दाङ । पर्यटकको चहलपहल तथा आर्थिक गतिविधि कम हुन थालेपछि यहाँका होटेल व्यवसायी मारमा छन् । होटेल सञ्चालकहरु भाडा तिर्नसमेत नसक्ने अवस्थामा पुगेको नेपाल उद्योग व्यापार महासङ्घका तुल्सिपुरका अध्यक्ष घनश्याम डाँगीको भनाइ छ ।
‘होटेल सञ्चालकहरु भाडा तिर्नसमेत सक्ने अवस्था छैनन्’, उनले भने, ‘व्यवसायी पलायन हुने अवस्थामा छ ।’ होटेल व्यवसायी मारमा परेको अवस्थामा राज्यले पनि हेर्नुपर्ने माग होटेल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कराज काफ्लेले गरे । होटेल व्यवसायी आफै मारमा परेको अवस्थामा राज्यले पनि दोहोरो कर लिने गरेको उनको भनाइ छ ।
‘होटेल व्यवसायलाई सुरक्षा गर्ने दायित्व राज्यको हो’ , उनले भने, ‘यसमा राज्यले चासो दिनुपर्छ ।’ पर्यटन प्रवद्र्धनदेखि स्थानीयस्तरको विकासका लागि होटेल व्यवसायीको भूमिका महत्वपूर्ण रहेको तुलसीपुर उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले बताए । यसमा होटेल व्यवसायी एकजुट हुनुपर्ने उनको भनाइ छ । अहिले होटेल व्यवसायीलाई लगानी गर्ने वातावरणसमेत नरहेको बस्नेतको भनाइ छ ।
‘धेरै होटेल व्यवसायी पलाइन भइसके’, उनले भने ‘अझै पलायन हुने अवस्था जारी छ, अहिले लगानी गर्ने वातावरण पनि छैन ।’ दाङको तुलसीपुरमा मात्रै पाँच सयभन्दा बढी होटेल व्यवसायी छन् । तर, अधिकांश होटेलहरुले भाडा तिर्नसमेत नसकिरहेको तुलसीपुर होटेल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतले बताए ।
दाङ प्रदेशको राजधानी भए पनि टरिगाउँ विमानस्थल नियमित सञ्चालन नहुँदा पनि बाह्य मानिस आउन नपाउँदा होटेल चल्न नसकेको उनले बताए ।
FACEBOOK COMMENTS