काठमाडौं । नेकपा (एमाले) का नेता एवम् पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले नेकपा एमाले छोड्न लागेको सङ्केत गरेका छन् ।
आज काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले पार्टीबाट आफू बारम्बार तिरस्कृत भएको भन्दै अब एमाले छोड्नुको विकल्प नभएको स्पष्ट सङ्केत गरेका हुन् ।
पार्टीको १०औं महाधिवेशनमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेकै कारण आफूलाई पार्टीको हरेक गतिविधिहरूमा निषेध गरिँदै आएकोमा दुःख व्यक्त गर्दै उनले भने, ‘भर्खरै गोदावरीको अधिवेशनमा मलाई उहाँहरूले जुन प्रकारले व्यवहार गर्नुभएको छ, यसपछि मैले आफूलाई राजनीतिक जीवनको एउटा मोडमा धकेलिएको जस्तो महशुस गरेको छु । कतै उहाँहरुले मलाई त्यो घुम्तीमा धकेलेर अर्को मोडमा जाओस् भनेर यो काम त गरिरहेको आभाष भइरहेको छ ।’
पार्टीभित्रको निषेधित राजनीतिको कारण आफू नयाँ घुम्तीमा पुगेको उनले स्पष्ट गरेका छन् । आफूले लिने आगामी मोडबारे सार्वजनिक रुपमै घोषणा गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । आफूलाई एमाले अछाम जिल्ला अधिवेशन हुँदै राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा समेत निषेध गरिएको उनको गुनासो छ ।
एमालेमा सबैभन्दा लामो समयसम्म आफूले विदेश विभागमा काम गरेको स्मरण गराउँदै उनले देश र देशको सार्वभौमसत्ताका विषय उठाएकै कारण पार्टीमा निषेध गरिएको बताए । उनले आफूले अन्तरर्राष्ट्रिय सम्बन्ध र कूटनीति पढेर पार्टीलाई योगदान दिएको बेला एमालेमा उक्त विषय पढेको मान्छे नै नभएको समेत जिकिर गरे ।
उनले आफू महाधिवेशन परिषद् समितिको सदस्य भए पनि बैठकमा सहभागी हुन पाउने अधिकारबाट निषेध गरिएको बताए । ‘म त्यो महाधिवेशन प्रतिनिधि परिषद्को सदस्य हुँ । म त्यहाँ जाने मनस्थितिमै थिएँ । किनकी पार्टी भनेको त धेरै मानिसको पसिना, त्याग र तपस्याबाट बनेको हुन्छ नि । त्यो कुनै व्यक्तिको कम्पनी या निजि हुँदैन । नेतृत्व भनेको परिवर्तन हुन्छ । प्रत्येक महाधिवेशन र त्यसको मञ्चहरुमा निश्पक्ष ढङ्गले निर्वाचन गरेर प्रत्येक व्यक्तिको चुन्ने र चुनिन पाउने अधिकार हुन्छ,’ उनले भने ।
टीका लगाएर पद दिने, आदेशबाट नेतृत्वमा पठाउने र निषेधको राजनीति गर्ने हो भने एमालेले मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’लाई छाड्नुपर्ने उनको भनाइ छ । उनले जबजको १४ वटा विशेषतामध्ये महत्वपूर्ण विशेषता पार्टी चलाउने नेता कार्यकर्ताबाट अनुमोदित हुने र प्रत्येक कमिटीका अधिवेशन र महाधिवेशनहरुमा निष्पक्ष ढङ्गले प्रतिस्पर्धा गर्न पाउने रहेको उनको भनाइ छ ।
FACEBOOK COMMENTS