काठमाडौं, फागुन २८ – ट्राफिक प्रहरीले कोटेश्वर–कलंकी सडक खण्डमा गुड्ने सवारीसाधनलाई नयाँ नियम लागू गर्ने भएको छ ।
नियमअनुसार यात्रुवाहक तथा मालवाहक र कम गतिमा गुड्ने सवारीसाधन बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारीसाधन दाहिने मुख्य (द्रुत) लेनबाट मात्र गुड्न पाउने छन् । चक्रपथको सो खण्डमा चैत २ गतेबाट यो नियम कार्यान्वयनमा आउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाले उक्त सडकखण्डलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँग छलफल गरेको थियो। महाशाखाले यसभन्दा पहिले भक्तपुरको सूर्यविनायकदेखि कोटेश्वरसम्मयस्तोनियम लागू गरिसकेको छ ।
पछिल्लो समय उपत्यकाको सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रूपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालना गराउन उक्त नियम लागू गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनले भने , ‘‘यो सडक व्यवस्थित र सुविधायुक्त छ, यात्रुवाहक, मालवाहक र विस्तारै गुड्ने गाडी बायाँ लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारी दाहिने लेनबाट चल्ने अन्तर्राष्ट्रिय अभ्यास रहेकाले यसलाई कार्यान्वयन गर्दा सडक अनुशासन कायम हुने र दुर्घटना न्यून हुने अपेक्षा गरिएको छ ।’’
उक्त सडक खण्डलाई व्यबस्थित गर्न ट्राफिक नियमको पालना, सडक अनुशासन र सडक सभ्यता अभिवृद्धि हुने र ट्राफिक नियमको पालन गर्ने प्रवृत्तिको समेत विकास हुने हुदाँ यसको प्रभाबकारी कार्यान्वयन गर्नका लागी सम्बन्धित सरोकारवाला निकायरसंघ संस्था, यातायात सञ्चालक÷व्यवसायीहरू, नागरिक समाज आदिसँग छलफल गरेको छ । यस नियम कार्यान्वयनको लागि ट्राफिक प्रहरीलाई सहयोग पुग्ने गरि अनुगमनको लागि सम्बन्धित सम्पूर्णबाट प्रतिनिधित्व हुने गरि समितिसमेत गठन गरिएको छ ।
मासिक ८५ को हाराहारीमा सवारी दुर्घटना
मुलुककै पहिलो आठ लेनको सो सडकमा लेन अनुशासन पालना नहुँदा मासिक ८५ को हाराहारीमा सडक दुर्घटना हुने तथ्याङ्क रहेको महाशाखाले जनाएको छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सवारीसाधनले जथाभावी लेनको प्रयोग गरी सवारी चलाउने तथा लेन परिवर्तन गर्ने, लुकिङ ग्लास र साइड लाइटको प्रयोग नगरी जथाभावी ओभरटेक गर्ने, तोकिएको गतिभन्दा तीव्र गतिमा सवारी चलाउने लगायतका असावधानीका कारण चक्रपथको सो खण्डमा दुर्घटनाको जोखिम बढेको बताए ।
महाशाखाले उक्त सडक खण्डको मुख्य लेनमा ५० र सर्भिस लेनमा २० किमी प्रतिघण्टाका दरले गति निर्धारण गरेको छ ।
FACEBOOK COMMENTS