काठमाडौं । पछिल्लो समय डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले फोन–पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ ।
सिटिजन्स बैंकमा आयोजित एक कार्यक्रमका बीच सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेल र फोन–पेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवश कुमारबीच भर्चुअल क्रेडिट कार्ड सञ्चालनसम्बन्धी सम्झौता भएको छ । साथै बैंकका सीईओ गणेशराज पोखरेलले भर्चुअल क्रेडिट कार्ड सेवाको उद्घाटन गरेका हुन् ।
भर्चुअल क्रेडिट कार्डका लागि सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत योग्य ग्राहकहरूले सिधै आवेदन दिन सक्ने छन् । कुनै कागजी कार्य र भौतिक कार्डको आवश्यकता नपर्ने यस्तो कार्डमा ग्राहकहरूले २० हजार रूपैयाँदेखि दुई लाख ५० हजार रूपैयाँसम्मको क्रेडिट सीमा उपभोग गर्न पाउने छन् । भर्चुअल क्रेडिट कार्ड क्यूआर कोड स्क्यान गरेर किनमेल गर्न, नेपालभित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सकिने छ । यसमा ईएमआईको सुबिधा पनि रहेको बैंकले जनाएको छ ।
बैंकले ग्राहकहरूलाई ४५ दिनको समयावधिभित्र सजिलै कर्जा चुक्ता गर्ने विकल्प प्रदान गरेको छ । साथै, उनीहरूको कुल क्रेडिट कार्डको बक्यौताको १० प्रतिशतदेखि १०० प्रतिशतसम्म भुक्तानी गर्ने विकल्प पनि प्रदान गरेको छ । भर्चुअल क्रेडिट कार्ड एक पूर्ण डिजिटल रूपमा सञ्चालित क्रेडिट कार्ड हो र ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशनमार्फत नै यो कार्ड प्राप्त गर्न तथा आफ्नो कारोबार गर्न सक्ने छन् । यो कार्डले भुक्तानी कार्ड उद्योग र ग्राहकलाई पुनः परिभाषित गर्ने अपेक्षा गरिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग ईकाईहरूबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको पनि बैंकले जनाएको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ वटा शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने छ ।
FACEBOOK COMMENTS