काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज ६ दशमलव २६ अङ्कले घटेर नेप्से परिसूचक दुई हजार १२ दशमलव ०७ विन्दुमा रोकिएको छ ।
यस दिन ३१५ धितोपत्रको ७२ लाख ९० हजार २०० कित्ता शेयर ६३ हजार १५ पटक खरिदबिक्री हुँदा दुई अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३०५ रुपैयाँ ७५ पैसा बराबरको शेयर कारोबार भएको छ ।
नेप्से इन्डेक्सका साथै आज सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स सबैमा ०.२५ देखि ०.३१ प्रतिशतसम्मले घटेका छन् । यस्तै, १३ वटामध्ये होटेल र ट्रेडिङ इन्डेक्सबाहेक सबै उपसूचकहरू घटेका छन् ।
अघिल्लो कारोबार दिन हिजो आइतबार नेप्से १७ दशमलव ३० अङ्कले घटेर दुई हजार १८ दशमलव ३३ विन्दुमा रोकिएको थियो भने तीन अर्ब २० करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको थियो ।
कारोबारमा आएका धितोपत्रमध्ये गुराँस लघुवित्त र माइ खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यस्तै महुली लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी, आज रिभर फल्स पावर लिमिटेडको शेयर मूल्यमा ९ दशमलव ९८ प्रतिशतले गिरावट आएको छ ।
FACEBOOK COMMENTS