काठमाडौं । ब्याट्री स्वापिङ इकोसिस्टममा अग्रणी मानिएको ताइवानी कम्पनी गोगोरोले नेपालमा ब्याट्री स्वापिङ प्रविधि र स्मार्ट ईभी स्कुटर भित्र्याएको छ ।
हिजो शुक्रबार काठमाडौंको लाजिम्पाटस्थित आनन्द भवनमा एक विशेष कार्यक्रम आयोजना गरी नेपालमा गोगोरो आईएनसीको काधिकारिक र विशेष साझेदार रहेको नेबुला इनर्जी प्रालिले ब्याट्री स्वापिङ प्रविधि र स्मार्ट ईभी स्कुटर ‘गोगोरो क्रसओभर जीएक्स २५०’ सार्वजनिक गरेको हो ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र गोगोरोका कार्यकारी याङ्ग चेनले संयुक्त रूपमा उक्त नयाँ प्रविधि र स्मार्ट स्कुटरको अनावरण गरेका थिए ।
गोगोरो स्मार्ट ब्याट्रीहरूमा केही सेकेण्डमै ‘स्वाप एण्ड गो’को सुविधाजनक एक्सेस प्रदान गर्न गोगोरो ब्याट्री स्वापिङ अप्टिमाइज गरिएको कम्पनीले बताएको छ । साथै, गोगोरोको नयाँ ‘क्रसओभर स्मार्ट स्कुटर जीएक्स २५०’ नेपालमा राइडरहरूका लागि फराकिलो सीट र स्टोरेज तथा रामौृ ग्राउण्ड क्लियरेन्सका साथ अप्टिमाइज गरिएको पनि कम्पनीले जनाएको छ ।
नेबुला इनर्जीले सुरूमा रणनीतिक साझेदार व्यवसायीहरूलाई ब्याट्री स्वापिङ सेवा प्रदान गर्ने बताएको छ । हाल यस्तो स्वापिङ स्टेशन लाजिम्पाट र त्रिपुरेश्वरउपलब्ध छ भने हरेक दुई–तीन किलोमिटरमा उपलब्ध हुनेगरी काठमाडौं उपत्यका वरपर ‘गो स्टेशन’ स्थापना गर्ने योजना कम्पनीको छ ।
नेबुलाले यसै वर्ष कर्पोरेट ग्राहकका साथै रिटेल बजारमा पनि स्मार्ट स्कुटर उपलब्ध गराउने बताएको छ । हाल रणनीतिक साझेदारको रूपमा रहेका फुडमाण्डु, जुमजुम राइड, गल्ली म्याप्स लगायतलाई यो स्कुटर उपलब्ध गराउने कम्पनीको योजना छ ।
यो स्मार्ट स्कुटर खरिद गर्न चाहाने इच्छुक सर्वसाधारणले आउँदो दसैंदेखि मात्रै खरिद गर्न पाउने छन् । रिटेल बजारमा उपलब्ध हुने बेलामा मात्र यसको मूल्य सार्वजनिक गरिने पनि कम्पनीले स्पष्ट गरेको छ । नेबुला इनर्जीले नेपालमा पेट्रोल पम्पको सङ्ख्या भन्दा धेरै गोगोरो ‘गो स्टेशन’ स्थापना गर्ने योजना समेत अघि सारेको छ ।
गोगोरो क्रसओभर स्मार्ट स्कुटर सिरिज
नेबुला इनर्जीले भारतको महाराष्ट्रमा निर्मित गोगोरो क्रसओभर अल्टिमेट दुई पांग्रे एसयूभी जीएक्स २५० स्मार्ट स्कुटर नेपाली बजारमा ल्याएको हो । यो स्कुटर अल टेरेन फ्रेममा बनाइएकाले यसमा विभिन्न स्टोरेज, राइडिङ र कस्टमाइजेसन क्षमता रहेका छन् । यसले बलियो र सहजता प्रदान गर्ने विश्वास कम्पनीको छ । नयाँ फ्रेम डिजाइनले सस्पेन्सन प्रणालीको स्थायित्वलाई बढाउनाका साथै आराम र स्थिरताका साथ ठूला भारवहन गर्ने क्षमता यो स्कुटरसँग रहेको कम्पनीको दाबी छ ।
गोगोरो ब्याट्री–स्वापिङ टेक्नोलोजी के हो ?
गोगोरो ब्याट्री स्वापिङ भनेको नयाँ जमानाको ब्याट्री रिफ्युलिङ प्रविधि हो, जुन स्मार्ट अनि सुरक्षित भएको दाबी गरिएको छ । ताइवानमा गोगोरो नेटवर्कले ६ लाखभन्दा बढी राइडरलाई सेवा दिएको छ । यसका दुई हजार ५०० स्थानमा उपलब्ध १२ हजार ब्याट्री स्वापिङ स्टेशनको नेटवर्कमार्फत १४ लाखभन्दा बढी स्मार्ट ब्याट्री सर्कुलेशनमा छन् । हाल गोगोरोसँग ताइवानमा विद्युतीय दुई पांग्रे सवारी साधनको ९० प्रतिशत बढी बजारहिस्सा रहेको कम्पनीको दाबी छ ।
त्यस्तै, चार लाखभन्दा बढी दैनिक ब्याट्री स्वाप र ५७ करोडभन्दा बढी कुल ब्याट्री स्वापसँगै गोगोरो ब्याट्री स्वापिङले सन् २०१५ मा सुरू भएदेखि आठ लाख ७० हजार ७५० टनभन्दा बढी कार्बन डाइअक्साइड उत्सर्जन हुनबाट बचाएको कम्पनीको भनाइ छ ।
ब्याट्री स्वापिङ एक इन्नोभेटिभ (नयाँ) तरिका हो, जसमा फुल चार्ज भएको ब्याट्रीलाई शीघ्र साट्न सकिन्छ । यसले प्रयोगकर्तालाई आफ्नो सवारी साधनको दायरा विस्तार गर्न छिटो र प्रभावकारी तरिका प्रदान गर्ने कम्पनीको तर्क छ । ब्याट्री स्वापिङ प्रविधिले व्यापक रूपमा ईभी अपनाउनका लागि हाल विद्यमान चुनौतीहरूलाई समाधान दिने विश्वास समेत गरिएको छ ।
FACEBOOK COMMENTS