् यो सब कुराहरूबाट हामी अछुतो रहन सकेनौँ । मुद्रास्फिति बढ्दाखेरि कन्जुमर प्रडक्ट्सको मूल्य एकदमै उच्च हुँदा हाम्रो विदेशी मुद्रा सञ्चितिमा पनि चाप पर्यो । किनभने खाद्यान्न समेत हामी आयात गरिरहेका छौँ । अन्तर्राष्ट्रिय रूपमा कुनै प्रडक्ट्समा ३०–४० प्रतिशतसम्म मूल्यवृद्धि भयो भने हाम्रोमा विदेशी मुद्रा सञ्चितिमा अत्यन्तै ठूलो चाप पर्न जान्छ । अहिलेको समस्या यी सबै कारणहरूका उपजहरू हुन्, जुन कुरा सरकार र हामी निजी क्षेत्रले पनि भन्दै आएकै विषय हो ।
जब हाम्रो वैदेशिक मुद्रामा चाप पर्यो तव त सरकारले आयात निरुत्साहित गर्दै विभिन्न वस्तु तथा सेवाको आयातमा प्रतिबन्ध समेत लगाएको थियो । तर, पनि समस्या समाधान त के न्यूनीकरण समेत हुन सकेन नि ?
विदेशी मुद्रामा चाप पर्दा आयात निरुत्साहित गर्नु राज्यको आवश्यकता थियो होला, तर उपयुक्त थिएन । हामीले त्यसबेला पनि आयात प्रतिबन्ध भन्दा अरु कुनै कदम चाल्नुपर्छ भनेर सरकारलाई सुझाव दिएका थियौँ । सरकारले पनि विदेशी मुद्रा सञ्चितिमा कसरी काम गर्ने भनेर केही योजना बनाएको भए राम्रो हुने थियो । तर, हामीले एउटातिर मात्रै फोसक गर्यौँ । जसका कारण विदेशी मुद्राको सञ्चिति जोगाउँदा त्यसको असरचाहिँ चौतर्फी रूपमा पर्यो । जसको कारण सरकारको राजस्व असुली घट्यो, राजस्व घट्दा सरकारले पुँजीगत खर्च गर्न सकेन, पुँजीगत खर्च गर्न नसक्दा अर्थतन्त्रमा मन्दीको स्थिति आएको हो । अझ भन्ने हो भने एउटा मात्र समस्यालाई हेरेर निर्णय लिने सरकारी प्रवृत्तिका कारण पनि आजको समस्या निम्तिएको हो ।
त्यसकारण आफूले गर्ने निर्णयबाट कुन्–कुन् सेक्टरमा कति असर पर्छ भन्नेबारे जानकारी राखेर मात्रै निर्णयहरू लिँदा राम्रो हुने मेरो धारणा छ । जस्तो: अन्तर्राष्ट्रिय समस्याहरू हाम्रो पकडबाहिर थिए । तर, मुद्रास्फिति बढ्यो भन्दैमा नेपाल राष्ट्र बैंकले पनि ब्याज बढाउने र माग घटाउने नीति लियो । जुन अन्तर्राष्ट्रिय रूपमा पनि यसै गर्ने गरिएको छ । तर, हाम्रोजस्तो आयातमुखी अर्थतन्त्र भएको देशमा त्यो उपयुक्त थियो कि थिएन भन्नेबारे हामीले कुनै बहस र छलफल नै गरेनौँ । जबकी सबै कुरा आयात गरिरहेको अवस्थामा अन्तर्राष्ट्रिय रूपमा मूल्यवृद्धि भएको अवस्थामा ब्याज वृद्धिले मुद्रास्फितिलाई नियन्त्रण गर्न सकिँदैन भनेर हामीले भनेका थियौँ । तर, अन्तर्राष्ट्रिय अभ्यासलाई पछ्याउँदा नै हाम्रो अर्थतन्त्र बढी चापमा परेको मेरो बुझाइ छ ।
अर्थतन्त्रमा आएको समस्यालाई प्रश्रय दिन मनोवैज्ञानिक कारण कत्तिको हाबी भएको पाउनुहुन्छ ? राजनीतिक दोषारोपणले त अर्थतन्त्रको चित्र अलि भिन्न रहेको पनि देखाउँछ होइन र ?
यो राजनीतिक आरोप–प्रत्यारोपको विषय हुँदैहोइन । किनभने तथ्याङ्कहरूले नै देशको अर्थतन्त्र सङ्कटमा छ भन्ने कुरा बोलिसकेको छ । त्यसकारण यसलाई हामीले सत्ता वा प्रतिपक्षको मसला हो भनेर बुझ्न हुँदैन । आयात घटेको छ, राजस्व घटेको छ, बैंकहरूमा पैसा थुप्रिएको छ लगानी हुन सकिरहेको छैन, कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पनि हामी नकारात्मक छौँ । त्यसकारण यी सबै डाटाले अर्थतन्त्र समस्यामै छ भन्ने स्पष्ट गरिसकेको छ । २०७८/०७९, २०७९/०८० र २०८०/०८१ को पहिलो त्रैमासमा पनि उत्पादन र मागमा धेरै भिन्नता अर्थात् घट्दो क्रममा रहेको देखिएको छ । हामीले एउटा सर्भे पनि गरेर डाटाहरू सरकारसमक्ष प्रस्तुत गरेका छौँ । त्यो रियलटाइम डाटा पनि हो ।
अब अर्थतन्त्रको सुधार कसरी गर्न सकिन्छ ? त्यसमा सीएनआईको भूमिका कस्तो रहन्छ ?
अर्थतन्त्र सुधारका लागि सीएनआईले सरकारलाई बारम्बार आफ्नो सुझावहरू प्रस्तुत गरिरहेकै छ । त्यसको प्रभावस्वरूप नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत बैंकको ब्याजदरहरू घटाउने नीति अघि सारेको छ । समस्यामा परेको उद्योगका ऋणमा पुनर्तालिकीकरण गर्ने सुविधालगायत विभिन्न सकारात्मक कदम चालेको छ । विदेशी मुद्रा सञ्चितिमा पनि अहिले हामी कम्फर्टेबल अवस्थामा आइसकेको भएर मुद्रास्फिति पनि कन्ट्रोलमा आइसकेको छ । त्यसै कारण राष्ट्र बैंकले खुलापनको कदम चालेको आभाष हामीलाई भइरहेको छ ।
तर, विडम्बना के हो भने सरकारले खर्च गर्न सकिरहेको छैन । खर्च बढाएको भए अर्थतन्त्र चलायमान हुनाका साथै समस्या समाधानतर्फ उन्मुख हुने थियो । किनभने सरकारले गर्ने पुँजीगत खर्चबाटै कुनै पनि देशको अर्थतन्त्र चलायमान हुने हो, तर हामी भने राजस्व घट्यो भनेर खर्च कटौती गरिरहेका छौँ । हामीले भनिरहेका छौँ कि यो समय खर्च कटौती होइन खर्च बढाउने बेला हो । सरकारले साधारण खर्चका लागि समेत ऋण लिइरहेको छ भने थप ऋण लिएर पुँजीगत खर्च गरिदिने हो भने अर्थतन्त्र चलायमान बनाउनलाई थप सहयोग पुग्छ । अरु केही नसके पनि बजेटमा तोएिको पुँजीगत खर्च नै पर्पर गरियो भने पनि अर्थतन्त्रलाई धेरै नै सहयोग मिल्ने थियो । डाटा हेर्दा सरकारले जम्मा १६ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको देखिन्छ । जब खर्च नै कम छ भने अर्थतन्त्र चलायमान कसरी बनाउन सकिन्छ । त्यसैले खर्च बढाउन आवश्यक छ ।
पुँजीगत खर्चको समस्या पुरानै हो, यसलाई बढाउन के गर्नुपर्ला ?
मेरो विचारमा पुँजीगत खर्च बढाउन अहिले भएको संरचना नै फेर्नुपर्छ । हामीकहाँ कुनै पूर्वाधार निर्माण गर्न सबैभन्दा पहिला टेण्डर आह्वान गरिन्छ । टेण्डरमा जसले कम मूल्यमा बनाउँछु भन्छ उसैलाई निर्माण गर्ने जिम्मा दिइन्छ । यसबाट के हुन्छ भने कि उसले त्यो प्रोजेक्ट बनाउन सक्दैन, बनाइहाल्यो भने गुणस्तर दिन सक्दैन । किनभने कुनै प्रोजेक्टको लागत १०० रूपैयाँ छ भने ७० रूपैयाँमा बनाउ भनेर दिनु नै गलत हो भन्ने बुझाइ मेरो छ । यसले प्रोजेक्ट ढिला हुन्छ, लागत बढ्छ । जसका कारण भुक्तानीमा समस्या हुन्छ र पछिल्लो समय त्यस्तो समस्या पनि हामीकहाँ देखिएकै छ । अहिले पनि कयौँ निर्माण कम्पनीको भुक्तानी हुन सकिरहेको छैन । यो त मैले एउटा उदाहरण दिएँ । यस्ता धेरै समस्या छन् जसले हाम्रो पुँजीगत खर्च बढाउन बाधा पुर्याइरहेको छ ।
आन्तरिक स्रोतमा कमी आइसकेपछि सरकारले अन्य कुनै विकल्पमार्फत पनि वित्तीय व्यवस्थापन गर्न सक्छ कि सक्दैन ?
आन्तरिक स्रोतको विकल्पमा सरकारले अन्तर्राष्ट्रिय दाताहरूसँग ऋण र अनुदान लिएर अर्थतन्त्रलाई चलायमान बनाउन सक्छ, जुन कुराको चर्चा हामीले अगाडि पनि गरिसक्यौँ । अर्को विकल्प भनेको करको दर बढाउन र बजेट घोषणाको प्रणाली संशोधन गरेर पनि अघि बढ्न सकिन्छ । यद्यपि, यी कुराहरूमा सरकारको रिअलाइजेसन आएको र पोजेटिभ बाटोतर्फ अघि बढेको हामीले पाएका छौँ ।
पछिल्लो समय सरकारले मुलुकको अर्थतन्त्र सुधारतर्फ गइरहेको पनि बताएको छ । सरकारको दाबीमा तपाईहरूले पनि केही सुधारको अनुभूति गर्नुभएको छ त ?
हाम्रो फिलिङ्सको कुरा गर्नुहुन्छ भने आत्तिइहाल्ने विषय कहिल्यै पनि थिएन । जुन बेला विदेशी मुद्रा सञ्चितिमा चाप पर्दा श्रीलंकाजस्तो हुन्छ भनेर हल्ला गरेर कडा एक्सनमा गयो र आयात रोक्ने काम भयो त्यतिबेला पनि हामी आत्तिएका थिएनौँ र आत्तिन पर्दैन पनि भनेका थियौँ । सीएनआईले पनि हल्ला भएजस्तो खराब स्थिति आएको छैन र आत्तिन पर्दैन भनेकै थियो । अहिले पनि म भन्छु आत्तिन पर्ने स्थिति छैन । यद्यपि, अर्थतन्त्र समस्यामा थियो र छ । सुधारका लागि केही कदमहरू पनि चालिएका छन् । राम्रो होस् या नराम्रो त्यो अवस्था सधैं रहिरहँदैन उतारचढाव त चलि नै रहन्छ । बितेको एक–डेढ वर्षदेखि अर्थतन्त्रमा समस्या आइरहेको छ, मेरो विचारमा अब अर्थतन्त्रको समस्या यो भन्दा तल जाँदैन र जाने ठाउँनै छैन । त्यसकारण अब माथितिर नै जाने हो । केही सुधारका सङ्केतहरू पनि देखिन थालेका छन् । राष्ट्र बैंकको पछिल्लो कदम र अर्थमन्त्रालयले पुँजीगत खर्च वृद्धि गर्ने पहल गरेकोलगायत पहलले अब अर्थतन्त्र चलायमान हुन्छ भन्ने विश्वास लिएको छु ।
– सहकारीमा जनताको ठूलो पैसा फसेको छ, त्यो समस्या समाधान जरुरी छ ।
– विदेशी मुद्राको सञ्चिति जोगाउँदा त्यसको असरचाहिँ चौतर्फी रूपमा पर्यो ।
– ब्याज बढाएर मुद्रास्फितिलाई नियन्त्रण गर्न सकिँदैन ।
– यो समय खर्च कटौती होइन बढाउने बेला हो ।
– पुँजीगत खर्च बढाउन अहिले भएको संरचना नै फेर्नुपर्छ ।
– अर्थतन्त्रको समस्या यो भन्दा तल जाँदैन र जाने ठाउँनै छैन ।
– नेपाल उद्योग परिसंघमा ‘बजेट वाच’ भन्ने कार्यक्रम पनि सञ्चालन गरिरहेका छौँ ।
– भारत र चीनबाट फाइदा लिन निर्यातजन्य वस्तु तथा सेवाको उत्पादनमा जोड दिनुपर्छ ।
अहिलेको अर्थतन्त्र सुधारका लागि सरकारले निजी क्षेत्रलाई पनि सँगसँगै लिएर अघि बढ्नुपर्ने देखिन्छ । सरकारले तपाइँहरूसँग समन्वय गरिरहेको छ कि छैन ?
सरकारसँग हाम्रो दोहोरो सहकार्य चलिरहेको छ । कमसेकम नेपाल उद्योग परिसंघसँग त झन् धेरै सहकार्यका छ । किनभने हामीले दिने सुझावहरू हचुवाको भरका हुँदैनन् । रिसर्च गरेर प्राप्त तथ्याङ्कहरूको आधारमा सुझाव दिने गरेका छौँ । जस्तो: गएको बजेटमा हामीले दिएको सुझावहरूमध्ये करिब ४५ प्रतिशत समेटिएका थिए । साथै बजेट कार्यान्वयनमा आउने समस्या झेलिरहेका हामीले नेपाल उद्योग परिसंघमा ‘बजेट वाच’ भन्ने कार्यक्रम पनि सञ्चालन गरिरहेका छौँ । त्यसअन्तर्गत बजेटबारे विभिन्न सरोकारवाला मन्त्रालयहरूसँग छलफल चलाउने गरेका छौँ । अघिल्लो वर्ष पनि हामीले यस्तो कार्यक्रम चलाएर रिपोर्ट कार्ड बनाएका थियौँ । जसमा बजेटमा घोषणा भएका कति कार्यक्रम लागू भए वा कति भएनन् भन्ने कुराको विवरण उल्लेख छ ।
बैंकहरूमा लगानीयोग्य रकम हुँदा पनि ऋण प्रवाह हुन सकिरहेको छैन । सरकारले हरेक हिसाबबाट अर्थतन्त्र चलायमान गराउने प्रयत्न गरिरहेको देखिन्छ । तर, सफल हुन सकेको छैन । बैंकको पैसा लगानीयोग्य क्षेत्रमा परिचालन गर्न कस्तो वातावरण चाहिन्छ ?
जब हाम्रो अर्थतन्त्र समस्यामा पर्यो तब नेपाल राष्ट्र बैंकले विभिन्न गाइडलाइनहरू ल्यायो । ती गाइडलाइनहरूले उद्यमीहरूलाई ऋण लिन असहज भइरहेको छ । यद्यपि, बजार चलायमान बनाउनकै लागि राष्ट्र बैंकले पछिल्लो समय शेयर र घर कर्जामा केही खुकुलोपनको नीति लिएको छ । जसले केही चलायमानको स्थिति बनेको हो कि भन्ने आभाष भइरहेको छ । तर, सहकारीको ठूलो समस्या पनि हामीले फेस गरिरहेका छौँ । त्यहाँ पनि जनताको ठूलो पैसा फसेको छ । त्यसकारण सहकारीको समस्या पनि समाधान गरिनु जरुरी छ । सकारात्मक मुभमेन्ट आउनासाथ बैंकको पैसा चलायमान हुन थाल्छ । त्यसका लागि सरकारले नै खर्च बढाउनुपर्छ ।
ठूलो अर्थतन्त्र भएको दुई देशको बीचमा नेपाल छ । त्यसमा पनि नेपालको खुला सीमाना रहेको भारतसँगको व्यापारबाट अधिकतम् लाभ लिन नेपालले के गर्नुपर्छ । त्यो उचित वा अनुचित के हुन्छ ?
लाभ लिनु उचित नै हुन्छ । नेपाल र भारतको बीचमा भएको सन्धी अनुसार हामीले ‘ड्युटी फ्रि’ निर्यात गर्न पाउनुपर्छ । हाम्रो आयात र निर्यातको सहयात्री भारत नै हो तर, त्यहाँबाट चाहेजति लाभ हामीले लिन सकिरहेका छैनौँ । भारतबाट हामीले लाभ लिनका लागि उत्पादन वृद्धि गर्नुपर्छ र निर्यातको क्षमता वृद्धि गर्नुपर्छ । उत्पादन बढाउँदा मात्रै हामीले भारतसँग लाभ लिन सक्छौँ । विद्युत् निर्यातमा लाभ लिइरहेकै छौँ, भविष्यमा पनि सकिन्छ । औद्योगिक वातावरण बनाउन पर्छ । चीनले दिएको भन्सार सुविधा पनि हामीले लिनुपर्दछ त्यसका लागि सरकारले उचित वातावरण बनाउन पर्छ ।
FACEBOOK COMMENTS