काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कैलाली र कञ्चनपुरका रानाथारु समुदायको उत्थानका लागि व्यावसायिक योजना अघि सार्नुपर्ने बताएका छन् ।
नेपाल रानाथारु युवा समाजले पहिलो पटक आज काठमाडौंमा आयोजना गरेको होली मिलन तथा खखडेहरा कार्यक्रमलाई सम्बोधन गर्दै उनले कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको रानाथारु समुदायको आर्थिक समृद्धिका लागि आगामी बजेटमा विशेष व्यावसायिक कार्यक्रम ल्याउन आफूले पहल गर्ने बताएका हुन् ।
कैलाली र कञ्चनपुरमा रगत पसिना बगाउँदै आएको तथा दुई जिल्लाको बस्ती विकास र सुदूरपश्चिमको पहिचानमा रानाथारु समुदायको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै मन्त्री भण्डारीले उद्योग मन्त्रालयबाट सो समुदायको आर्थिक उत्थान हुने कार्यक्रम बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
लिखित रूपमै उत्पादनमुखी कार्यक्रम ल्याउन रानाथारु युवा समाजलाई आग्रह गर्दै उनले व्यावसायिक रूपमा पहिचान झल्काउने गरी नयाँ बजेटमार्फत कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे । विभिन्न पेशा तथा व्यवसायमा पहिचान बनाएका राना थारु समुदायको पहिचान सिंगो देशले देख्ने गरी काठमाडौँमा होली मिलन कार्यक्रम गरेकामा उनले प्रशंसा गरे ।
कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, पूर्वमन्त्री नारदमुनी राना, संविधानसभा सदस्य कृपाराम राना लगायतले कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको रानाथारु समुदायको उत्थानका विषय औँल्याएका थिए । होली मिलन कार्यक्रममा कैलाली र कञ्चनपुरबाट कलाकार टोली काठमाडौं आएका छन् ।
FACEBOOK COMMENTS