काभ्रेपलाञ्चोक । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ ।
उक्त गाउँका १५ परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत विभिन्न सङ्घसंस्थाबाट उपलब्ध राहत सामग्री वितरण गरिएको हो ।
समितिले बुधबार गाउँपालिका कार्यालय, नेपाल रेडक्रस सोसाइटी र उद्योग वाणिज्य सङ्घद्वारा उपलब्ध राहत सामग्री वितरण गरेको हो । गाउँ नजिकको सामुदायिक वनमा लागेको डढेलो हुरीबतासका कारण बस्तीमा फैलिएपछि सानोपोटा गाउँका १५ घर जलेका थिए ।
गाउँपालिकाले प्रतिपरिवार दुई बोरा चामल, त्रिपाल, नुन, तेल र दाल, रेडक्रसले भाडाकुँडा, कम्बललगाय सामग्री तथा सङ्घले पीडितलाई प्रतिपरिवार एक बोरा चालम, दाल एक किलो, खानेतेल एक लिटर, नुन एक किलो प्रदान गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामासहित तरुण दलका केन्द्रीय सदस्यको टोलीले बुधबार नै पीडित प्रतिपरिवारलाई दुई बोरा चामल, नुन, तेल दाल तथा बागमती प्रदेशसभा सदस्य तीर्थ लामाले खाद्यान्न सहयोग गरे ।
विपद् व्यवस्थापन समितिले पीडितलाई प्रतिपरिवार पाँच हजारका दरले नगद पनि उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सरकारबाट पाउने राहतमध्ये हाललाई पाँच हजार दिइएको र बाँकी दश हजार केही दिनमै उपलब्ध गराइने बताए ।
साथै, क्षतिग्रस्त घर पुनःनिर्माण गर्न स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारको समन्वयमा प्रक्रिया अघि बढाउन पहल गरिने शर्माले बताए । आगलागीबाट दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
FACEBOOK COMMENTS