काठमाडौं,फागुन २९- मेगा बैंक नेपाल लिमिटेडले रुपन्देही जिल्लाको बुटवलमा रहेको जग्गामा निर्मित भवनको उद्घाटन गरेको छ । भवन उद्घाटनको अवसरमा बिहीबार मिलनचोक स्थित आफ्नै जमिनमा नवनिर्मित अत्याधुनिक भवनबाट बुटवलकै पुष्पलाल पार्कमा हाल सञ्चालनमा रहेको बैंकको शाखा कार्यालयलाई स्थानान्तरण गरिएको हो ।
उक्त अवसरमा बैंकको प्रदेश नम्बर ५ को प्रादेशिक कार्यालय पनि उक्त नवनिर्मित भवनबाटै सञ्चालन गरिएको छ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार एक समारोहका बीच भवनको उद्घाटन गरेका हुन् ।
मेगा बैंकले आफ्नै भवनबाट सञ्चालन हुने गरी पहिलो प्रादेशिक कार्यालयका लागि प्रदेश नम्बर ५ लाई रोजेकोमा खुसी व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले धन्यवाद व्यक्त गरे । अन्य प्रदेशको तुलनामा प्रदेश नम्बर ५ आर्थिक र औद्योगिक हिसाबले अगाडि रहेको भन्दै मुख्यमन्त्री पोखरेलले बैंकिङ क्षेत्रसँगको सहकार्यका लागि प्रदेश सरकार तत्पर रहेको बताए ।
कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले बुटवलमा मेगा बैंकले आफ्नै जमिनमा अत्याधुनिक भवन निर्माण गरी सञ्चालनमा ल्याएकोमा खुसी लागेको बताए । मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले बैंकको आफ्नै भवन निर्माण भएपछि ग्राहकहरुलाई प्रदान गरिने सेवा, सुविधा लगायत कारोबारमा थप सहज हुने भन्दै उनले तत्कालीन पश्चिमाञ्चल विकास बैंकसँगको मर्जरदेखि नै प्रदेश नम्बर ५ मा मेगा बैंकको कारोबार उत्साहजनक भएकोमा अब गण्डकी विकास बैंक गाभिएपछि झन दरिलो उपस्थिति हुने बताइन् ।
भवन उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष विष्णुबहादुर थापा, मेगा बैंक सञ्चालक समितिका सदस्यहरु गोपाल खनाल, मदन आचार्य, डा। इन्द्रबहादुर मल्ल ठकुरी, शिवादेवी काफ्ले, बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ तथा बुटवल क्षेत्रका उद्यमी, व्यवसायी तथा नागरिक समाजका अगुवाहरु, कर्मचारीहरु लगायतको सहभागिता थियो ।
मेगा बैंकका १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटिएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र ३ हजार भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।
FACEBOOK COMMENTS