काठमाडौं । आज वैशाख २० गते दुई कम्पनीले वार्षिक साधारण सभा बोलाएका छन् । आज प्रभु इन्स्योरेन्स र रिभर फल्स पावर कम्पनीको सभा रहेको छ ।
प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने छ ।
सभामा चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउन हकप्रद सेयर निष्काशन गर्ने वा अन्य विकल्प भए सोही बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ । साधारण सभा प्रयोजनका लागि वैशाख ७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
रिभर फल्स पावर कम्पनीको २ आर्थिक वर्षको वार्षिक साधारण सभा बोलाएको छ । सभामा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७८–०७९ र २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
साधारण सभाले सर्वसाधारण लगानीकर्ताकोतर्फबाट २ जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्नेछ । यता, सभा प्रयोजनका लागि कम्पनीले वैशाख १० गते बुक क्लोज गरिसकेको छ । वैशाख ९ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् । लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
FACEBOOK COMMENTS