काठमाडौं । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक हिजो सोमबारदेखि ३०औँ वर्षमा प्रवेश गरेको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय साक्षरता र्याली तथा आफ्ना आठ वटा शाखामार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
साथै, स्वास्थ्य तथा आँखा शिविर, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग–२०२४, श्रृङ्खला ३ लगायत विभिन्न कार्यक्रमहरू गरी ३०औँ बैंकले आफ्नो वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले आफ्ना शेयरधनी, ग्राहकवर्ग, नियामक निकाय एवम् शुभचिन्तकहरूप्रति कृतज्ञता व्यक्त गरेको छ ।
बैंकले वार्षिकोत्सवको अवसरमा आइतबार आठवटा शाखा कार्यालयमार्फत रक्तदान कार्यक्रम सम्पन्न गरी कुल २९५ पिन्ट रगत सङ्कलन गरेको छ । स्वास्थ्य क्षेत्रमा चुनौतीको रूपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
त्यस्तै, केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरू तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा गत शनिबार वित्तीय साक्षरतासहितको प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको पनि बैंकले जनाएको छ । उक्त प्रभातफेरि कार्यक्रममा बैंकिङ्ग सेवाहरूः जस्तै मोबाइल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरूको प्रयोग गरिएको थियो ।
बैंकले सोमबार केन्द्रीय, प्रादेशिक तथा शाखा कार्यालयहरूमार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरूलाई स्थानीय भेषभूषामा बंैकमा उपस्थित गराएर साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
त्यसैगरी, बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा आज मंगलबार स्वास्थ्य शिविर आयोजना गरेको छ भने भोलि बुधबार आँखा शिविर सञ्चालन गर्ने छ । विगत दुई वर्षदेखि सुरुवात गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको तेस्रो श्रृङ्खला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग–२०२४, श्रृङ्खला–३) १६ टिमको सहभागितामा बैैंकले यही जेठ २२, २३ र २४ गते सञ्चालन गर्ने जानकारी दिएको छ ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै विगत ३० वर्षदेखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरू रहेका छन् भने हाल सात लाख भन्दा बढी ग्राहक बैंकसँग जोडिएका छन् ।
FACEBOOK COMMENTS