काठमाडौं । नेपालमा सञ्चालनमा रहेको निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरूको छाता संगठन नेपाल निर्जीवन बीमा व्यबसायी संघले आज आइतबार नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नबराज अधिकारीसँग भेट गरी संघको तर्फबाट सुझावहरू प्रस्तुत गरेको छ ।
संघका पदाधिकारीहरूबाट हाल सञ्चालकहरूको शेयर पदमा रहँदा र पदबाट हटेको एक वर्षसम्म पनि बिक्री गर्न नपाइने व्यबस्थाले गर्दा कैंयौं वर्षदेखि लगानीकर्ता सञ्चालकहरूले आफुलाई व्यक्तिगत रूपमा अप्ठ्यारो परेको बखतमा शेयर बिक्री नपाउँदा समस्या परेको, सबै लगानीकर्ताहरू जस्तै सञ्चालकहरू समेत कम्पनीको लगानीकर्ता नै रहेको र लगानीकर्ताहरूको तर्फबाट निर्वाचित भई सञ्चालक समितिमा प्रतिनिधित्व गरेको भरमा आफूसँग रहेको शेयर सधैं रोक्का नै गरिराख्नु न्यायोचित नहुने हुँदा सो प्रावधानलाई पुनरवलोकन गर्न अनुरोध गरेको थियो ।
भारत लगायत अन्य मुलुकमा पनि अग्रिम रूपमा सञ्चालकले घोषणा गरेर शेयर बिक्री गर्ने व्यबस्था रहेको र नेपालमा पनि त्यस्तै व्यवस्था गरी वा नियमानकारी निकायको स्वीकृति लिई निश्चित सीमासम्म आफ्नो शेयर बिक्री गर्न सकिने व्यबस्था गर्न बोर्डको ध्यानाकर्षण गराइएको थियो ।
उक्त भेटघाटमा संघका तर्फबाट अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष मनोहर दास मुल, कोषाध्यक्ष रमेश कुमार निरौला, सदस्य आजाद श्रेष्ठ एवम् बालकृष्ण श्रेष्ठ समेतको उपस्थिति थियो ।
FACEBOOK COMMENTS