बिक्रम सम्बत १९५५ मा काठमाडौंबाट प्रकाशित साहित्यिक प्रकाशन शुधा सागर पत्रिका नै नेपालको पहिलो पत्रिका मानिन्छ । २४ वैशाख, १९५८ मा राणा प्रधानमन्त्री देव शम्शेरले प्रकाशित गरेको गोरखापत्र नै आधिरिक रूपमा पहिलो पत्रिकाको रूपमा बर्णित छ । त्यसो त मोतिराम भटृ र रामकृष्ण बर्माले १९४२ मा भारतको बनारसबाट निजी क्षेत्रबाट प्रकाशित गोरखा भारत जीवन पहिलो नेपाली भाषाको पत्रिका हो । २००७ साल फागुन ८ गते निजी क्षेत्रबाट नै पहिलो दैनिक आवाज पत्रिका प्रकाशन भयो । २०१७ को परिवर्तनपछि पञ्चायती व्यवस्थामा पत्रपत्रिकाहरू धेरै निस्केका भए पनि पूर्णतः वाकस्वतन्त्रतामुक्त थिएन ।
राज्यको पूर्ण नीति निर्देशनमा पत्रपत्रिकाहरू प्रकाशित हुन्थे । व्यवस्थाको विरोधमा लेख्न पाउँने अवस्था थिएन । यस्तो अवस्थामा मेरो नेतृत्वमा त्रि पद्य विद्याश्रमका योगवीर शाक्य र स्व.अशोक बज्राचार्य जस्ता भर्खरका युवाहरूको पहलमा नेपाल भाषाको बाल साहित्यिक नेपाल भाषाको पत्रिका ससिवा लगातार पाँच अंक प्रकाशित गरी बन्द गर्न बाध्य भयौं । आर्थिक अभाव र बौद्धिकतामा आलोकाँचो हामीहरूले प्रकाशन गरेको उक्त पत्रिका नियमित गर्नका लागि पैसाको अति आवश्यक थियो । तर, पैसाकै अभावमा पत्रकारिता क्षेत्रमा लागेका रामकृष्ण कर्माचार्यले आर्थिक भार म व्यहोरीदिन्छु तर उत्तरकोरियाली नेता किम इल सुङको महान विचार भन्ने लेख राख्नुपर्छ भनेपछि हामीले सहमति जनाई पाँचौं अङ्क प्रकाशित गर्दा २०२८ सालमा तत्कालीन सीडीओ कार्यालयबाट पत्रिका जफत गर्नुको साथै पक्राउ गरी पाँच दिन लगनखेलको सीडीओ कार्यालयको शौचालयमा दैनिक कार्यालय समयभर थुनिएको घटना मेरा लागि डरलाग्दो समय थियो ।
२०४६ सालको परिवर्तनपछि प्रजातन्त्रको पुनर्वहालीपछि सुबिर खनाल, गोबिन्द चौधरी, परशु घिमिरेको सहयोगमा तरुण प्रकाशन प्रा.लि. नामक कम्पनी नै मेरो अगुवाइमा गठन गरी तरुण साप्ताहिक २०५१ को बीपी स्मृति दिवसको अवसर पारी संगठित रूपमा प्रकाशन गरेका थियौं । कुनै बेला नेपाली कांग्रेसको मुखपत्रको रूपमा रहेको तरुण पत्रिकाको निरन्तरताको रूपमा प्रकाशन गर्ने प्रयासस्वरूप हामीले यो प्रकाशन सुरू गरेका थियौं । चार वर्षपछि पत्रिकाको लगानी गर्नै नसक्ने भएपछि साथीहरूले पहिले छोडे पछि मैले घरखेत समेत बन्धकी राखेर पनि नपुग्ने भएपछि नेपाली कांग्रेसका पार्टी सभापति (तत्कालीन पार्टी नेता) शेरबहादुर देउवासँग एक लाख पचहत्तर हजार रूपैयाँ लिएर ऋणमुक्त हुँदै नेताजीमार्फत तरुण पत्रिका प्रधान सम्पादक परशु घिमिरेको हातमा दिएँ । दुर्भाग्य अहिले तरुण पत्रिका बजारमा देखिँदैन । हुन त मैले उपभोक्ता मञ्च नेपाललाई आर्थिक रूपमा सवल बनाउनका लागि उपभोक्ता जागरण पत्रिकामा पनि प्रकाशकको नाताले धेरै काम गरेँ । अहिले पनि राष्ट्रिय उपभोक्ता मञ्चको आर्थिक सवलीकरणका लागि उपभोक्ता टाइम्स मैले प्रकाशन गर्दै आएको छु ।
पत्रपत्रिका निकाल्नु आफैंमा एउटा चुनौतीको सामना गर्नु हो । पञ्चायतकालमा पत्रकारितामा लागेकै कारणले राजकाज अपराध लागि सजाय भोगेका धेरै नै छन् भने पत्रिका प्रकाशनको काममा लाग्दा घरखेत नै स्वाहा भएको र थातथलोबाट उठीबास भएको उदाहरण पनि छन् । मेरै हकमा कुरा गर्दा पनि तरुण पत्रिका प्रकाशन गर्दा मैले बानेश्वर र कुमारीपाटीको जग्गा बेचेको कुलघर नै बेच्नु परेको कटुसत्यको अनुभव छ । तर, समय र परिस्थिति बदलियो । अहिले पत्रिका मात्र होइन सञ्चार क्षेत्रमा धेरै नयाँ आयामहरू थपिइसकेको अवस्था छ । २०४६ सालको परिवर्तनपछिका सुरूको समयमा पत्रपत्रिका निकाल्ने एउटा फेशन नै चल्यो । २०५६ पछि एफएम रेडियो चलाउने चलन चल्यो । देशमा नेपाल टेलिभिजनको स्थापना २०४२ सालमा भएको भए पनि २०२९ सालमा नै काठमाडौं उपत्यकामा भिडिओ देखाउने चलन चलिसकेको थियो ।
२०३० सालमा मैले तीन वटा भिडिओ राखी शो देखाउन भाडामा दिन थालेकोमा केही समयपछि नै १५ वटासम्म भिडिओ राखी नेपालको झापादेखि नेपालगञ्जसम्म र पोखरादेखि वीरगञ्जसम्म अनि काठमाडौं उपत्यकाको तीन वटै जिल्लामा भिडिओ देखाउन मैले नै भिडिओ भाडामा दिन थालेको मलाइ राम्रो याद छ । दिनको ३०० रूपैयाँमा भिडिओ भाडा दिने चलन थियो त्यो बेलामा । सबै भन्दा रोचक कुरा के हो भने त्यस बेला कुनै ठूलो पर्व उत्सवमा वा विवाह भोजमा भिडिओ देखाउने र भिडिओ खिचाउने चलन चलिसकेको थियो । २०४५ सालमा व्यवस्थाबिरोधी भिडिओ देखाएको निहुँमा पञ्चायती सरकारले मेरो भिडिओ सेट नै जफत गरी मलाई कारबाही गरेको मलाई याद छ । रानीपोखरीस्थित अञ्चलाधीश कार्यालयमा लगेर राखेको भिडिओ मैले २०४६ सालमा मात्र फिर्ता लिएँ ।
अहिले जमाना कहाँको कहाँ पुग्यो सञ्चार जगतको । ठूलो क्रान्ति वा परिवर्तन आएको छ । संविधानले नै वाक स्वतन्त्रता र पत्रकारिताको स्वतन्त्रताको हक दिएपछि अहिले नेपालमा अनलाइन पेपर ४०औं हजार पुगेको सुनिन्छ भने युट्युबहरू पनि हजारौंको संख्यामा छ भन्ने सुनिन्छ । छापा पत्रिका अहिले समयको अन्तरालसँगै वा अनलाइन मिडिया र टेलिमिडियासँग प्रतिस्पर्धा गर्न नसक्दा क्रमशः बन्द हुन थालेका छन् ।
यस्तो अवस्थामा काठमाडौंको बसन्तपुरमा जन्मेका उज्वलजंग शाह विगत २५ वर्षदेखि सञ्चार क्षेत्रमा संलग्न रहँदै आएको मलाई थाहा छ । म पनि सञ्चार क्षेत्र र उपभोक्ता अधिकारको क्षेत्रमा काम गर्ने भएकाले उहाँसँग सुरूदेखि नै मेरो नजिकको नाता रह्यो भाइको नाताले । सञ्चार क्षेत्रमा रहेका उज्वल अधिकांश समय आर्थिक पत्रकारितामा रमाउनुभयो । कुनैमा व्यवस्थापक, कुनैमा सम्पादक वा कुनैमा सञ्चालक वा कुनैमा रिपोर्टरको रूपमा काम गर्दै विगत १६ वर्षदेखि आफ्नै प्रकाशकत्वमा कर्पोरेट म्यागजिनको प्रकाशन गरिरहनुभएको छ ।
अटो पत्रकार संघको संस्थापक अध्यक्ष, नेपालकै अग्रणी सौन्दर्य प्रशाधन व्यावसायिक संस्था फेसियल हाउसका सल्लाहकार समेत रहनुभएका उज्वलजीले कर्पोरेट म्यागजिन निकाल्न धेरै हण्डर खाए । आर्थिक अभाव, व्यवस्थापकीय समस्या र पत्रकारिता भित्रको अस्वस्थ प्रतिस्पर्धामा कर्पोरेटलाई जीवन्त राख्न हम्मे हम्मे परेको कुरा उज्वलजीले सुनाउने गर्थे । म समेत सल्लाहकार रहेको कर्पोरेट म्यागजिन हाउसको ब्यानरमा प्रकाशन हुने कर्पोरेट म्यागजिन आज नेपालको आर्थिक पत्रकारिता जगतमा एक नाम चलेको पत्रिकाको रूपमा स्थापित छ । यो उज्वलजीको अथक श्रम र समर्पणभावले मात्र सम्भव भएको मैले महसुस गरेको छु ।
एउटा खानदानी शाह परिवारको पुत्र त्यो पनि काठमाडौंको व्यस्त शहरी क्षेत्रमा जन्मेको एउटा युवाले आफ्नो जीवनको १६ वर्ष कर्पोरेट पत्रिकालाई समर्पित गरिसकेको छ । २५ वर्षको अटुट पत्रपत्रिकारिता क्षेत्रमा लागेको अनुभवलाई आफ्नै प्रकाशनमा उपयोग गर्न पाउँदा एकातिर आत्मिक शान्ति मिल्छ भने अर्कोतिर रोजगारीको पनि ठूलो अवसर प्राप्त भएको छ । नेपालकै पहिलो कर्पोरेट पत्रिकाको रूपमा प्रकाशित कर्पोरेट म्यागजिनले नेपालको आर्थिक क्षेत्रमा अब दह्रोसँग जरा गाडिसकेको यसको प्रकाशनमा रहेको नियमितता, स्तरीयता र यसको कलेवरले पनि देखाइरहेको छ । मलाई खुसी लाग्छ म एक असफल प्रकाशक भए पनि मेरो भाइ उज्वलजी यसतर्फ विस्तारै सफलताको सिँढी चढ्न सफल भइरहेकाछन् ।
कर्पोरेट अब छपाइमा मात्र सीमित रहेन । पछिल्लो समय अनलाइन, युट्यूव र अनलाइन टेलिभिजनमा समेत यसले आफ्नो स्थान बनाइसकेको छ । यो मिडिया क्षेत्रका लागि एक सफल अनुभव हुनुपर्छ र यसबाट अरु सञ्चारकर्मीहरूले पनि सिक्नुपर्छ भन्ने मेरो धारणा छ । राजनीति भन्दा निजी क्षेत्रसँग अत्यन्त निकट रहेको उज्वलजीको एउटा धारणा मलाई मन पर्छ त्यो हो निजी क्षेत्रको समस्यालाई राज्यले सम्बोधन गरेन भने त्यसले निजी क्षेत्रमा होइन राज्य र आम नागरिकको लागि पनि समस्या बन्छ । अहिलेको पत्रकारितामा पनि विशिष्टीकरण भइसकेको छ । धेरैजसो समाचारमुलक भए पनि तिनीहरू राजनीतिक विचारबाट प्रभावित भएका छन् । तर, पनि नेपालमा आर्थिक, सामाजिक, खेलकुद, सांस्कृतिक, राजनीतिक र भौगोलिक रूपमा पत्रपत्रिकाहरू विभाजित भइरहेको हामीले महसुस गर्न सक्छौँ । तीमध्येमा कर्पोरेट विशुद्ध आर्थिक क्षेत्रलाई मात्र प्राथमिकता दिने कर्पोरेट बिजनेश म्यागजिनको रूपमा समाजको अगाडि देखिन थालेको छ ।
हिँजोको दिनमा पत्रकारिता भनेको एक अहम्, महत्वाकांक्षी एवम् जवाफदेहीताको द्योतक थिए । देश र समाजमा भइरहेको प्रत्येक गतिविधिका बारेमा देश र दुनियाँलाई सचेत र सजग गराउने काम पत्रिकाको थियो । जुनसुकै विचारको पत्रकार भए पनि उसले आफ्नो विचारमार्फत जनतालाई सुसज्जित गर्नेगराउने काम महत्वपूर्ण थियो भने आफ्नो विचार प्रवाह गर्नु पनि पत्रकारिताको धर्म नै थियो । आज परिस्थिति, समय र सन्दर्भ समेत बदलिएको छ । प्रत्येक क्षेत्रमा अति कडा प्रतिस्पर्धा गर्नुपर्दछ । आज विचारले भन्दा पनि व्यावसायिक इमान्दारिताले पत्रिका चल्ने भइसकेको छ अर्थात् समग्रमा भन्ने हो भने पत्रिका एक व्यवसाय भइसकेको छ ।
व्यवसाय भनेको व्यवसाय नै हो । अहिले विचार बेचेर खाने दिन गयो । अब त विचार, विज्ञान र बिद्वतालाई स्वस्थ, शुद्ध, विश्वस्त एवम् ताजा समाचारलाई आकर्षक रूपमा पस्किन जसले सक्यो अर्थात् दुकान जति विश्वासिलो भयो त्यति नै ग्राहक आकर्षित हुने दिन आयो । यसका लागि कर्पोरेट म्यागजिनले आफूलाई तयार गरिसकेको महसुश मैले गरेको छु । अन्तमा, उज्वल जति सिधासादा र विश्वासिलो छ त्यति नै उज्वलको प्रकाशन पनि त्यत्तिकै विश्वासिलो र आकर्षक रहनेछ, सबैको विश्वास जितेर समाजमा स्थापित हुनेछ भन्ने मैले विश्वास लिएको छु । कर्पोरेट म्यागजिनको स्थायित्वको कामना गर्दछु ।
FACEBOOK COMMENTS