काठमाडौं,चैत १० -राजधानीका अधिकांश ठूला व्यापारिक प्रतिष्ठान बन्द भएका छन् । सपिङ मलको नाममा सञ्चालनमा रहेका व्यापारिक प्रतिष्ठान आइतबारदेखि बन्द भएका हुन् । सरकारले अत्यावश्यक वस्तुबाहेक अन्य क्षेत्र बन्द गर्ने घोषणासँगै यस्ता व्यापारिक प्रतिष्ठान बन्द भएका हुन् ।
राजधानीको न्युरोडस्थित विशाल बजार, पिपुल्स प्लाजा, काठमाडौं मल, रञ्जना ट्रेड सेन्टर, सिभिल मललगायतका व्यापारिक प्रतिष्ठान बन्द भएका छन् । सिभिल मल व्यवसायी संघका अध्यक्ष रत्न घिमिरेकाअनुसार अधिकांश यस्ता व्यापारिक प्रतिष्ठानको कामदारसमेत त्रासका कारण बिदामा घर गइसकेका र यस्ता व्यापारिक प्रतिष्ठानबाट अत्यावश्यक बस्तु बिक्री नहुने भएपछि बन्द गरिएको हो।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालकाअनुसार महाबौद्ध, कोटेश्वर, भृकुटीमण्डप, रत्नपार्क, न्युरोड, असनलगायतका स्थानमा रहेका होलसेल पसलसमेत बन्द भएको छ । केही पसल सोमबारदेखि पूर्णरुपमा अवस्था समान्य नहुँदासम्म बन्द हुने बताइएको छ ।
‘अत्यावश्यक वस्तुभन्दा लुगाफाटो, जुक्ता, ब्यागलगायतका वस्तु बिक्री हुने र अहिलेको समयमा यस्ता वस्तु खरिद गर्ने उपभोक्ता समेत नआउने भएकाले बन्द गर्ने निर्णय गरेका हौं,’ घिमिरेले भने ।
बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकृत दिपक पोखरेलकाअनुसार अत्यावश्यक पसल बन्द नगर्ने सरकारको नीति छ । अत्यावश्यकबाहेक अन्य बन्द हुँदा कुनै समस्या नहुने उनले बताए। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
FACEBOOK COMMENTS