काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१० का मुक्ति विष्टले तीन वर्षअघि सुरु गरेका व्यायसायिक स्ट्रबेरी (भूईंकाफल) खेतीमा विस्तार गर्दै लगेका छन् ।
कोरोना महामारीका समयमा धेरैले रोजगारी गुमाइरहेका बेला विष्टदे भने स्वरोजगार बन्ने जुक्ति निकाले स्ट्रबेरी खेती सुरु गरेका थिए। उनी उक्त काममा कत्तिपनि विचलित नभइ निरन्तरको मेहनतले व्यवसायको दायरा बढाउँदै रमाइरहेका छन् ।
दैनिक हजारौँ युवा रोजगारीका लागि विदेश पलायन भइरहँदा स्वदेशमै केही गरौँ भन्ने लाग्नलाई विष्टको स्ट्रबरी खेती उदाहरणीय बन्ने गरेको छ । अहिले विष्टले यही खेतीबाट नाम र दाम पनि कमाउँदै आएका छन् । उनले आफ्नै माटोमा बगाएको पसिनाले प्रत्येक वर्ष मुनाफा बढाइरहेको बताए ।
विष्टले आफ्नो १० रोपनी जग्गामा स्ट्रबेरी रोपेर युवालाई स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सन्देश दिने अभियानमा लागेको बताए । बयालीस वर्षीय विष्टले स्ट्रबेरी रोप्ने सीप सिकेर व्यवसाय थालेका होइनन् । रुले रोपेको देखेर र भनेको सुनेको भरमा काम थालेको उनको भनाइ छ ।
गतवर्ष स्ट्रबेरी बेचर सबै खर्च काट्दा पनि ४० लाख मुनाफा भएको विष्टले जानकारी दिए । उनले यसवर्ष ५० हजार केजी उत्पादन गर्ने लक्ष्य लिएको भन्दै यसबाट गत वर्षभन्दा बढी आम्दानी हुने बताए ।
उनले स्ट्रबेरी खेतीका लागि बनेपा र ककनीमा गरी एक लाख बिरुवा रोपेका छन् । विष्टले भने, “बिरुवा र उत्पादनका लागि अब बजारको समस्या छैन, आफैँ बिरुवा उत्पादन गर्न थालेको छु ।” उनले चितवन, नवलपरासी र बारामा स्ट्रबेरी खेतीका लागि अध्ययन भइरहेको भन्दै गत वर्ष ४० हजार बिरुवा उत्पादन गरी केही बिक्री गरेको जानकारी दिए ।
दुई महिनामा हुर्केको स्टेबरीले उत्पादन दिन थाल्छ । हाल स्ट्रबेरीको बजारमा प्रतिकेजी तीन सयदेखि रु सात सयसम्ममा बिक्री हुने गरेको विष्टले बताए । बनेपा र आसपासका किसानले खेतमै आएर हेर्ने र किनेर लैजाने गर्न थालेका उनको भनाइ छ ।
“आजभोलि दैनिक बेरी खेती हेर्न आउने क्रम बढ्दैछ । उहाँहरु आएर हेर्नुहुन्छ अनि फर्किँदा किनेर लैजानुहुन्छ । बजारको भन्दा यहाँ केही सस्तो पर्ने भएकाले पनि उहाँहरुले लैजाने गर्नुभएको छ”, विष्टले भने । उनका अनुसार उत्पादित स्ट्रबेरी जिल्लाको मुख्य बजार बनेपालगायत धुलिखेल, पाँचखाल र पनौती तथा काठमाडौँ, पोखरा तथा चितवनसम्म जाने गरेको छ ।
उनले भने, “देशका प्रमुख सहरमा मेरा उत्पादन पु¥याउने लक्ष्य लिएको छु, स्ट्रबेरीका बिरुवा छिमेकी जिल्ला भक्तपुर, सिन्धुपाल्चोक र सिन्धुलीबाट माग हुन थालेको छ । त्यसमा पनि विशेष ध्यान दिइरहेको छु ।” प्रतिबिरुवा २५ देखि ३० सम्ममा बिक्री हुने गरेको विष्टले जानकारी दिए ।
करिब ४० लाख लगानीबाट थालिएको व्यवसायमा अहिले उनको दुई करोड लगानी पनि थपिएको छ । अमर भूमण्डलीय बहुउद्देश्यीय कृषि फर्म दर्ता गरी नयाँनयाँ काम सुरु गरिएकाले लगानीमा पनि वृद्धि हुँदै गएको हो ।
“सुरुआतका बेला कृषि तथा अन्य उत्पादनमा लाग्ने क्रममा केही घाटा व्यहोर्नुप¥यो, अहिले त्यस्तो छैन”, विष्टले भने । उत्पादनका लागि रासायनिक मलको अभावले कठिनाइ भएको उनले अनुभव सुनाए ।
विष्टको व्यवसायमा अहिले स्ट्रबेरी मात्र छैन, करिब दुई सय बोट ड्रागनफ्रुट पनि उत्पादन हुने क्रममा रहेका छन् । परीक्षणका रुपमा रोपिएका ड्रागनफ्रुटको उत्पादनलाई हेरी व्यवसायिकता दिने सोचमा उनी छन् । फार्ममा स्थानीयवासीले रोजगारी पाएका छन् । तीन जनालाई नियमित तथा दैनिक आवश्यकता अनुसार कामदार लगाउने गरेको विष्टको भनाइ छ ।
हाल मुक्तिको व्यवसायमा कुखुरापालन र बाख्रापालन पनि देख्न सकिन्छ । उनको फार्ममा पाँच सयदेखि एक हजारसम्म कडकनाथ जातका काला कुखुरा छन् । जसबाट उत्पादन भइरहेको अण्डा र मासु बिक्री भइरहेको छ ।
व्यवसायका लागि विष्टले वित्तीय संस्थाबाट ऋण लिएको बताए । “अहिलेसम्म सरकारी अनुदानमा ऋण पाएको छैन, प्रयास गर्दैछु । सरकारले पौरखी किसानलाई सहुलियत ऋण दिए व्यावसायिक कृषि उत्पादनमा लाग्नेको सङ्ख्या बढ्नसक्छ र युवा विदेशिने क्रम घट्ला कि १”, उनले भने ।
FACEBOOK COMMENTS