मोबाइलको व्यापारमा नेपालको ठूलो बजार हिस्सा ओगटेको रमेश कोर्प पछिल्लो समय उत्पादनमुलक उद्योगतर्फ पनि केन्द्रित हुन थालेको छ । उत्पादनतर्फ लिटमस तार र केबलहरूको फ्याक्ट्री सञ्चालन गर्दै आएको रमेश कोर्पले पछिल्लो समय २५० करोड रूपैयाँ लगानीमा विश्वकै छैठौँ तथा भारतको नम्बर वान टायल ब्राण्ड कजरियालाई नेपाल भित्र्याएको छ । नेपाली उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय टायल उपलब्ध गराउने मुख्य उद्देश्यसहित नेपाल भित्रिएको कजरिया टायल आगामी साउनदेखि उत्पादन सुरू गरिने रमेश कोर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवाल बताउँछन् ।
मुलुकको समस्याग्रस्त आर्थिक स्थिति र राजनीतिक उतारचढावका बीच पनि यति ठूलो लगानी गरी रोजगारी सृजनामा समेत महत्वपूर्ण योगदान पुर्याउन सफल रमेश कोर्पका कार्यकारी निर्देशक अग्रवालसँग कर्पोरेट खबरले कजरिया टायल र यसको उत्पादनसँग केन्द्रित रहेर कुराकानी गरेको छ । प्रस्तुत छ, मोबाइल फोन इम्पोटर्स एसोसिएशन (एमपीआईए) का उपाअध्यक्ष समेत रहेका सञ्जय अग्रवालसँग कर्पोरेट खबरका ज्योति जीसीले गरेको कुराकानीको सम्पादित अंश–
रमेश कोर्पभित्र कुन–कुन व्यापारिक संस्थाहरू छन् र तिनीहरूले के–के काम गर्छन् ?
रमेश कोर्पभित्र ७–८ वटा कम्पनी छन् । आधारभूत रूपमा त्यसमा हाम्रो ठूलो ट्रेडिङ व्यवसाय भनेको मोबाइल व्यवसाय नै हो । हाम्रो अरु इलेक्ट्रोनिक्स व्यवसायहरू पनि छन् । पछिल्लो समय हामी म्यानुफ्याक्चररिङ उद्योगहरूमा पनि छौँ । लिटमस तार र केबलहरूको फ्याक्ट्री पनि छ । भर्खरै हाम्रो यो ठूलो छातामुनि जोडिएर ठूलो प्लान्ट कजरिया टायल्स सञ्चालनको तयारीमा छ ।
मुलुकको आर्थिक अवस्था खराब छ, राजनीतिक स्थिरताबिना लगानीको उचित वातावरण छैन भनिरहेका बेला तपाइँहरू त धमाधम उद्योग खोल्नतर्फ अग्रसर हुनुहुन्छ नि । कहाँबाट बल पुगिरहेको छ ?
धेरै युवा जनशक्ति विदेश पलायन भइरहेको र नेपालमा लगानीको वातावरण नै छैन भनेर गलत प्रचार भइरहेको परिप्रेक्ष्यमा त्यसलाई केही हदसम्म रोक्ने र नयाँ सन्देश दिने उद्देश्यअनुरूप हामीले भारतको नम्बर वान टायल उद्योगको फ्रेन्चाइज नेपालमा ल्याएका हौँ । यसले नेपालमा पनि लगानी गर्ने वातावरण छ भन्ने सन्देश दिएको छ ।
हामी सकारात्मक बन्न जरुरी छ । हरेक विषयमा अरुको आलोचना गरेर मात्रै हुँदैन । आफूले पनि केही गर्ने प्रयास गर्नुपर्दछ । हामी यही देशमा बस्नुछ, काम गर्नुछ भनेपछि यही देशको आलोचना किन गर्नु ? चाहिने ठाउँमा आलोचना र प्रश्न उठाउनु पनि पर्छ । तर, हरेक कुरामा आलोचना गरेर मात्र हुँदैन । काम पनि गर्नुपर्ने बेला आइसक्यो । नेपालाई हामी फेरि लगानीको राम्रो सम्भावना भएको र वातावरण बनेको देशको रूपमा स्थापित गर्दै अघि बढ्नुपर्छ ।
नेपालमै लगानी गर्दा अहिलेको आर्थिक समस्या समाधानमा टेवा पुग्नाका साथै रोजगारी सृजना पनि हुन्छ । हामीले दुई चार हजारलाई रोजजगारी दिँदैमा यहाँको बेरोजगारी समस्या समाधान हुन्छ भनेर हामी भन्दैनौँ, तर हाम्रो लगानी देखेर विदेशका यस्तै दुई–चार सय वटा लगानी नेपाल आउन सक्यो भने लगानी र रोजगारी सृजनामा ठूलो सफलता प्राप्त हुन हुन सक्दछ । त्यस विषयलाई पनि हामीले दृष्टिगत गरी उद्योग स्थापनामा अग्रसर भएका हौँ । हामीमा काम गर्नुपर्छ भन्ने भावनाले नै उद्योग खोल्न बल पुगिरहेको हो ।
हामीले आफूलाई पनि कर्पोरेट सोसियल रेस्पोन्सबिलिटीभित्र राख्नुपर्दछ । यही देशमा बसेर काम गरिसकेपछि यही देशमा रोजगारी सृजना गर्नुपर्छ भन्ने कुराबाट प्रेरित भएर पनि रमेश कोर्पले म्यानुफ्याक्चरिङको नयाँ–नयाँ क्षेत्रमा लगानी बढाइरहेको हो ।
कजरिया टायल उद्योगमा लगानीको आकार कत्रो छ र कति रोजगारी सृजना हुँदैछ ?
कजरिया टायल उद्योगमा हामीले २८० करोड रूपैयाँ खर्च गर्ने योजना बनाएका छौँ र भविष्यमा थप लगानी पनि गर्न सकिनेछ । यसका साइड भेञ्चरहरू अरु पनि छन्, तर अहिले कजरिया टायललाई नै स्टेबल गर्ने र पछि अरु प्रडक्ट र पोर्टपोलियोहरू पनि यो भेञ्चरमा जोड्दै जाने योजनामा छौँ । रोजगारीको कुरा गर्दा रमेश कोर्पकै लिटमसमा हामीले करिब ३०० जनालाई रोजगारी दिएका छौँ भने यो कजरिया टायलमा कम्तीमा पनि ५०० जनालाई लङटर्म रोजगारी दिन हामी सक्षम हुनेछौँ । त्यसमा सर्ट ट्रम पनि हुने छन् । देशमा राजनीतिक स्थिरता र लगानीको थप वातावरण बन्दै जाने हो भने हामी अझै ठूलो ठूलो परिमाणमा लगानी वृद्धि गरी रोजगारी सृजना गर्न सक्छौँ । तर, त्यो लगानीको सुरक्षा राज्यले गरिदिने सुनिश्चिता हुनुप¥यो ।
अहिले पनि हामी उद्योगी व्यवसायी र बैंकहरूलाई लगानी गर्न कुनै समस्या छैन, तर राज्यले लगानीको वातावरण बनाउन नसक्नु नै हाम्रा लागि ठूलो समस्या बनिरहेको छ । यदि सरकारले त्यस्तो अवस्था सृजना ग¥यो भने आयातमा आधारित हाम्रो देशलाई उत्पादनतर्फ लैजान सकिन्छ । म यो प्लेटफर्ममार्फत हाम्रा उद्योगी व्यवसायी साथीहरूलाई पनि म्यानुफ्याक्चरिङतर्फ केन्द्रित हुन आग्रह गर्दछु ।
कजरिया टालयको उद्योग कहाँ स्थापना गरिएको छ र यसको गुणस्तरमा नेपाली उपभोक्ताले कसरी विश्वास गर्ने ?
नवलपरासीको वर्दघाट क्षेत्रमा हाम्रो फ्याक्ट्री अवस्थित छ । ब्राण्ड र विश्वासको कुरा गर्दा कजरिया आफैंमा एउटा ठूलो ब्राण्ड हो । ब्राण्डसँग एसोसिएट्स भइसकेपछि गुणस्तरमा सम्झौता गर्ने कुरा आउँदैन । किनभने अहिले नेपालमा अरु ३–४ वटा टायल कम्पनीहरू पनि सञ्चालनमा छन् । ती कम्पनीका उत्पादनको गुणस्तर कस्तो छ उपभोक्ताले जान्ने र भन्ने कुरा हो । तर, हाम्रो कजरियाको बारेमा भन्नुपर्दा, छिमेकी मुलुक भारतको नम्बर वान ब्राण्ड हो । यो विश्वको छैठौँ ठूलो ब्राण्डको रूपमा कहलिएको छ । भारतमा नम्बर वान बन्नु भनेको चानेचुने कुरा होइन । राम्रो गुणस्तर र सुपथ मूल्य भएर नै नम्बर वान बनेको हो । त्यो सबै विशेषता नेपाली उपभोक्ताले पनि पाउनुहुनेछ । किनभने गुणस्तरलगायतको क्वालिटी कन्ट्रोल नेपालमा बसेर कजरिया आफैंले गर्ने भएर पनि उपभोक्ताले अविश्वास गर्नुपर्ने कारण छैन ।
अर्को कुरा गुणस्तर र ‘रिजनेबल प्राइस’मा कम्प्रोमाइज गर्ने कुरा रमेश कोर्पको डीएनएमा पनि छैन । प्रतिष्ठित ब्राण्डका रूपमा स्थापित बनेको कजरियालाई नेपालमा पनि नम्बर वान बनाउनुपर्ने जिम्मेवारीका साथ अघि बढेको भएर पनि गुणस्तरमा सम्झौता गर्ने कुरा आउँदैन । सस्तो र कमसल उत्पादन बजारमा जति पनि छन् हामी राम्रो टायल लिएर आएका छौँ ।
उत्पादन कहिलेदेखि सुरू गर्नुहुन्छ ?
हामी आगामी साउनदेखि उत्पादनको तयारीमा छौँ ।
यो उद्योगको क्षमता कति छ ? नेपाली मागलाई धान्न सक्षम छ ?
नेपालमा वार्षिक रूपमा १८०० देखि २००० करोड रूपैयाँसम्मको टायल आयात भएको देखिन्छ । हाम्रो उत्पादन सुरू भएपछि पहिलो वर्ष नै यो टायलले ३० देखि ४० प्रतिशत बजार हिस्सा ओगट्ने लक्ष्य छ ।
FACEBOOK COMMENTS