काठमाडौं । सेलवेज ग्रुप अन्तर्गत चेन डिपार्टमेण्टल स्टोर सेल्सबेरीले आफ्नै अत्याधुनिक भवनबाट अन्तर्राष्ट्रियस्तरको सेवा सुरू गरेको छ ।
काठमाडौंको महाराजगञ्जमा निर्माण गरिएको अत्याधुनिक भवनबाट आजदेखि विशिष्टीकृत सेवा सुरू गरिएको अन्तर्राष्ट्रिय सेलवेज ग्रुप अन्तर्गत रहेको सेलवेज क्यास एण्ड क्यारी प्रालिले जानकारी दिएको छ । सेलवेज क्यास एण्ड क्यारीअन्तर्गत ‘सेल्सबेरी डिपार्टमेन्टल स्टोर’ सञ्चालन हुँदैन आएको छ ।
नयाँ अत्याधुनिक भवनमार्फत ग्राहक वर्गहरूका लागि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गरी एक बेग्लै खालको किनमेलको आनन्द दिने विश्वासका साथ सेवा सुरू गरिएको बताइएको छ ।
उक्त अत्याधुनिक भवनमा बाल मनोरञ्जनका सुविधा, स्पा, ज्याकुजी, स्वीमिङ पुल तथा विविध स्वदेशी, विदेशी खानाहरूको सेवा, सुविधासहितको विश्वस्तरीय रेष्टुराँसहित स्वदेशी एवम् अन्तर्राष्ट्रिय गुणस्तरका सामानहरू उचित मूल्यमा उपलब्ध गरी ग्राहकवर्गहरूको विश्वास जित्ने लक्ष्य कम्पनीको छ ।
अत्याधुनिक भवनमा चार तल्ला र बेसमेन्ट पार्किङ हरेको छ । भुइँ तल्लादेखि छैठौं तल्लासम्म डिपार्टमेन्टल स्टोर सञ्चालन हुनेछ । सात र आठ तल्लामा विभिन्न कर्पोरेट अफिसहरू रहनेछ । नवौँ, दशौँ तथा एघारौँ तल्लामा जिम, फिटनेस सेन्टर स्पा तथा स्वदेशी एवम् विदेशी खानाहरूको सेवा, सुविधासहितको रेष्टुराँ एवम् बार सञ्चालन हुने बताइएको छ ।

यस्तै, १२औँ तल्लामा स्वीमिङ पुल, ज्याकुजी, बियर गार्डेन, कफि लाउञ्ज तथा इभेन्ट सेन्टर सञ्चालन हुने छ । उक्त भवनको तेह्रौं तल्लामा भ्यू टावर रहेको र त्यहाँबाट काठमाडौं उपत्यका ३६० डिग्रीमा दृश्यावलोकन गर्न सकिनेछ । उक्त अत्याधुनिक भवनमा सेल्सबेरी ब्राण्डमार्फत चेन डिपार्टमेण्टल स्टोरको रूपमा सञ्चालनमा आउँदा स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि समेत उत्कृष्ट शपिङ डेस्टिनेशन हुने विश्वास कम्पनीले लिएको छ ।

यसैगरी, कम्पनीले आफ्नो अर्को शाखा आजै कालिमाटीमा पनि सञ्चालनमा ल्याएको छ । कालिमाटी ट्रेड सेन्टरमा सञ्चालनमा आएको स्टोरमा पनि सम्पूर्ण सेवा उपलब्ध रहेको बताइएको छ ।

महाराजगञ्ज र कालिमाटी ट्रेड सेन्टरको भव्य सुरूवातको सुखद उपलक्ष्यमा कम्पनीले ग्राहकका लागि लक्की–ड्र स्किममार्फत बम्पर पुरस्कारको रूपमा ‘एमजी कोमेट ईभी पेस’ तथा प्रथम पुरस्कारबापत सेगवे लाइनबट ई१०० स्कुटर तथा अन्य आकर्षक पुरस्कारहरूको पनि व्यवस्था गरेको छ ।
साथै कम्पनीले यसै आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौं तथा पोखरामा थप ६ वटा शाखाहरू सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिएको छ भने हरेक वर्ष सानो, मध्यम तथा ठूलो स्तरको १०(१५ वटासम्म शाखा विस्तार गर्ने लक्ष्य कम्पनीको छ ।
सेल्सबेरी ब्राण्डमा हाल ३२ वटा शाखामार्फत आफ्नो व्यापार, व्यवसाय सञ्चालन गर्दै आइरहेको छ । सन २०२६ सम्म १०० वटा शाखा विस्तार गरी दुई हजार जनशक्तिलाई प्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्य कम्पनीले लिएको छ ।