काठमाडौं । पछिल्लो पटक पुनः सत्ताबाट बाहिरिन पुगेको नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै संसद नै चल्न नदिने चेतावनी दिँदै आएको छ ।
दोस्रो पटक गत फागुन २३ गते गृहमन्त्रीमा कमब्याक गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछाने मन्त्री नियुक्त भएलगत्तै नेपाली कांग्रेस विरोधमा उत्रियो । पोखराको सूर्यदर्शनलगायत केही सहकारीको रकम हिनामिना गरेको घटनामा लामिछानेको समेत नाम जोडिएको र अनुसन्धानको घेरामा रहेका व्यक्तिलाई आफूहरूले गृहमन्त्री स्वीकार गर्न नसक्ने तर्क कांग्रेसको छ ।
अनुसन्धानको घेरामा रहेको व्यक्ति कसरी मन्त्री बन्न सक्छ भन्दै कांग्रेसले चर्को विरोध मात्रै होइन संसद अवरोध गर्ने चेतावनी समेत दिइसकेको छ । तर, सत्तापक्ष दलहरूले भने रविमाथि हालसम्म भएको अनुसन्धानले उनी सहकारीको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको तथा अदालतमा विचाराधीन मुद्दामा पनि कहीँ कतै जोडिएको नदेखिएको भन्दै बचाउ गर्दै आएको छ । त्यतिमात्र होइन कांग्रेसले रवि लामिछानेको नाममा अनावश्यक राजनीति गरेको आरोप समेत सत्ता पक्षको छ ।
त्यसो त संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयम्ले पनि लामिछानेको विषय ‘मिडिया ट्रायल’का रूपमा विगतमा समेत चर्चा हुने गरेकाले यो पटक आफूले गम्भीर अध्ययन गरेर मात्रै मन्त्री नियुक्त गरेको दाबी गरेका छन् । प्रचण्डले सूर्यदर्शन सहकारीका एक हजार जना भन्दा बढी बचतकर्ताले यस वर्षको साउनमा दिएको दरखास्त कसैको नाम नकिटिएको पनि बताएका छन् ।
प्रहरीले अनुसन्धानपछि १९ जनाविरुद्ध प्रहरीले असोज १८ गते मुद्दा दायर गरेको र त्यस क्रममा चार जना पक्राउ परिसकेको विवरण उनले संसदमा सुनाउँदै भनेका छन्, ‘मूल उजुरीको छ महिनापछिको पूरक जाहेरीमा लामिछानेको नाम उल्लेख गरिएको भए पनि आधार प्रमाण नदेखिएपछि जाहेरी प्रहरीले दर्ता गरेको छैन ।’ तर, अनुसन्धानबाट दोषी पाइए कोही पनि व्यक्त कानुनबाट भाग्न नसक्ने तर्क उनको छ ।
प्रमुख सत्तासाझेदार दल नेकपा एमालेले पनि नेपाली कांग्रेसले अनावश्यक राजनीति गरेको र संसदमा माग गरिएजस्तो रविमाथि छानविन गर्ने कुनै समिति बन्न नसक्ने अवस्था रहेको बताउँदै आएको छ । सत्ताबाट बाहिरिनुको पीडा रविमाथि पाखिएको टिप्पणी एमालेको छ ।
त्यतिमात्र होइन, आफ्नो विरोध गरिरहेको कांग्रेस दूधले नुहाएको पार्टी नभएको टिप्पणी गृहमन्त्री लामिछाने स्वयम्ले गरेका छन् । आफूमाथि परेको सामान्य उजुरीमा संसदीय छानबिन र राजीनामा माग्नु बेठीक भएको तर्क उनको छ । कांग्रेसले सामान्य उजुरीमा संसदीय छानबिन माग गरेर गलत अभ्यास बसाउन खोजेको टिप्पणी गर्दै उनले भनेका छन्, ‘एउटा पूरक, ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको छ भने नेपाली कांग्रेस दूधले नुहाएको पार्टी हो कि होइन भन्ने कुरा नेपाली जनताले बुझेका छन् । ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने हो भने यसमा अडिइरहन आग्रह गर्दछु ।’
कांग्रेसमाथि चुनौतीको भाषा बोल्दै उनले सदनमा उठाइएको सवालको जवाफ कामले दिने बताएका छन् । ‘मैले केही भन्नै पर्दैन । कामले बोलिरहेको छैन र ? अस्ति नै पो प्रतिपक्षमा थिएँ, बोल्नुपर्ने थियो, भन्नुपर्ने थियो, अब त सरकारमा छौँ, प्रत्येक दिन गरिएको कामले आफैँ बोलेको छ,’ उनले भने ।
आखिर लामिछानेले देखाउने काम के हो ?
भ्रष्टाचार र कुशासनको अन्त्य गरेर मात्रै देशको विकास गर्न सकिन्छ भन्ने विश्वास लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको पार्टीसम्वद्ध नेताहरू बताउँछन् । ‘यो विश्वासलाई व्यवहारमा देखाउन रास्वपाले केही गर्नैपर्ने छ, तर, यो पार्टी जब जब सरकारमा आउँछ कुनै न कुनै फण्डा ‘क्रियट’ गरेर सत्ताच्युतको उपाय खोजिन थालिन्छ, अहिले पनि त्यही भइरहेको छ,’ एक नेताले भने । उनका अनुसार लामिछाने कानुनको पालना गराउने कुरामा दृढतापूर्वक उभिने व्यक्ति हुन् । यसबाट पुराना सबै दलहरू डराएका छन् ।
पछिल्लो समय विभिन्न खाले भ्रष्टाचार र अनियमिततामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्ने ‘ट्रेण्ड’ चलेको छ । यो ‘ट्रेण्ड’ पछ्याउन रविलाई थप सहज भएका कारण विभिन्न दलका उच्चस्तरका नेताहरू समेत कारबाहीमा पर्नसक्ने अनुमान गरिएको छ । रवि वहाल हुनेवित्तिकै सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रकै उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरिएको घटनाले प्रतिपक्षमा रहेको नेपाली कांग्रेस रविसँग थप सशंकित बनेको अनुमान नेताहरूको छ ।
विभिन्न काण्डमा जोडिएका र सजाय भोगिसकेका नेताहरू कांग्रेसभित्र पनि छन् । रविले उनीहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाउने हो भने कांग्रेस थप सङ्कटमा पर्नसक्ने विश्लेषण गरिएको छ । जस्तोः नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकी कांग्रेस नेत्री डा. आरजु राणा र मञ्जु खाँणमाथि रविले कारबाही चलाउन सक्ने भएकाले पनि कांग्रेस गृहमन्त्रीका रूपमा रविलाई स्वीकार गर्न नसक्ने अवस्थामा पुगेको चर्चा राजनीतिक वृत्तमा छ ।
प्रचण्डको नेतृत्व र आफू स्वयम् सरकारमा हुँदा आफ्ना नेता बालकृष्ण खाँणलाई जोगाउन नसकेको कांग्रेसले थप नेताहरूमाथि हुनसक्ने कारबाही रोक्न सक्ने देखिँदैन । बालकृष्ण पक्राउ पर्दा उनकी श्रीमती समेत रहेकी नेत्री मञ्जु खाँण सम्पर्कविहीन बनेको चर्चा चलेको थियो । त्यस्तै पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेकी डा. आरजु राणा देउवा पनि फरार रहेको चर्चा गरिएको थियो । तर, घटनाको लामो समयपछि उनी संसद बैठकमा सहभागी हुँदै आफू नभागेको स्पष्टीकरण दिएकी थिइन् । राणाले नक्कली भुटानी शरणार्थीहरूसँग रकम डिल गरेकोलगायत अडियोहरू पनि त्यसबीचमा सार्वजनिक भएका थिए । तर, त्यो त्यत्तिकै सेलाइरहेको छ ।
सार्वजनिक भएको अडियो रेकर्डमा तत्कालीन प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा पत्नी राणा र गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मञ्जुले क्रमशः साढे २ करोड र ६ करोड रूपैयाँ रकम लिएको अडियोमा दाबी गरिएको छ । अनावश्यक रूपमा सरुवा गरेर पैसा लिन खोजेको, दुहुनो गाई बनाएको भन्दै एक व्यक्तिले अडियोमा भनेका छन्, ‘आरजु राणालाई साढे २ करोड, गृहमन्त्री बालकृष्ण खाँणका लागि मञ्जु खाँणलाई हनुमानथानको घरमा ६ करोड बुझाएकै हो । प्रमाण छ नि मसँग ।’
तर, डा. राणाले भने उक्त अडियो फेक भएको दाबी गर्दै अडियो क्लिपको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न भन्दै साइबर ब्युरोमा उजुरी समेत दिएकी थिइन्, तर सो उजुरीमाथि कुनै सुनुवाइ भएको छैन ।
को हुन् रवि ?
राजनीतिमा होमिएको करिब सात महिनामै २०७९ पुस ११ गते उपप्रधान तथा गृहमन्त्री नियुक्त भएका लामिछाने निकै असाधारण व्यक्तिका रूपमा चिनिँदै आएको छ । पार्टी गठन गरेको ६ महिनामै भएको संसदीय निर्वाचनमा २० सीट हासिल गराउन सफल भइ उपप्रधान तथा गृहमन्त्री बनेका उनलाई अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको सर्वोच्च अदालतको ठहरपछि उनी १३ माघ २०७९ मा पदमुक्त भएका थिए ।
त्यसपछि प्रक्रिया पर्याएर नागरिकता लिँदै सोही क्षेत्र चितवन–२ बाट पुनः प्रतिनिधि सभामा निर्वाचित भएका उनी एक वर्षपछि दोस्रोपटक पुरानै जिम्मेवारी गृह मन्त्रालयमा नै फर्किएका छन् । यस पटक उनले धेरै काम गर्ने अपेक्षा आम मानिसमा छ । त्यतिमात्र नभइ अहिले सरकारमा गएका मन्त्रीहरूको कामबारबाहीकै आधारमा आगामी निर्वाचन फेस गर्ने र बहुमत ल्याउने तयारीमा रहेको रास्वपाका सभापति लामिछानेमाथि गृहमन्त्रीको जिम्मेवारी निक्कै चुनौतीपूर्ण छ । त्यो चुनौती छिचोल्न उनले सुशासनको क्षेत्रमा व्यापक काम गर्नुपर्ने बाध्यता छ । त्यस क्रममा धेरै नेताहरू समेत कारबाहीमा पर्ने पर्ने खतरा सृजना भएबाट उनलाई गृहमन्त्रीबाट हटाउने प्रपञ्च थालिएको टिप्पणी सो पार्टीका नेताहरूले गर्न थालेका छन् ।
त्यसमाथि रविले कांग्रेसलाई चुनौती दिँदै ‘राजीनामा र छानविन समिति’को मागसम्बन्धी सवालको जवाफ कामले दिन्छु भन्नुले गम्भीर अर्थ राख्ने बताइन थालिएको छ ।
FACEBOOK COMMENTS