काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुद्ध धर्मको विश्व भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट भइ मुलुकको समृद्धि र विकासमा दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
गौतमबुद्ध जयन्तीको अवसरमा देश र विदेशमा रहेका सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै सो कुरामा जोड दिए । उनले आजकै दिन स्वाँया पुन्हिः, उँभौली पर्व, चण्डीपूर्णिमा र गोरखनाथ जयन्ती मनाउने सम्पूर्ण नेपालीहरुलाई पनि हार्दिक शुभकामनासमेत दिए ।
भगवान् गौतमबुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण–जस्तो वीरलैको त्रिसंयोग एकै दिन अर्थात् वैशाख पूर्णिमामा भएकाले यो दिवसको अत्यन्तै ठूलो महत्व रहेको उनको भनाइ छ ।
“गौतमबुद्धले ३६ वर्ष उमेरमा दिनुभएको पञ्चशीलका उपदेशहरु ः चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु–अजम्बरी मात्रै छैनन्, आज पनि उत्तिकै समय सान्दर्भिक छन् । यी उपदेशहरुलाई हामी सबैले अनुशरण, अनुकरण र आत्मसात गर्दै आ–आफ्नो जीवन पथमा अग्रसर हुन अति आवश्यक छ”, उनीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
बौद्ध धर्मको मध्यममार्गले विश्वमा शान्ति र भाइचारा बढाउने मान्यता राख्नेहरुमा अन्य धर्मका मानिस पनि उत्तिकै भएको उहाँको भनाइ छ । “सिङ्गो मानव जातिका लागि गौतमबुद्धका वाणी, त्याग, तपस्या र सङ्घर्ष सर्व–धर्म र सर्व–सम्प्रदायमा मूलसूत्रका रुपमा व्याप्त छन् । सत्ता र वैभव समस्या समाधानका लागि पूर्ण हुने धेरैको भ्रमलाई चिर्न भगवान बुद्ध सफल हुनुभएको एउटा सत्य र यथार्थ पनि हो”, सन्देशमा भनिएको छ ।
बुद्ध जयन्तीका अवसरमा बुद्धसँग सम्बन्धित पवित्रस्थलमा दीप प्रज्जवलित गर्ने, रङ्गीन पताकाहरुले झकिझकाउ बनाउने र बुद्धको शिक्षामा आधारित जीवन जिउने सङ्कल्प लिने परम्परा रहिआएको छ । यसले मौलिक सांस्कृतिक पक्ष र जीवन सूत्रको महत्वलाई दर्शाउँदछ ।
गौतम बुद्धको जन्म सिद्धार्थ गौतमका रुपमा झण्डै ५६३ इसा पूर्व नेपालको लुम्बिनीमा हुनुले नेपालको संस्कृतिमा बौद्ध धर्मको अतूलनीय योगदान हाम्रा लागि मौलिक तथा ऐतिहासिक पक्ष भएको उनले बताए ।
FACEBOOK COMMENTS